विदेशीको दलाली गर्नेलाई देशको बागडोर किन दिने?

जगदीश दाहाल
३० चैत २०७७ ११:३७

नेपाल विश्वमा गरिब मुलुकमा गनिन्छ र हाम्रो देश अहिलेसम्म धेरै कुरामा आत्मनिर्भर हुन सकेको छैन। र, यसको सबैभन्दा प्रमुख कारण हो–नेपाल अझैसम्म राजनैतिक रुपमै आत्मनिर्भर हुन सकेको छैन।

देशलाई दिशानिर्देश गर्ने राजनीतिले हो तर राजनीति आफैंमा आत्मनिर्भर हुन नसकेको अवस्थामा देशले अरु कुरामा फड्को मार्ला भन्ने आशा गर्न सकिने ठाउँ पनि रहन्न। नेपाली जनताको नियति नै भन्नुपर्छ अहिलेसम्म कसैको उपनिवेश नभएर स्वतन्त्र रहेको राष्ट्र नेपालको राजनीति अझै पनि आत्मनिर्भर हुन सकेको छैन।

नेपाल भन्नको लागि मात्रै स्वतन्त्र देश हो। यहाँको राजनीति अझै पनि अर्धऔपनिवेशिक छ अर्थात राजनीतिज्ञ नेपाली छन् तर तिनीहरुको संचालन अन्तैबाट हुन्छ। देशमा बहुदलीय प्रजातन्त्रको अभ्यास हुन थाले यता पटक–पटक राजनीतिक दल र तीनका नेताका गतिविधि र अभिव्यक्तिले कहिले काहीँ हामी राजनीतिमा चासो राख्ने नागरिकलाई कौतुहलपूर्ण संशय व्याप्त हुन्छ।

विगत ३ दशकमा यस्ता घटनाक्रमहरु धेरै पटक भए। पछिल्लो निर्वाचनयता बहुमतको सरकार भएकोले केही स्थिरताको अपेक्षा गरिएको थियो तर अहिले पनि यस्तै स्थिति आएको छ। हालैमात्र तत्कालीन नेकपाका अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हामी ओलीलाई सत्ताबाट हटाउँछौं, भारतका लागि कम्फर्टेवल सरकार बनाउँछौं भन्ने अभिव्यक्ति दिए।

हाम्रो मुलुकलाई राजनीतिक दलका नेताहरुले यसरी अर्को मुलुकको नेता वा सरकार रिझाउने किसिमले प्रयोग गर्नु कदापि सह्य हुन सक्दैन। नेपालभित्र राजनीति गर्ने कसैले चाइनिज कार्ड खेल्ने, कसैले इण्डियन कार्ड खेल्ने, कसैले अमेरिकी, युरोपियन कार्ड खेल्ने गरेका छन्। राजनीतिक दल र नेताहरुको यस्तो गतिविधि हुनु र गर्नुले यो मुलुक र यो मुलुकका जनताको आउँदो भविष्य कस्तो होला?

प्रचण्डको यो अभिव्यक्ति म जस्ता सामान्य राजनीतिमा चासो राख्ने नागरिकका लागि धेरै दुखदायी कुरा हो। राष्ट्रियताका दृष्टिले, राष्ट्रिय राजनीतिका दृष्टिले यो लज्जास्पद विषय हो। नेपाली भएर गौरवपूर्ण इतिहासका साथ बाँचेका र बाँच्दै आएका आम नेपालीले आफ्ना जिम्मेवार नेताबाट यस्तो अभिव्यक्तिको अपेक्षा गरेका थिएनन्।

देशको प्रधानमन्त्री भइसकेका शीर्ष नेताले विदेशी मुलुकको अनुकूल, उसका लागि कम्फर्टेबल सरकार बनाउँछु भन्नु यो भन्दा दुर्भाग्य के हुन सक्छ? कुनै पनि देशले सरकार आफ्नो नागरिकको अनुकूल बनाउने हो र यो सरकार विदेशीका लागि प्रतिकूल हुनु कुनै ठूलो कुरा होइन। विदेशीले त अर्काको देशभित्र आफूले चलखेल गर्न पाइयोस् भन्ने चाहन्छ नै।

तर, आफ्नो देशको सरकार कस्तो बनाउने भन्ने कुरा जनताको चाहनामा निर्भर हुनुपर्छ। अहिले नेपाली जनता, नेपाली समाज र आम नेपाली सबैका लागि कम्फर्टेवल सरकार चाहिएको हो। विदेशीका लागि कम्फर्टेबल सरकार चाहिएको होइन। विदेशीलाई कम्फर्टेबल नभएमा विदेशी आफैंले आफ्नो सरकारलाई हामीअनुकूल बनाउन पनि त सक्छ।

आफ्नो राष्ट्रिय स्वार्थ पूरा हुने हदसम्म मात्रै विदेशीसँग लचकता अपनाउने हो। आफ्नो राष्ट्रिय स्वार्थभन्दा बाहिर गएर विदेशीका अगाडि लचिलो बन्न सकिँदैन। विदेशीकै चाहनाअनुसार लचिलो बन्दै जानु र उसलाई सजिलो हुने किसिमको बन्दै जानु भनेको उसको अगाडि लम्पसार पर्नु हो।

तर, प्रचण्डले किन विदेशीका लागि कम्फर्टेबल सरकार भन्नु भयो? कसरी देख्नुभयो मधेसी दल र कांग्रेससहित भारतका लागि कम्फर्टेबल सरकार बन्ने सपना? के उहाँलाई कांग्रेस, मधेसी दल पनि भारतको अनुकूल चल्छन् भन्ने लागेको हो? कांग्रेस, जनता समाजवादी पार्टी भारतको अनुकूल चल्ने नै हुन् वा प्रचण्डले ती दलको अवमूल्यन र मानमर्दन गर्न खोज्नुभएको हो?

यस्तो अभिव्यक्ति कांग्रेस र जसपाको पनि नाम लिएर भनिरहँदा ती दलबाट किन कुनै पनि अभिव्यक्ति आएन? अब यो मुलुकमा नेपाल र नेपाली जनताका लागि सरकार नहुने, विदेशी वा छिमेकीका लागि सरकार बनाउने हो? के कुनै मुलुकको सुरक्षा छातामुनि नेपालको सरकारलाई लैजान खोजिएको हो? होइन भने भारतका लागि कम्फर्टेबल सरकार किन भन्नु भयो? यो निकै गम्भीर विषय हो।

हाम्रो मुलुकलाई राजनीतिक दलका नेताहरुले यसरी अर्को मुलुकको नेता वा सरकार रिझाउने किसिमले प्रयोग गर्नु कदापि सह्य हुन सक्दैन। नेपालभित्र राजनीति गर्ने कसैले चाइनिज कार्ड खेल्ने, कसैले इण्डियन कार्ड खेल्ने, कसैले अमेरिकी, युरोपियन कार्ड खेल्ने गरेका छन्। राजनीतिक दल र नेताहरुको यस्तो गतिविधि हुनु र गर्नुले यो मुलुक र यो मुलुकका जनताको आउँदो भविष्य कस्तो होला?

आफ्नो स्वार्थसिद्धिका लागि र सत्ता प्राप्तिकै लागि विदेशीका अगाडि देशको स्वाभिमान बन्धकी राख्ने कुरा स्वीकार्य हुन सक्दैन। यसले देशलाई गुलामी र उपनिवेशतर्फ धकेल्छ। अबका दिनमा नेपाली जनताले विदेशीको बुई चढेर राजनीति गर्ने, विदेशी इच्छाशक्तिबाट राजनीति गर्ने वा नेपाली खोलका विदेशी तत्व चिन्न र नेपाली राजनीतिको रिङबाट आउट गरिदिनुपर्छ।

प्रचण्डले किन विदेशीका लागि कम्फर्टेबल सरकार भन्नु भयो? कसरी देख्नुभयो मधेसी दल र कांग्रेससहित भारतका लागि कम्फर्टेबल सरकार बन्ने सपना? के उहाँलाई कांग्रेस, मधेसी दल पनि भारतको अनुकूल चल्छन् भन्ने लागेको हो? कांग्रेस, जनता समाजवादी पार्टी भारतको अनुकूल चल्ने नै हुन् वा प्रचण्डले ती दलको अवमूल्यन र मानमर्दन गर्न खोज्नुभएको हो?

होइन भने नेपाल र नेपाली जनताको भविष्य डामाडोल हुनसक्छ। त्यसैले अबका दिनमा अब आउने निर्वाचनमा नेपाली जनताले सही पार्टी, सही राजनीतिक नेता र मुलुक र जनताको हितमा काम गर्ने नेता र दल पहिचान गर्नु र त्यस्तोलाई मुलुकको बागडोर व्यालेटको माध्यमबाट जिम्मा लगाउनुपर्छ। केपी ओलीले देखिएर र बोलेर अराष्ट्रिय काम गरे भन्ने चाँही छैन।

नेता विरोधी, दल विरोधी, कसैको स्वार्थ विरोधी वा भ्रष्टाचार अनुकूल काम गरे होलान्, तर राष्ट्र विरोधी काम नगरेकै कारण अहिलेसम्म टिकेका छन्। नेपालको प्रशासनयन्त्र, सुरक्षा निकाय, सेना, संवैधानिक निकायहरु राष्ट्रिय हितमा कदापि चुक्दैनन्। त्यसैले पनि ओली टिक्नुमा ती निकायको सहयोग पनि एउटा आधार हो।

ओलीकै रिसले र ओलीकै बहिर्गमनका लागि जस्तोसुकै अराष्ट्रिय गतिविधि गर्न र विदेशी गुहार्न पुग्ने जो कोही तत्व पनि नेपाली जनतालाई सह्य र मान्न हुन सक्दैन। बरु प्रचण्डमा राष्ट्र हित र जनहितमा काम गर्ने सोच चिन्तन बनाउने र आगामी निर्वाचनको तयारी गर्ने बुद्धि आओस्। यो दिशातिर प्रचण्ड लागे भने सफल हुन सक्छन्। यो दिशातिर जो कोही लागे पनि सफल हुन्छन्।

अब नेपाली जनता धेरै सुसूचित भइसके। विवेकशील छन् र उनीहरुको चेतना र शिक्षाको स्तर धेरै विकास भइसकेको छ। हामी ढुक्का होऔं, आगामी दलका अधिवेशनबाट दलका नेतृत्व र आगामी संघीय संसदको चुनावबाट सांसद, दल र प्रधानमन्त्रीको उम्मेद्वार सबै नेतृत्वमा जनताले उचित नेतृत्व चयन गरेर पठाउँछन् भन्नेमा विश्वस्त हुन सकिन्छ। र, २०७८ सालमा हुने निर्वाचनले पक्कै पनि राष्ट्रका लागि जनताले सही नेतृत्व छानेर जायज काम गर्नेछन् भन्नेमा विश्वास गर्नु बाहेक अर्को विकल्प छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *