महामारीका बेला सगरमाथा आरोहण गर्न सस्तो, त्यसैले नर्वेबाट आएका थिए पहिलो संक्रमित

डिसी नेपाल
१२ वैशाख २०७८ १७:२७

काठमाडौं। सगरमाथा बेस क्याम्पमा कोरोनाभाइरस संक्रमित भएको पुष्टि भएका पहिलो आरोही नर्वेका नागरिकले अहिले सगरमाथा आरोहण गर्न सस्तो भएकोले यहाँ आएको बताएका छन् । नर्वेका नागरिक अर्लेन्ड नेसले आफ्नो देशको सरकारले विदेश यात्रा नगर्न दिएको सुझाव पालना नगरी नेपाल आएका थिए । सगरमाथा आरोहण गर्न भन्दै आएका उनी सगरमाथा बेस क्याम्पमा बिरामी भएपछि उनलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

विश्वमा दशौं लाख मानिसको ज्यान लिइसकेको महामारीका बेला उनी किन नेपाल आउने निर्णय गरे भनेर सोध्दा उनले अहिले सगरमाथा आरोहण गर्नु सस्तो भएकोले आएको जवाफ दिएका छन् । ‘मेरो गाइडले मलाई निःशुल्क गाइडिङ अफर गरे त्यसैले नेपाल जानु निकै सहज निर्णय थियो’ उनले स्काइ न्यूजसँग भने । बेसक्याम्पतर्फ ट्रेकिङ गर्दै जाँदा उनले आफूलाई अस्वस्थ महसुस भएको तर यसलाई आफूले उचाइका कारण भएको समस्या ठानेको बताएका छन् ।

केही दिनपछि उनलाई अझै असहज महसुस हुन थाल्यो तैपनि उनले आफ्नो टिमसँग बेस क्याम्प जाने निर्णय गरे । बेस क्याम्पमा उनको अवस्था अत्यन्तै बिग्रियो । डाक्टरहरुले उनको फोक्सोमा क्षति भएको हुन सक्ने भनेपछि उनलाई हेलिकप्टरबाट काठमाडौंको अस्पताल ल्याइएको थियो । काठमाडौंमा उनको रिपोर्ट पोजेटिभ आयो । नेसका अनुसार उनी सगरमाथा बेस क्याम्पतर्फ ट्रेकिङको क्रममा संक्रमित भएको हुनुपर्छ किनकि नर्वेबाट हिँड्ने बेला र काठमाडौं आइसकेपछि पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

‘मलाई भाइरस लागेको कुरा निकै आश्चर्यजनक थियो’ उनले भने ‘पोजेटिभ रिपोर्ट नआउँदासमम मैले यो कोभिड होला भन्ने सोचेको पनि थिइन ।’ उनको स्वास्थ्य अहिले भने धेरै राम्रो भइसकेको छ । आफ्नो स्वास्थ्य सुधार भएको बताउँदै उनले भने ‘मेरो रिपोर्ट २ दिनअघि नेगेटिभ आयो र अहिले म काठमाडौंमा एक शेर्पा परिवारसँग बसिरहेको छु ।’ अस्ट्रियाका लुकास फर्टिनब्याच नामका हिमाल गाइडले सगरमाथा बेस क्याम्पमा बसेका आरोहीहरुमा पनि संक्रमण फैलिएको हुन सक्ने चेतावनी दिएका छन् । मे महिनाको आरोहणको सिजनअघि तत्कालै सबैको जाँच नगरिए यस वर्षको सिजन नै समाप्त हुन सक्ने उनले बताए ।

नेपालकी पर्वतारोहण अधिकारीले भने हिमालमा अहिले कुनै पनि सक्रिय संक्रमित रहेको कुरा अस्वीकार गरेकी छिन् । पर्वतारोहण विभागकी निर्देशक मिरा आचार्यले आफूलाई हिमालमा कोरोनाभाइरस संक्रमित भएको कुनै आधिकारिक सूचना नभएको र निमोनिया र उचाइको बिरामीजस्ता समस्याको मात्र जानकारी भएको बताएकी छिन् । नेपालमा गत वर्ष महामारीका कारण पर्वतारोहण बन्द गरिएको थियो त्यसैले यस वर्ष सयौंको संख्यामा विदेशी पर्वतारोहीहरु सगरमाथामा आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *