कोरोना कहर : विद्यालयका बारेमा निर्णय स्थानीय तहले गर्ने

तर्कबहादुर थापा
२७ चैत २०७७ ७:३५

काठमाडौं। बुधबार काठमाडौं विश्वविद्यालयमा विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भयो। विद्यार्थीमा कोरोना भेटिएपछि विश्वविद्यालयले अनलाइन पठनपाठन सुरु गर्ने निर्णय गर्यो। केही निजी विद्यालयहरुमा पनि विद्यार्थीमा कोरोना संक्रमण भएको समाचार बाहिरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालयमा कोरोना संक्रमण फैलिएको संकेत गरेका छन्। मंगलबारको मिडिया ब्रिफिङमा डा. गौतमले स्कूले अवस्थाका किशोर किशोरीमा पनि कोरोनाको संक्रमण भेटिएको बताएका थिए। विद्यालयमा कोरोना फैलिन थालेपछि सर्वत्र त्रासको वातावरण बनेको छ।

एकातर्फ विद्यालयमा कोरोना फैलिनुले समुदायमा सहजै कोरोना संक्रमण पुग्यो भन्ने हो भने अर्को तर्फ लकडाउन र विद्यालय बन्दका आवाजहरुले पनि जनमानसमा त्रास फैलिएको हो। गत वर्ष कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि शैक्षिक सत्र दुई महिना पर सरेको छ।

चैत्रमा समाप्त हुने शैक्षिकसत्र आगामी जेठसम्म बनेको हो। पछिल्लो लहरको कोरोनाका कारण सबै विद्यालय बन्द नहुने बताउँछन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा।

कति समयको लागि गर्ने भन्ने कुरा स्थानीय तहले निर्धारण गर्ने हो। कुनै एउटा विद्यालय वा क्षेत्रमा कोरोना देखिएको खण्डमा त्यो विद्यालयलाई बन्द गर्ने, नगर्ने, कति समय गर्ने लगायतका विषयहरुमा स्थानीय निकायले निर्ण गर्ने छ। अहिले त्यो अधिकार स्थानीय सरकारलाई नै छ।

डिसी नेपालसँग कुरा गर्दै शर्माले भने, ‘मन्त्रालयबाट नै विद्यालय बन्द गर्ने भन्ने कुरा आएको छैन। पहिलो त सीसीएमसीको कुरा हो। तर, विद्यालय संचालन कार्यविधि २०७७ अनुसार संचालन भएका विद्यालयहरुमा कोरोना संक्रमण फैलिने दर कम हुन्छ। हामीले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय संचालन गर्न भनेका छौं।’

‘विद्यालयले कोरोना फैलाए भन्ने समाचार लेखेका छन्,’ प्रवक्ता शर्माले भने, ‘विद्यालयले कोरोना फैलाउने हैन। कोरोना हाम्रो समुदायमा फैलिएको छ। हामीले स्वास्थ्यका मापदण्ड अपनाएनौं भने त्यो विद्यालयसम्म पनि पुग्छ र अझै धेरै फैलिन्छ।’ विद्यालय संचालन निर्देशिका २०७७ अनुसार विद्यालय संचालन भए भने कोरोनाले असर नगर्ने शर्माको भनाइ छ।

‘केन्द्रबाट यो विद्यालय बन्द गर, यो खोल भन्ने कुरा हुँदैन,’ प्रवक्ता शर्माले भने, ‘विद्यालय संचालन कार्यविधि २०७७ अनुसार स्थानीय सरकारले भने अनुसार, विद्यालयहरु सिफ्टमा चलाउने वा बन्द गर्ने वा अनलाइन चलाउने भन्ने निर्णय गर्ने जिम्मेवारी स्थानीय सरकारलाई नै छ। टुल्सहरु छन्। ती टुल्सहरुका आधारमा स्थानीय तहबाट ने एसएस गर्नु पर्छ।’

कोभिड संकट व्यवस्थापन कमिटी (सीसीएमसी)ले यस अघि नै जिल्ला कोभिड संकट व्यवस्थापन कमिटी (डिसीसीएमसी)लाई जिम्मेवारी दिएको छ। काठमाडौं उपत्यका जिल्ला कोभिड संकट व्यवस्थापन कमिटीले पनि विद्यालय बन्द गर्ने सोच नबनाएको बताउँछन्, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली। डिसी नेपालसँग कुरा गर्दै पराजुलीले भने, ‘सबै विद्यालय बन्द गरिहाल्ने कुरा भएको छैन।

विषेश गरी प्रभावित क्षेत्रलाई पहिचान गरी त्यस क्षेत्रका विद्यालयमात्र बन्द गर्ने गरी काम भइरहेको छ।’ स्थानीय तहले प्रभावित क्षेत्रको पहिचान गरी बन्द गर्नु पर्ने, नपर्ने बारेमा निर्णय गर्ने पराजुलीको भनाइ छ।

पराजुलीले भने, ‘कति समयको लागि गर्ने भन्ने कुरा स्थानीय तहले निर्धारण गर्ने हो। कुनै एउटा विद्यालय वा क्षेत्रमा कोरोना देखिएको खण्डमा त्यो विद्यालयलाई बन्द गर्ने, नगर्ने, कति समय गर्ने लगायतका विषयहरुमा स्थानीय निकायले निर्ण गर्ने छ। अहिले त्यो अधिकार स्थानीय सरकारलाई नै छ।’

पछिल्लो २४ घण्टामा तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या दुई लाख ७९ हजार १ सय पुगेको छ। भारतमा दोश्रो लहरको कोरोना संक्रमण अत्याधिक बढ्न थालेपछि खुल्ला सीमा भएका कारण नेपालमा पनि त्यसको प्रभाव स्वभाविकै परेको छ। दैनि कोरोना संक्रमति हुनेसंख्याको ग्राफ पछिल्ला दिनहरुमा उकालो लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *