वास्तविक अयोध्यापुरीको निर्माण, प्रतिष्ठापन गरिँदै सीतारामको मूर्ति

डिसी नेपाल
८ वैशाख २०७८ ९:५०

काठमाडौं।  चितवनकाे माडीस्थित ठोरीमा रहेको अयोध्यापुरीमा आज सीता-रामको मूर्ति प्रतिष्ठापन गरिँदै छ। करिव ५ सय सवारी साधनसहित मंगलबार काठमाडौंबाट मूर्तिहरु रथयात्रा गरी चितवन पठाइएको थियो।

आज दिउँसो बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँको प्रमुख आतिथ्यतामा मूर्तिको प्रतिष्ठापन गरिने माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए।

प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश अहिराजको पनि उपथिति रहने ढकालले जानकारी दिए। ढकालका अनुसार प्रदेश प्रमुख अहिराजले कोशी नदि र गंगासागरको जल, जानकी मन्दिरको माटो ल्याएर माडी पुगेका हुन्।

काठमाडौंबाट मंगलबार विहान हिडेको रथयात्रा नारायणघाटबाट माडी तर्फ लागेको ढकालले जानकारी दिए। ढकालका अनुसार दिउँसो २ बजेसम्म अयोध्यापुरीमा रथयात्रा पुग्ने छ। त्यसपछि मूर्ति प्रतिष्ठापनको कार्य हुने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लगानीमा सीता, श्रीराम, लक्ष्मण र हनुमानको मूर्ति बनाउन लगाएका हुन्। गत साउनमा माडीका जनप्रतिनिधिसँग कुरा गर्दै यही राम नवमीमा मूर्ति स्थापना गर्ने गरी काम गर्न अह्राएका थिए।

के हो अयोध्यापुरी निर्माणको कुरा र ?

गएको असार २९ गते रामायणका नेपाली अनुवादक तथा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा घोषणा गरे।

भारतको अयोध्यामा राम जन्मेको भन्ने कुरा भारतले नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए। भारतले नक्कली अयोध्या खडा गरेको भन्दै रामको जन्म माडी नगरपालिकाको ठोरीमा भएको प्रधानमन्त्री ओलीले बताएका थिए।

‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्यामा भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन।’

प्रधानमन्त्रीको उक्त कुराले राजनीतिमात्र नभएर इतिहास र संस्कृति जगतमा एक प्रकारको भूकम्प ल्यायो। राजनीतिकर्मी मात्र नभएर इतिहासकर्मी र संस्कृतिविद् पनि वैचारिक विवादमा परे। कसैले प्रधानमन्त्रीको खुलेर आलोचना गरे भने कतिले समर्थत पनि।

प्रक्रिया बढ्दै गएपछि २०७७ सालको श्रावण २४ गते माडी नगरपालिकाका जनप्रतिनिहरुसँग प्रधानमन्त्रीले भेटघाट गरे। यो रामनवमीका दिन ठोरीमा मेला लगाउन र अर्को राम नवमीका दिन राम सिता र लक्ष्मणको शालिक स्थापना गर्न निर्देशन दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएका माडी नगरपालिकाका जनप्रतिनिधिहरुले उत्साहित हुँदै तत्कालै काम सुरु गर्ने बताए। उनीहरुले केहीसमयभित्र काम थालनि गर्ने बताए पनि अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन।

अयोध्यापुरीलाई आवश्य पर्ने जग्गाका बारेमा पनि प्रधानमन्त्रीले वन मन्त्रालय र चितवन राष्ट्रिय निकुञ्जसँग आवश्यक समन्वय गरिदिने आश्वासन समेत दिएका थिए।

धानमन्त्रीलाई भेटेर फकिएपछि प्रवक्ता शिवहरि सुवेदीले डिसी नेपालसँग प्रतिक्रिया दिदैँ प्रधानमन्त्री आफै पनि राममन्दिर बनाउन आतुर रहेको जानकारी गराएका थिए।

उनले भनेका थिए, ‘प्रधानमन्त्री ज्यूले राममन्दिर निर्माण र्गन आवश्यक जग्गाको लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय निकुञ्ज र सरोकारवालासँग समन्वय र सहजिकरण गरिदिने विशवास दिलाउनु भएको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *