संकटमा महेन्द्र शाहीको सरकार, विश्वासको मतका पक्षमा मतदान गर्न सबै दललाई माओवादीको अपील

डिसी नेपाल
२ वैशाख २०७८ १८:१३

काठमाडौं। कर्णाली प्रदेश सरकारको अग्निपरीक्षा शुक्रबार हुँदैछ। तीन वर्षअघि माओवादी केन्द्रका नेताका रुपमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकारमाथि तरवार झुण्डिएको छ। शुक्रबार प्रदेशसभामा उनले आफैले राखेको विश्वासको मतको प्रस्तावमाथि निर्णय हुँदैछ।

बिहीबार बेलुकासम्मको अवस्था र प्रदेशसभामा रहेको राजनीतिक दलको प्रतिनिधित्व हेर्दा शाहीको सरकार अब एक रातमात्र टिक्ने देखिन्छ। अथवा मुख्यमन्त्री शाहीको सरकारले शुक्रबार विदा पाउने लगभग निश्चित छ।

४० सदस्यी प्रदेशसभामा हाल ३९ सदस्यमात्र छन्। त्यसअनुसार नेकपा एमालेको प्रदेशसभामा एकल बहुत छ। २० सिट रहेको एमालेले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएकाले उनले विश्वासको मत लिनुपर्ने बाध्यता आइलागेको हो।

मुख्यमन्त्री शाहीको पक्षमा एमालेका सांसदहरुले फ्लोर क्रस नगरेसम्म निर्णय हुने सम्भावना छैन। र बिहीबार साँझसम्मको अवस्था हेर्दा एमाले सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना पनि छैन। माधव नेपाल निकट मानिएका नेताहरुले आफूहरुले फ्लोर क्रस नगर्ने बारम्बार स्पष्टीकरण दिइसकेका छन्। उनीहरुले फ्लोर क्रस गर्नसक्ने हल्ला चलेपछि उनीहरुको स्पष्टीकरण आएको हो।

अर्कोतर्फ ६ सिट रहेको काँग्रेस र एक सिट रहेको राप्रपासँग पनि बिहीबार साँझसम्म माओवादीको कुनै सहमति भइसकेको छैन। १२ सिट रहेको माओवादी केन्द्रले आफ्नो सरकार बचाउन सक्ने कुनै अवस्था नदेखिएका बेला बिहीबार साँझ एक अपील जारी गरेको छ।

प्रदेशसभा मुख्यसचेतक सिता नेपालीले बिहीबार अपील जारी गर्दै मुख्यमन्त्री शाहीको विश्वासको मतका पक्षमा मतदान गर्न सबै दलका सांसदहरुलाई आग्रह गरिएको छ। अपीलमा मुख्यमन्त्री शाहीविरुद्ध केही व्यक्तिको उक्साहटमा एमालेले समर्थन फिर्ता लिएको भन्दै त्यसले अस्थिरता ल्याउन सक्ने भएकाले सबै सांसदहरुले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्नुपर्ने भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *