कोरोनाका कारण पत्रकार मिश्रको निधन

डिसी नेपाल
३ वैशाख २०७८ १५:५९

काठमाडौं । विर्तामोड नगरपालिका–८ झापा घर भई विगत १५ वर्षभन्दा बढी भक्तपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका द्वन्द्वपीडित पत्रकार ४९ वर्षीय पत्रकार कमल मिश्रको निधन भएको छ ।

‘टेकु अस्पतालको भेन्टिलेटरमा निक्कै सकस काट्दै कोरोनासँग लडिरहेको छु, अब भने बाँच्ने आशा पलाएको छ, सत्कर्ममा लागौँ, राधे राधे ।’ वाक्य लेखेको एक हप्ता पनि नबित्दै अन्ततः कोरोनासँग हार्दै सधैंका लागि उनी अस्ताएका छन् ।

उनको बैशाख १ गते राति कोरोना संक्रमणकै कारण ज्यान गएको थियो । झापाबाट कम्युनिष्ट आन्दोलनसँगै पत्रकारिता सुरु गरेका पत्रकार मिश्रको निधनले भक्तपुरका क्रियाशील पत्रकारलाई स्तब्ध बनाएको छ । मानव अधिकारवादी संस्था इन्सेक अनलाइनमा समेत लामो समय पत्रकारिता गरेका मिश्रले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सम्बोधन, दृष्टि, जनधारणा, जनादेश साप्ताहिक, नयाँ सडक दैनिक, जनदिशा दैनिक, इन्सेक अनलाइन हुँदै नेपाल समाचार पत्र र महानगर दैनिकमा संवाददाता रहेर पत्रकारिताको तीन दशक यात्रा पूरा गरेका थिए ।

पत्रकारिता क्षेत्रको चर्चित ‘भूषण जोशी पत्रकारिता पुरस्कार’ पाएका उनले आफ्नै सम्पादनमा गणतन्त्र साप्ताहिकसमेत प्रकाशित गरेका थिए । तत्कालीन माओवादी जनयुद्धकालको पहिलो सङ्कटकालमा माओवादीको आरोपमा ज्यान जोखिममा परेपछि भागेर भारतस्थित ससुराली पुगेका मिश्रलाई माओवादीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरी निकै यातना दिएको उनले आफ्नै लेखमा चर्चा गरेका छन् ।

भारतमा एउटा आँखा गुमाउनु परेको र शरीर अङ्गभङ्ग भएपछि झापामा भएको आफ्नो सबै सम्पत्ति बिक्री गरी उपचार गराएका मिश्रले दोस्रो सङ्कटकालमा पनि झापाबाट ज्यान जोगाउन भागेर काठमाडौँ आएर नेपाल पत्रकार महासङ्घको कार्यालयमा केही दिन आश्रय लिएको उनले बताएका थिए । २०६२÷६३ को जनआन्दोलनपछि भने पत्रकार मिश्र खुल्ला भएर हिँडेको र भक्तपुरस्थित दुवाकोटमा भाडाको कोठामा श्रीमती र बालिका तीन छोरीका साथ बस्दै आएका उनले भक्तपुरबाट पत्रकारितामा निरन्तरता दिँदै आएका थिए ।

स्वास्थ्य परीक्षणका क्रममा कोभिड–१९ संक्रमण पुष्टि भएपछि गत चैत १३ गतेदेखि शुक्रराज ट्रफिकल सरुवा रोग अस्पताल टेकुमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहँदा पनि उनले साथीहरुलाई फोन गर्दै आफ्नो अवस्थाका बारेमा जानकारी गराउँदै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *