माओवादीलाई प्रधानमन्त्रीको चुनौती : सरकारलाई दिएको समर्थन फिर्ता लेऊ

डिसी नेपाल
३० चैत २०७७ १९:४७

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्केलाबाट सत्ता प्राप्ति गर्ने पक्षमा नरहेको बताउँदै संसदीय प्रक्रिया अपनाएर सरकार फेर्न विपक्षीहरुलाई चुनौती दिएका छन्।

पार्टीनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाजको वृहत राष्ट्रिय भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘बहुमतबाट हटाउन मन छ भने समर्थन फिर्ता लेऊ। चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ।’ माओवादी केन्द्रले समर्थन फिर्ता नलिए पनि प्रधानमन्त्रीको राजीनामा माग्दै आएको सन्दर्भमा प्रधानमन्त्री ओलीको यो भनाइ आएको हो।

गत शुक्रबार तीन वटा विपक्षी दलको बैठक बसेर ओली सरकारको विकल्प खोज्ने विषयमा छलफल भएको थियो। त्यसप्रति पनि प्रधानमन्त्री ओलीले माओवादी केन्द्र काँग्रेस र जसपाको शरणमा गएको भन्दै व्यंग्य गरेका थिए।

माधव नेपाल र प्रचण्डले सबैसँग मिल्ने तर नेकपा एमालेसँग नमिल्ने नीति लिएर हिँडेको पनि प्रधानमन्त्रीले बताए । कुखुरा जस्तै फरक रंगका भए पनि सबै विपक्षीको एउटै उद्देश्य नेकपा एमाले विरुद्ध रहेको पनि उनले बताए।

प्रधानमन्त्री ओलीले प्रचण्डले विगतमा जनतालाई अनन्त पीडाको भारी बोकाएर अहिले पनि जनता अलमल्याउन खोजीरहेको समेत बताए। ‘मैले आफ्नालाई छोडेर गल्ती गरेछु भन्न थालिएको छ । दुई तिहाईको आफ्नै सरकारलाई ढालेर कांग्रेसकहाँ बिन्तीपत्र लिएर जाँदा आफ्ना छोडियो की छोडिएन? अन्त गइयो कि गइएन रु’, प्रधानमन्त्रीको प्रश्न थियो।

यसका साथै प्रधानमन्त्री ओलीले पार्टीकै नाममा समानान्तर गतिविधि जारी रहेको उल्लेख गर्दै निश्चित सीमासम्म मात्र सहन गर्न सकिने बताए। त्यसपछि पनि पार्टीमाथि धावा बोल्ने क्रम नरोकेमा ठीक लगाउने चेतावनी दिँदै उनले भने, ‘माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस् । तर, पार्टीमाथि धावा बोल्यो भने ठीक लगाइनेछ । बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन । निष्कासन गर्न हामीलाई पनि आउँछ तपाईंहरूलाई मात्र होइन।’

माधव नेपाल अहिले पनि एमालेका नेताहरुलाई धमाधम निष्कासन गर्ने र कतिपयलाई चुनावमा टिकट पक्का भन्दै हिडनुभएको पनि प्रधानमन्त्रीले उल्लेख गरे । ‘माधव नेपालले बसपार्कमा जस्तै टिकट त बाँडनुहोला, तर सांसद बनाउनु एक जनालाई पनि सक्नुहुन्न, आफैं त बन्नु हुन्न अरुको के जिम्मा लिने रु’, प्रधानमन्त्रीको भनाइ थियो।

आफूलाई पार्टीको साधारण सदस्यबाट समेत निकाल्ने माधव नेपाल पक्षलाई अहिले पनि सदस्य कायमै राखेर पार्टीमा फर्किने अवसर दिएको बताउँदै उनले समूहको रुपमा भने कुनै व्यवहार नगर्ने बताए । ‘कहिले काहीँ किर्नाले भैंसी पनि खान्छ। यिनीहरुले हामीलाई गरेको कारवाही त्यस्तै हो। किर्नाले भैंसी खाए जस्तै। सन्तोष गर्न पाइन्छ किर्नाले भैंसी खाएकै हो। भैंसी खायो खायो, पेट पटुक्क भयो फुत्रुक्क खस्यो।’

विगत तीन वर्षमा सरकारले असाधारण ढंगले काम गरेको बताउँदै उनले विकास निर्माणका कामहरु व्यापक रुपमा भएको समेत उल्लेख गरे । ‘हामी राष्ट्र निर्माणको एउटा महाअभियानमा छौ्र यसलाई तलमाथि पर्न दिनुहुँदैन’, उनको भनाइ थियो।

आफूले पवित्र मनका साथ पार्टी एकीकरण गरे पनि माधव नेपाल र प्रचण्डले मीर जाफर र मीर काशिमको जस्तो अन्तरघात गर्ने काम मात्र गरेको समेत बताए। ‘यि तत्वहरु पार्टीमा छउन्जेल तीन वर्ष काम त हामीले गर्यौं, तर कसरी गर्यौं भने हिँडन लाग्यो कि यताबाट खुट्टा तानेको छ उताबाट अर्को खुटा समातेको छ, अर्कोे तिरबाट दौराको फेर समातेको र अर्कोतिरबाट कोट गरेर हिँडनै नदिने’, उनले भने। आफूलाई मृगौला प्रत्यारोपण गरेपछिको बैठकमा कुर्सी पर सार्दिएको भन्दै किचकिच गरिएको उदाहरण समेत प्रधानमन्त्रीले दिए।

कम्युनिष्ट आन्दोलनले सँधै असमानता र भेदभाव अन्त्य गर्न आवाज उठाएका र जात, वर्ग, लैंगिक लगायतका कुनै पनि आधारमा गरिने भेदभाव सहन नसकिने भनाइ पनि प्रधानमन्त्रीको थियो। कार्यक्रममा उनले सामाजिक विभेद विरुद्ध जनचेतना जगाउन उल्लेख्य रुपमा योगदानबापत नेता एवं साहित्यकार मोदनाथ प्रश्रित्लाई सम्मानसमेत गरेका थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *