संकटमा अस्ट्रेलियाका स्टार क्रिकेटरहरु, स्वदेश फर्किए आफ्नै सरकारले जेल हाल्न सक्छ

डिसी नेपाल
२१ वैशाख २०७८ १०:३१

काठमाडौं। अस्ट्रेलियाका स्टार क्रिकेटरहरु संकटमा परेका छन् । उनीहरु अहिले घर फर्किए उनीहरुलाई आफ्नै सरकारले जेल समेत हाल्न सक्छ । अस्ट्रेलियालाई तीन पटक विश्वकप जिताउने पूर्वकप्तान रिकी पोन्टिङसहित पूर्वकप्तान स्टिभ स्मिथ, स्टार ब्याट्सम्यान डेभिड वार्नर, ग्लेन म्याक्सवेल, प्याट कमिन्सजस्ता राष्ट्रिय टिमका सदस्य र कोच साइमन केटिचसमेत अहिले संकटमा छन् ।

यी सबै खेलाडी र कोचहरु अहिले आइपिएलका लागि भारतमा छन् । पोन्टिङ दिल्ली क्यापिटल्सका कोच हुन् । स्मिथ दिल्लीका, वार्नर हैदराबादका, म्याक्सवेल बैंगलोरका र कमिान्स कोलकाताका खेलाडी हुन् भने केटिच बैंगलोरका कोच हुन् । सिड्नी मर्निङ हेराल्डका अनुसार अहिले भारतमा रहेका कुनै पनि अस्ट्रेलियाली नागरिकलाई आफ्नो देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । यदि अस्ट्रेलियाकै नागरिकले पनि भारतबाट अस्ट्रेलिया जाने प्रयास गरेका उनीहरुमाथि भारी जरिवाना र जेल सजाय समेत हुन सक्छ ।

आइपिएलबाट केही अस्ट्रेलियाली खेलाडी नाम फिर्ता लिएर गइसकेका छन् । अभआइपिएलको यो सिजनमा १४ अस्ट्रेलियाली क्रिकेटर आइपिएलमा खेलिरहेका छन् । म्याथ्यु हेडन, ब्रेट ली, लिजा स्टारलेकजस्ता पूर्व खेलाडीले आइपिएलको कमेन्ट्री गरिरहेका छन् । सिड्नी मर्निङ हेराल्डका अनुसार शुक्रबार राती नाइन न्यूजले सरकारले अहिले भारतबाट अस्ट्रेलिया जानुलाई अपराध मानेको खबर दिएको थियो । समाचार अनुसार भारतबाट अस्ट्रेलिया जानेलाई ६६ हजार डलरसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुन सक्छ ।

भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमण अत्याधिक फैलिएपछि अस्ट्रेलिया सरकारले यस्तो कठोर निर्णय गरेको हो । अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले भने ‘नयाँ प्रतिबन्ध ३ मेदेखि लागू हुनेछ । यो प्रतिबन्धको उल्लंघन गर्नेलाई ५ वर्ष जेल र भारी जरिवानाको सजाय हुनेछ ।’ भारतमा करिब ९ हजार अस्ट्रेलियाली नागरिक छन् । यसअघि अस्ट्रेलियाले भारतबाट जाने सबै उडानलाई १५ मेसम्मका लागि स्थगित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *