साहित्यकार पनि भ्रष्ट हुन्छन् : डा. बिजय सुब्बा

तर्कबहादुर थापा
११ वैशाख २०७८ ७:२७

कक्षा ६ को अन्त्यतिर, ७ को सुरुवातीमा लेखिएको प्रगतिशील गीतहरुले औपचारिक साहित्यमा प्रवेश गरेका साहित्यकार डा. विजय सुब्बा अझै पनि साहित्यको दौडाइमा छन्। जनजाति साहित्यबाट विद्यावारिधी गरेका उनी राजनीतिककर्मी पनि हुन्।

पञ्च्यायत कालको भूमिगत अवस्थामा गीतसंगीतका माध्यामबाट समाज जागरणमा लागेका उनी अझै पनि साहित्यबाट समाजको रुपान्तरणका लागि संघर्ष गरिरहेको बताउँछन्। ‘कतै झुप्राहरुमा, आमा अब नरोइदेउ, कहाँ हुन्छ राजाप्रजा, त्यो पारि पाखा, उकाली दाइने बरलगायतका थुप्रै प्रगतिशील गीतमा डा. सुब्बाको कलम चलेको छ।

लेखेका गीतहरु आफै गाउने सुब्बा राज्यले श्रष्टालाई बेवास्ता गरेको अनुभव सुनाउँछन्। आफैले लेखेका गीत, गाएका गीत सुनेर राजनीतिको कखरा सिकेकाहरु मन्त्री हुँदा आफैलाई विर्सेको आरोप सुब्बाको छ।

लामो समय साझा प्रकाशनको अनियमितताको विरुद्ध लडेका उनले अहिले साझा प्रकाशनकै बागडोर सम्हालेका छन्। साझाको अध्यक्ष जस्तो गरिमामय पदमा रहेर नेपाली साहित्यको उथ्थानमा लाग्ने संकल्प गरेका उनै श्रष्टा विजय सुब्बासँग डिसीनेपालका लागि तर्क बहादुर थापाले गरेको कुराकानीको सम्पादित अंश :

कहिलेदेखि औपचारिक साहित्य लेख्न थाल्नु भयो ?

गीत लेख्ने, संगीत गनेृ र गाउने पनि गर्थें। मैले २०२६/२७ साल तिर गीत लेख्न सुरु गरेको हुँ। त्यतिबेला म ७ कक्षामा थिएँ। मैले प्रगतिशील गीत लेख्थे। गाउँथे पनि। त्यो रेकर्ड छैन। मैले साहित्यको औपचारिक सुरुवात यहीबेलादेखि गरेको भन्छु। निरन्तर लागिरहेको छु।

यहाँ त जनजाति साहित्यमा विद्यावारिधी गर्नु भएको मान्छे। त्यो बेलाको गीत नेपाली भाषामा थिए की मातृभाषामा?

नेपाली भाषामा नै लेखेँ। मैले आफ्नो मातृभाषामा दखल राख्दिन। मेरो समुदाय वरपर सबै राष्ट्रभाषा बोल्ने मान्छेमात्र थिए। त्यसैले पनि पहिलेदेखि नै नेपाली भाषामा बोल्न थालियो। अहिले सिक्छु भन्दा पनि नहुँदो रहेछ।

आदिवासी जनजातिको क्षेत्रको विषयमा विद्यावारिधी गरे पनि भाषासँग नजिक हुन सकिएन। भाषा सिक्नु पर्ने हो। सानैदेखि जुन भाषा सिकियो त्यो मा नै अव्यस्त भइँदो रहेछ। अब त सिक्छ भन्दा पनि नहुने।

अहिले जनजाति साहित्यको अवस्था कस्तो छ?

जनजातिहरुको साहित्य आफूभित्र त राम्रौ गरी चलेको छ। तर, पुरानो राज्यले ध्यान पुर्याउन नसकेका कारण त्यो साहित्यले त्यतिधेरै फड्को मार्न पाएन। अहिले त सरकारले हरेक जातजातिका भाषा धर्म, साहित्यलाई अगाडि ल्याउनका लागि ठाउँ दिएको छ।

म राजनीतिज्ञहरु भ्रष्ट हुन्छन् साहित्यकारहरु इमान्दार हुन्छन् भन्ने सोच्थेँ, होइन रहेछ। साहित्यकारहरु पनि भ्रष्ट हुँदा रहेछन्। अझ साहित्य पत्रकार त झनै भ्रष्ट। साहित्यिक पत्रकारको कोही आफन्तलाई साझामा जागिर लगाएकै भरमा कसैले पनि यहाँको बिक्रिती विसंगतीका विरुद्ध लेखेनन्, बोलेनन्। तैँ चुप मैँ चुप भए। मिलेर साझालाई चुस्नु चुसुे।

हामीले खुलेर आफ्नो साहित्य भाषा धर्मको प्रचारप्रसार गर्न पाएका छौं। कुनै बेला थियो शिलालेखमा लेखिएका लिम्बुभाषाका अक्षरहरु पढ्यो भने पनि गिरफतारी गरिन्थ्यो। अहिले त्यो अवस्था त छैन नि।

लिम्बू भाषामा लेखिएका शिलालेख पढ्दा प्रहरीले लैजाने व्यवस्था भएको बेला जनजाति साहित्यले कसरी आफूलाई अंकुरित गर्न सक्थ्यो र? अब बल्ल सबैको भाषा साहित्यको अंकुरण सुरुवात भएको छ। विस्तारै पुष्पित र पल्लवित हुनेछ, हुन्छ।

त्यो बेलामा नेपाली भाषाबाहेकका भाषाहरुले प्रगति गर्न पाएनन्। जबसम्म भाषाको प्रयाप्त विकास हुँदैन तबसम्म साहित्य पनि अगाडि बढ्दैन। जब साहित्य लेखिँदैन भाषा परिस्कृत पनि हुँदैन।

देशमा गणतन्त्र आएको छ। अब त पहिलाको जस्तो अवस्था छैन, अबै नउठेको जनजाति साहित्य कहिले उठ्छ?

श्रष्टाहरुमा फराकीलो सोच नहँनु। पहिलाकै जस्तो दमनमा बाँचिरहे जसतो दिमाग अहिले पनि हुनु जस्ता कारणले गर्दा राष्ट्र भाषा बाहेकका भाषाहरुको विकास हुन सकेको छैन। शब्द त नराम्रो हो तर, जातीय गुण, चरित्र, व्यवहारले जनजातिले जति लिनसक्नु पथ्र्यो त्येति लिन सकिएको छैन कि झैं लाग्छ।

नेपाली भाषाका श्रष्टाहरुमा जस्तो दूरदर्शी हेर्ने क्षमता मातृभाषाका श्रष्टाले त्यो गरिसकेको छैन। पहिलेदेखिकै संकुचित घेरा र त्यो घेराभित्र रहेर सोच्ने तरिकाकाले पनि उठन सकेको छैन। अरु मातृभाषा भन्दा नेपाल भाषा समृद्ध छ। लिम्बु भाषाको पनि व्याकरणदेखि सबै कुराहरु आफ्नै छन्। सोच्ने तरिका, हाक्ने तरिका परिवर्तन गरेपछिमात्र जनजाति साहित्य उठ्छ भन्ने मेरो बुझाइ हो।

मातृभाषामा लेखिएका साहित्यहरु भाषा बुझ्ने पनि पढ्दैनन् भन्ने आरोप पनि लाग्छ नि?

त्यो पनि होला। म लिम्बू मातृभाषा भएको व्यक्ति हुँ मैले बुझ्दिन। त्यस्तै अन्य मातृभाषाको पनि होलान। राज्यले यी सबै ठाउँमा विचार पुर्याउनु पर्छ। जसरी नेपाली भाषाको सिर्जनाहरु पाठ्यपुस्तकमा समाबेस गरिन्छ। हरेक मातृभाषाका श्रष्ठाहरुले किनेर पढ्नु पर्ने वाध्यात्मक परिस्थिति हुन्छ त्यो मातृभाषामा पनि हुनुपर्छ भन्ने हो।

हुन त हामी भर्खरै संघीयतामा गएका छौं। हामी भर्खरै संविधान र संघीयतालाई कार्यान्वयन गर्ने पक्षमा छौं, गर्दै छौं। राज्यको ध्यान यी सबै विषयमा पुग्ने अपेक्षा त बाँकी नै छ। राज्यले यो विषयहरुलाई पनि सम्बोधन गर्छ भन्ने लाग्छ। मातृभाषाका श्रष्ठाको सिर्जना पनि विक्ने दिन आउँछ।

यहाँको गीततर्फ जान चाहेँ। यहाँको गीतले भनेजस्तै अहिलेको शासन व्यवस्थामा आएको हो?

राजाप्रजा बोलको गीतको कुरा गर्नु भयो होला। गणतन्त्रको आन्दोलनका बेला हाम्रो शासन आयो भने राजा प्रजा हुँदैनन् भन्ने जनतामा बुझाउनका लागि उक्त गीत लेखेको थिएँ। तर, अहिले बोलीचालिमा राजाप्रजा नभए पनि प्रवृतिले देखिएको छ। अझै अहिले त कुनै पार्टीको नेता र कार्यकर्ताबीच राजाप्रजाको व्यवहार छ। संघसंगठनहरुमा त्यो प्रवृत्ति देखिन्छ।

सबै पार्टीहरुमा पनि राजाप्रजा प्रवृत्ति देखिन्छ। जबसम्म राजा प्रजाको प्रवृत्ति रहन्छ तबसम्म समाजले उचित बाटो समाउन सक्दैन। सामाजिक संस्कृतिको विकास हुँदैन। प्रगतिशील सांस्कृतिको रुपान्तरण त झनै सम्भव नै हुँदैन। पछिल्लो समय त राजाप्रजाको प्रवृतिले अझै विकराल रुप लिन्छ कि झैं पनि लाग्छ ।

साहित्यले समाजमा कस्तो भूमिका खेल्नु पर्छ?

साहित्य वर्ग सापेक्ष हुन्छ। साहित्यले समाजमा प्रसस्त काम गर्छ। हामीले भूमिगत कालमा जेजे गर्यौं। त्यसको परिणाम अहिले देशमा गणतन्त्र छ। अहिले जे जे छ त्यो उ बेलाको लगानी हो भन्छु म त।

विश्व इतिहास, साहित्य, राजनीति सबै एकदेशबाट अर्को देशमा सिर्जनाको माध्यामबाट नै जान्छ। सिर्जनाका कारण नै आज विश्वका महान व्यक्तित्वको बारेमा हामीले जान्ने अवसर पाएका छौं। साहित्यले त समाजलाई मार्गदर्शकको भूमिका निर्वाह गर्छ भन्ने मेरो बुुझाइ हो।

तर, अहिलेको अवस्था के छ भने म अलिकति सम्झिन चाहन्छु। म लगायत मेरो भन्दा पहिलाको पुस्ताले गाएका प्रगतिशील गीतहरु सुन्दै, नाच्दै गरेका त्यतिबेलाका बालबालिकाहरुले देशको बागडोर सम्हाले, मन्त्री भए।

सूचना प्रविधिमन्त्रालय पनि उनीहरुकै हातमा पर्यो। हामीले कला साहित्यमा केही गरिदिनु पर्यो भन्दा उहाँहरुले सुन्नु हुन्छ। कमसेकम आफैले जानेर यो क्षेत्रमा काम गर्नु पर्ने हो। गर्नु भएन। यो दुःखद हो। त्यसैले मन्त्री हुनेहरु दूरदर्शी हुनुपर्छ भन्ने मेरो विचार हो।

गीतसंगीत मार्फत जनतको माझमा जाँदा कस्तो प्रतिक्रिाया पाउनु भयो ?

मेरो भन्दा पहिलाको पुस्ता अझै जीवित छ। मैले उहाँहरुको अगाडि कुरा गर्न त सुहाउँदैन। अनुभवमात्र राख्ने हो। हामी जहाँ जहाँ जान्थ्यौं, हामीलाई सबैले सुन्नुहुन्थ्यो। हार्दिकताका साथ कुरा गर्नु हुन्थ्यो। हामी प्रति आकर्षित हुनुहुन्थ्यो। त्यो कुरा ल्याएर पार्टीमा सुनाउँथ्यौं। जनताको हामी प्रतिको आकर्षणलाई पार्टीमा सुनाउँदा अर्कै माहोल हुन्थ्यो।

हामीले भूमिगतकालमा जति दुःख गरे पनि अहिले वेवास्ता गरेका छन्। जति गर्नु पथ्र्यो न्यूनतम काम पनि गरिएको छैन। प्रगतिशील गीतहरुको दोश्रो पुस्ता हो। हामीलाई लोकतन्त्र आइकन, लोकतान्त्रिक वातावरण लोकतान्त्रिक व्यवहार पुगेको छैन। प्राप्तताको कुरा छोडौं चाहिएजति पनि पाएका छैनौं।

गीत र गजलको सामिप्यता कति छ?

बाहिर सुन्दा उस्तै, उस्तै लाग्ने र दुबै संगीतमा खेल्ने विधा हुन। यसलाई छुट्टै विधान भनेर नेपाली साहित्यका समालोचकहरुले मान्दैनन्। त्यसमा उहाँहरुले छलफल गर्ने कुरा हो। मेरो विचारमा यि दुबै गाइने विधा हुन। गीत र गजलको संरचना फरक छ।

गजलमा मतला, रदिफ र काफियालगायतका विषयहरु मिल्नु पर्छ। विषेश गरी मतलालाई हेरेर गजल लेख्नु पर्छ। रदिफ नभए पनि हुन्छ, काफिया अनिवार्य नै चाहिन्छ। किन की काफिया गजलको प्राण हो। रदिफ भएको गजल झन सुन्दर हुन्छ।

समकक्षीहरुले सेल्फी साहित्यकार भनरिहेका हुन्नछ नि ?

अँ, मलाई सेल्फी शब्द प्यारो लाग्छ। मैले आफैलाई प्रतिक बनाएर साहित्य सिर्जना गर्छु। प्रतिक बनाएपछि मैले उठाउन खोजिएको विषय उठछ तर, कसैलाई त्यसले असर पार्दैन। अरु कसैलाई आरोप लगाइरहनु परेन नि।

अरुलाई चोट पुर्याउनु हुँदैन,त्यो रिसाउँछ कि भन्ने भावनाले म आफैलाई नै प्रतिक बनाउन मन लाग्छ। आफूले आफैलाई प्रतिक बनाए पनि मैले लेखेको साहित्यले समाजमा भएका धेरैको प्रवृतिका विरुद्ध बोलेको हुन्छ। तर, अरुको मन नदुखोस भन्नका लागि आफूलाई प्रतिक बनाउँछु त्यसैले साथीहरुले सेल्फी साहित्यकार भन्नुहुन्छ मलाई प्यारो लाग्छ।

नेपाली साहित्यमा लेखेरै बाच्ने अवस्था कस्तो ?

विश्वस्तरीय साहित्यको स्थानमा पुगेपछि लेखेरै बाँच्न सक्ने अवस्था होला। तर, पछिल्ला पुस्ताहरुलाई लेखेरै बाँच्न गाह्रो छ। अहिलेको सिर्जना सतही छ। केही राम्रा श्रष्टाहरु पनि हुनुहुन्छ।

तर, यस्तो हतार देखिएको छ, जहाँ श्रष्टाको मृत्यु हुन्छ, त्यहाँ सिर्जनाको मृत्यु हुन्छ। त्यसरी हतार गरेको साहित्य राम्रो भएन भने, र त्यो सिर्जनाले राम्रो गर्दैन भन्यो भने के काम? त्यो तत्काल मृत्यु हुने साहित्य हामी जुनसुकै विधा, भाषा, र क्षेत्रमा लागेका श्रष्टाले ध्यान दिनुपर्छ।

साझा प्रकाशनको बागडोर सम्हाल्नु भएको छ। अहिले यहाँको कस्तो अवस्था छ ?

लामो हुन्छ। पहिला जति भ्रष्टाचार भएको थियो, त्यसको विरुद्धमा लडेँ। अहिले साथीहरुले जिम्मेवारी दिएका छन्। इमान्दारी पूर्वक पूरा गर्ने सोचमा छु, गर्छु पनि। तर, यहाँ निर मलाई भन्न मन लागेको के छ भने, हुन त सुन्दा तितो लाग्ला तर, साहित्यकार, साहित्यिक पत्रकार सबै भ्रष्ट भएका कारण आज साझाको यो अवस्था भएको हो। कुनै बेला साझाबाट पुस्तक प्रकाशन गर्न समपना बोकेर बस्ने श्रष्टाहरुको लाइन हुन्थ्यो अहिले कुनै कुरामा यहाँ रेखदेख गरिँदैन।

म राजनीतिज्ञहरु भ्रष्ट हुन्छन् साहित्यकारहरु इमान्दार हुन्छन् भन्ने सोच्थेँ, होइन रहेछ। साहित्यकारहरु पनि भ्रष्ट हुँदा रहेछन्। अझ साहित्य पत्रकार त झनै भ्रष्ट। साहित्यिक पत्रकारको कोही आफन्तलाई साझामा जागिर लगाएकै भरमा कसैले पनि यहाँको बिक्रिती विसंगतीका विरुद्ध लेखेनन्, बोलेनन्। तैँ चुप मैँ चुप भए। मिलेर साझालाई चुस्नु चुसुे। अब मरणासन्न भएर रहेको साझालाई उठाउने प्रयास गर्दै छु। साहित्यकारहरुको यो मन्दिर पुन निर्माण गर्ने लडाइमा छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *