‘राजनीतिक मूल्यमान्यताभन्दा पनि पेशागत हितमा काम गर्नुपर्छ ’

डिसी नेपाल
३ वैशाख २०७८ २२:५२

विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्र राजनीतिक मूल्यमान्यताको आधारभन्दा पनि पेशागत हक, हित र अधिकारमा केन्द्रित रहनु पर्ने बताएका छन् ।

मन्त्रालय तथा प्रदेशस्तरीय सञ्चार प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘प्रदेश क्रियाशील सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा प्रदेश तथा जिल्ला शाखाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले आगामी दिनमा सञ्चारक्षेत्रमा विकास गर्न सञ्चारकर्मीहरुको सुझावको अपेक्षा राख्दै प्रतिष्ठानको भौतिक विकासमा प्रदेश सरकारको ठूलो सहयोग रहने घोषणा गरे ।

प्रतिष्ठानको उद्देश्य प्राप्तिमा सरकारले पनि समन्वय एवं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले महालेखा परीक्षक कार्यालयको लापरवाही एवं ढिलाइका कारण प्रतिष्ठानले आफ्नै खाता सञ्चालन गर्न नसकेको बताए । उनले गत पुस ६ गते प्रतिष्ठानले कार्यकारी निर्देशकसहित सञ्चालक समितिको सदस्य पाए पनि खाता सञ्चालन हुन नसकेका कारण आर्थिक क्रियाकलाप गर्न नसक्नु सरकारको संरचना कसरी काम गर्दै छ भनि टिप्पणी गर्दै आगामी आर्थिक वर्षका लागि आउने बजेटमा समेटिने नीति तथा कार्यक्रममा यसक्षेत्रको विकासका लागि आवश्यक सुझाव दिन सबै सञ्चारकमीसँग अपिल गरे ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष यज्ञप्रसाद शर्माले प्रतिष्ठान स्थापना भएको थोरै समय भए पनि यसले पत्रकारिता क्षेत्रमा रचनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष विक्रम लुँइटेल, नवनिर्वाचित अध्यक्ष लिलाबल्लभ घिमिरे, महासङ्घ मोरङ शाखाका नवनिर्वाचित अध्यक्ष सञ्जीव खनालले सङ्गठनले पत्रकारिता क्षेत्रमा उदाहरणीय एवं रचनात्मक काम गर्ने विश्वास दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *