बाक्सिला र बुइपा इलेभेन स्पोर्ट्स क्लब जिल्ला लिग फुटबलमा च्याम्पियन

डिसी नेपाल
१९ वैशाख २०७८ १०:३७

खोटाङ । जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनमा बाक्सिला फुटबल क्लब र ‘बी’ डिभिजनमा बुइपा इलेभेन स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको राजाबासस्थित यलम्बर खेलमैदानमा शनिबार सम्पन्न जिल्ला लिगको ‘ए’ डिभिजनतर्फ ११ अङ्कसहित बाक्सिला फुटबल क्लब लिग च्याम्पियन बनेको हो । ‘ए’ डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने आयोजक जिल्ला फुटबल सङ्घका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए । यस्तै १० अङ्कसहित सोल्मा स्पोर्ट्स क्लब रनरअप र नौ अङ्कसहित खारम्बु स्पोर्ट्स क्लब तेस्रो भएको आयोजकले जनाएको छ ।

खोटाङ भगवती स्पोर्ट्स र हलेसी तुवाचुङ फुटबल क्लबले पाँच/पाँच अङ्कसहित ‘ए” डिभिजनमा आफ्नो स्थान कायम राखेका छन् । ‘ए’ डिभिजनमा रहेको खोटाङ फुटबल एकेडेमी भने ‘बी’ डिभिजनमा ओर्लिएको छ । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘बी’ डिभिजनतर्फ नौ अङ्कसहित बुइपा इलेभेन स्पोर्ट्स क्लब लिग च्याम्पियन बनेको छ । प्राप्त अङ्कका आधारमा बुइपा इलेभेन स्पोर्ट्स क्लब ‘बी’ डिभिजनमा उक्लिन सफल भएको छ । चार अङ्कसहित जन्तेढुङ्गा फुटबल क्लब दोस्रो र तीन अङ्कसहित नमूना स्पोर्ट्स क्लब तेस्रो भएको प्रवक्ता राईले बताए । ‘बी’ डिभिजन लिगमा नुनथला फुटबल क्लबले एक अङ्क मात्र प्राप्त गरेको जनाइएको छ । जिल्ला लिगमा ‘ए’ डिभिजनतर्फ छ क्लब र ‘बी’ डिभिजनमा चार क्लबबीच प्रतिस्पर्धा भएको थियो । गत वर्षको लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ क्लब ‘ए’ र चार क्लब ‘बी’ डिभिजनमा परेका थिए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा वि.सं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले बताए । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल सङ्घले जिल्लाकै इतिहासमा पहिलोपल्ट विसं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । वि.सं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई वि.सं २०७५ मा अस्थायी र वि.सं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको थियो । पूर्वी पहाडी जिल्ला खोटाङले एन्फाको सदस्यता पाएसँगै फुटबल खेल क्षेत्रको विकासले गति लिने अपेक्षा गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय फुटबल खेललाई प्राथमिकतामा राखेर हरेक स्थानीय तहमा खेलमैदान निर्माण तथा प्रशिक्षणको व्यवस्था मिलाइएको छ । हरेक स्थानीय तहमा एक÷एकवटा पालिकास्तरीय तथा हरेक वडामा वडास्तरीय खेल गराउने मिल्ने गरी खेलमैदान निर्माण गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *