पाकिस्तानको क्रिकेट टिम भारतमै आएर खेल्ने

डिसी नेपाल
४ वैशाख २०७८ १६:४६

काठमाडौं। पाकिस्तानको क्रिकेट टिम ५ पर्षपछि भारत आएर खेल्ने भएको छ । दुई देशबीच तनावका कारण यी दुई देशका खेलाडी एक अर्काको देशमा गएर खेल्न मानिरहेका थिएनन् । ५ वर्षपछि पाकिस्तानी टोली आगामी अक्टोबर र नोभेम्बरमा हुने टि–२० विश्वकपका लागि भारत आउने भएको हो । भारत सरकार पाकिस्तानी खेलाडीलाई भिसा दिन तयार भएको छ ।

भारतीय क्रिकेट काउन्सिल (बीसीसीआइ)ले शुक्रबार एक भर्चुअल बैठकमा एपेक्स काउन्सिललाई यसको सूचना दिएको छ । बोर्डका अनुसार सरकारले पाकिस्तानी खेलाडीको लागि भिसा अनुमति दिएको छ तर फ्यानको लागि भिसा दिने कि नदिने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ । सम्बन्धित मन्त्रालयले यस विषयमा छिटै निर्णय गर्नेछ । भर्चुअल बैठकमा सहभागी एक बीसीसीआइ अधिकारीका अनुसार टि–२० विश्वकप आइसीसीको कार्यक्रम भएकोले सरकारले पाकिस्तानी खेलाडी र मिडियालाई भिसा दिने निर्णय गरेको हो ।

यसअघि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले बीसीसीआइलाई ३१ मार्चसम्म पाकिस्तानी टिमलाई भिसा दिने विषयमा आफ्नो धारणा स्पष्ट पार्न अल्टिमेटम दिएका थिए । यसको एक दिनपछि १ अप्रिलका दिन आइसीसीले बोर्ड बैठकमा यो विवाद एक महिनाभित्र सुल्झाइने बताएको थियो । बीसीसीआइले विश्वकपका लागि ९ ठाउँ तोकेको छ । फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । यसका अलावा दिल्ली, मुम्बइ, चेन्नइ, बैंगलोर, हैदराबाद, धर्मशाला, कोलकाता र लखनउमा खेलहरु हुनेछन् ।

पाकिस्तानको टिम पछिल्लो पटक २०१६ मा टि–२० विश्वकप खेल्न भारत आएको थियो । २५ मार्च २०१६ मा अस्ट्रेलियाविरुद्ध मोहालीमा खेलेको खेल पाकिस्तानको भारतीय जमिनमा अन्तिम खेल थियो । त्यो प्रतियोगितामा पाकिस्तानले भारतमा ४ खेल खेलेको थियो । भारतविरुद्ध द्विपक्षीय सिरिज खेल्नको लागि पाकिस्तान २०१२–१३ मा आएको थियो ।त्यतिबेला पाकिस्तानले ३ एकदिवसीयको सिरिज २–१ ले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *