मलेसियालाई नेदरल्याण्डले दियो १९२ रनको लक्ष्य, ओडोडको रेकर्ड

डिसी नेपाल
५ वैशाख २०७८ १३:५३

काठमाडौं। त्रिदेशीय सिरिज अन्तर्गत आज जारी नेदरल्याण्ड र मलेसियाको खेलमा नेदरल्याण्डले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ । म्याक्स ओडोडको उत्कृष्ट शतकको मद्दतमा नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

नेदरल्याण्डका लागि म्याक्स ओडोडले ७३ बलमा नटआउट १३३ रन बनाए । स्कट एडवार्डले ३१ र बेन कुपरले २० रन बनाए । मलेसियाका लागि पवनदिप सिंह र अनवर रहमानले १–१ विकेट लिए । ओडोडको यो शतक नेदरल्याण्डको लागि टि–२० अन्तर्राष्ट्रियमा कुनै पनि खेलाडीले बनाएको पहिलो शतक हो ।

यससँगै ओडोड टि–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यानको सूचीमा पाँचौं स्थानमा परेका छन् । अन्तर्राष्ट्रिय टि–२० मा सर्वाधिक स्कोर अस्ट्रेलियाका आरोन फिन्चको १७२ रन हो । दोस्रोमा अफगानिस्तानका हजरतुल्लाह जजाइ (१६२ नटआउट), तेस्रोमा आरोन फिन्च (१५६) र चौथोमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल (१४५ नटआउट) छन् । ओडोडले टि–२० अन्तर्राष्ट्रियमा १ हजार रन पनि पूरा गरेका छन् । उनले टि–२० अन्तर्राष्ट्रियमा १ हजार ९ रन बनाए ।

नेपाल, नेदरल्याण्ड र मलेसियाबीच हुने यो त्रिदेशीय सिरिजमा कूल ७ अन्तर्राष्ट्रिय टि–२० हुनेछन् । आज मलेसिया र नेदरल्याण्ड, सोमबार नेपाल र मलेसिया, मंगलबार नेपाल र नेदरल्याण्ड, बुधबार मलेसिया र नेदरल्याण्ड तथा बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ । शुक्रबार एक दिन खेल हुने छैन र अर्को शनिबार तालिकामा शीर्ष स्थानमा रहने २ टिमबीच फाइनल खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *