एनआरएनए जर्मनीको साधारण सभा : विवाद समाधानपछि आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित

डिसी नेपाल
१० वैशाख २०७८ ७:४६

 जर्मनी। गैर आवासीय नेपाली संघ जर्मनीले आफ्नो बार्षिक साधारणसभा सफलताका साथ सम्पन्न गरेको छ। कोरोना भाइरसको महामारीले लकडाउन झेलिरहेको जर्मनीमा बढीमा पाँच जनासम्म मात्र पाइने नियमका करण एनआरएनए जर्मनीले भर्चुअल माध्यमबाट गत आइतबार साधारण सभा सम्पन्न गरेको हो।

निर्धारित मितिभन्दा करिब ६ महिना ढिला भएको सभाले सातवटा क्षेत्रीय समन्वय समितिहरुको बार्षिक तथा आर्थिक प्रतिवेद र राष्ट्रिय समन्वय परिषदको बार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो। सहभागीहरुले कोरोना महामारीका बेला खेलेको भूमिका, नेपालमा गरेको सहयोग, समाजसेवा आदि कार्यमा राम्रो उपस्थिति देखाएकोमा एनआरएनए जर्मनीको प्रशंसा गरेका थिए।

कोरोना भाइरसको पहिलो लहरका बेला जर्मनीमा रहेका विद्यार्थी, सीपमुलक तालिम लिइरहेका प्रशिक्षार्थी, न्युन आए भएका तथा कागजात नभएका नेपालीहरुको लागि भन्दै एनआरएनले ५ लाख बराबरको सहयोग गरेको थियो। गैर आवासीय नेपाली संघले स्थापना देखिनै उठाउँदै आएको एक पटकको नेपाली सधैको नेपाली भनेझैं एकपटकको एनआरएन सधैंको एनआरएन हुने गरी अघि बढ्न पर्नेमा कार्यक्रममा सहभागीहरुले आवाज उठाएका थिए।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदनको बिषयलाई लिएर नेपाली काग्रेस सम्वद्ध जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्का लगायतकाले प्रश्न उठाएका थिए। वर्तमान कार्यसमिति सहमतिबाट चयन भएर आउँदा सदस्यहरुबाट लिएको शुल्कका बारेमा अस्पष्टता भएको दावी गर्दै सबैले थाहा पाउनेगरी प्रष्ट जानकारी गराउन माग गरेका थिए।

नयाँ कार्यसमिति आएपछिको एक एक पैसाको हिसाव किताव सबै समक्ष स्पष्ट रुपमा प्रस्तुत गरेपछि र निर्वाचन आयुक्त उषा शर्माले कार्यसमिति चयन हुँदा भएको यथार्थ सहमति सार्वजनिक गरेपछि अन्त्यमा आर्थिक प्रतिवेदन पनि विवादरहित पारित भएको महासचिव लोकमणि ढकालले जानकारी दिए।

अध्यक्ष हरि न्यौपानेले यसअघिको कार्यसमितिको पालादेखि नै बैंक खाता बन्द भएकोमा कतिपय कारोबार गर्न कठिन भएको तर अहिले लामो प्रयासपछि बैंक खाता खुलाउन सफल भएकोले कार्य अघि बढेको जानकारी दिए।

आफू नेतृत्वको कार्यसमिति चयन हुँदै गर्दा फ्र्यांकफ्रर्टमा भएको उच्च तहका एनआरएनकर्मी सहितको सहमतिलाई करिब दुई बर्षपछि आएर विवाद निकाल्ने प्रयास गरेको भएपनि असफल भएको अध्यक्ष हरि न्यौपानेको दावी थियो।

प्रमुख निर्वाचन आयुक्त उषा शर्माले त्यसबेला सहमतिका लागि भन्दै सदस्यता थपेको तर सदस्यता बापतको रकमको जिम्मा लिएकाले नतिरेकाले सदस्यता शुल्क बारे प्रश्न उठ्नु स्वभाविक भएको बताइन्।

तत्कालीन समयमा नयाँ नेतृत्वको लागि चुनाव गर्नु समय अभावलगायत विविध विशेष कारणले असम्भव देखिएको र सहमति गर्नुको विकल्प नभएकाले सदस्यता थपिएको जानकारी आफुले पाएको साधारण सभामा बताएकी थिइन् ।

पदका आकांक्षी धेरै देखिएको र व्यवस्थापन गर्न उच्चस्तरीय नेताहरुकै मिलेमतोमा दुईजना आइसीसी सदस्य पठाउन बाध्यकारी परिस्थिति देखिएकाले दुइ हजारभन्दा बढी सदस्यता रातारात थपिएको सार्वजनिक भएको हो। एक हजार ५४ जना सदस्यहरुको १५ युरोका दरले शुल्क पनि प्राप्त भइसकेको बेला निर्वाचन आयोग समक्ष सहमतिको लागि समय माग्दै १५ सय ९० सदस्य पुगेको जानकारी गराइएको थियो।

तर बाँकी ५ सय ३६ जनाको शुल्कवापतको रकम आउनै बाँकी रहेकाले धैर्य गर्न आग्रह गरिएकै बेला उच्चस्तरीय बैठकले २ जना आइसीसी सदस्य पठाउनेसहितको सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको जानकारी गराएपछि वर्तमान कार्यसमिति बनेको थियो।

सो सहमतिले अध्यक्षका दावेदार एबं निवर्तमान अध्यक्ष विजय मोक्तान र निवर्तमान महासचिव टंक लम्साललाई आइसीसी सदस्यमा पठाउने निर्णय गरेको थियो।  दुई जना आइसीसी सदस्य पठाउनको लागि २ हजार पञ्जिकृत सदस्य आवश्यक पर्ने भएपछि भटाभट दुईहजार सदस्य पुर्याउने र अन्तराष्ट्रिय समन्वय परिषद आइसीसीलाई प्रति सदस्यवापत बुझाउनु पर्ने पाँच डलर शुल्क उम्मेदवारहरुले तिरिदिने सम्झौतापछि लामो रस्साकस्सी पश्चात २०१९ मा बर्तमान कार्यसमिति बनेको थियो।

सो सहमतिमा राजनीतिक दलका सबै भातृ संगठन, विशेष महत्व बोकेका नेपाली संघसंस्था, तत्कालिन एनआरएनए कार्यसमिति, नयाँ बनेको कार्यसमिति, सहमति गराउन भन्दै जुटेका उच्च एनआरएनए अभियानकमी, व्यवसायी, समाजसेवी सबैको पूर्ण सहमति रहेको सभामा जानकारी गराइएको थियो ।

यसरी सहमति भएपछि दुईहजार २८ जना सदस्य पुगेको र त्यसअघि नै उठिसकेको एकहजार ५४ जना बाहेक अरु सदस्यहरुको सदस्यता शुल्क नउठेको प्रमुख निर्वाचन आयुक्त शर्माले जानकारी दिइन्। निर्वाचन गर्न नसकिने परिस्थिती र सबैलाई स्वीकार्य हुने गरी पद बाँडफाँड गर्दा सहमति गर्नुपर्ने विशेष बाध्यताले गर्दा सदस्यता धमाधम थपिएको साथै आइसीसीमा थपिएका सदस्य मध्यको एक तिहाइ बुझाउनुपर्ने शुल्क उम्मेदवार लगायतकाले पूर्ति गर्ने सहमति भएपछि बाँकी दुइ तिहाइ सदस्यता शुल्क बापतको रकम नउठेको स्पष्ट बताएपछि आर्थिक प्रतिवेदन माथीको विवाद पनि समाधान भएको प्रवक्ता दिनेश गौतमले जानकारी दिए ।

अबका दिनमा सो घटनाबाट पाठ सिक्दै कुनै पनि हालतमा सहमतिको नाम भजाएर नियम विपरीत काम नगर्न र विगतमा भएका गल्ती दोहोर्याउन आफुहरुपनि नलाग्ने बताउँदै अग्रज एनआरएनकर्मी एवं सस्थापक अध्यक्ष दिल गुरुगंले सबैलाई स्वस्थ र निष्कलंक एनआरएन अभियानमा सहभागी हुन आग्रह गरे ।

कार्यक्रममा जर्मनीस्थित नेपाली राजदूतावासका राजदूत रामकाजी खड्का प्रमुख अतिथी रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत खड्काले आफू भर्खरै जर्मनीमा राजदुतको रुपमा आएको र यहाँको नेपाली समाजसँग सधैं हातेमाले गरेर अघि बढ्ने बताए। कोरोना महामारीका बेला खेल्नुपर्ने भूमिकामा लगायत नेपाली समुदाय एवं नागरिकहरुको हक अधिकार र सुरक्षा तथा सहयोगका लागि जुनसुकै परिस्थितीमा पनि तयार रहेको खड्काको भनाइ थियो।

मातृभूमिप्रति प्रवासी नेपालीहरुले गरेको योगदानबारे खुलेर प्रशंसा गर्दै उनले एनआरएनसँगको सहकार्य सदैव जारी रहने बताएका थिए । कार्यक्रममा विशेष अतिथी आइसीसी अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने, अवैतानिक महावाणिज्यदुत रामप्रताप थापा, एनसीसी जर्मनी संस्थापक अध्यक्ष दिल गुरुङ लगायत एनआरएन अभियानकर्मीहरुको उपस्थिती रहेको थियो।

यस्तै आइसीसीका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रिय संयोजक एवं उपसंयोजकहरु युरोपका विभिन्न देशका एनसीसी अध्यक्ष एवं प्रतिनिधिहरु समाजसेवी, विभिन्न राजनैतिक दलका भातृ संगठनका प्रतिनिधिहरु, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *