गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले के गर्छ? चित्रबहादुर केसीको जवाफ यस्तो छ

डिसी नेपाल
२१ वैशाख २०७८ १५:५४

काठमाडौं। राष्ट्रिय जनमोर्चाका एक जना सदस्य अनुपस्थित भएपछि अनिश्चितकालका लाग स्थगित भएको गण्डकी प्रदेशसभा कहिले बस्छ भन्ने टुंगो लागेको छैन। राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेका छन्। संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ तर प्रदेशसभा अनिश्चित कालका लागि स्थगित भएको छ।

मुख्यमन्त्री गुरुङ पदमा टिकिरहन जनमोर्चाको समर्थन आवश्यक हुन्छ। तर जनमोर्चाले सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारको विपक्षमा मतदान गर्ने बताए।

अहिले एमाले नेतृत्वका कुनै पनि सरकारलाई समर्थन गर्ने पार्टीको नीति नरहेको भन्दै अध्यक्ष केसीले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि हुने मतदानमा विपक्षमा मतदान गर्ने बताए। ‘पुस पाँच गतेको संसद ध्वस्त गर्ने कार्यलाई राष्ट्रिय जनमोर्चाले प्रतिगमन भनेको छ,’ अध्यक्ष केसीले डिसी नेपालसँग भने, ‘प्रतिगनम गर्न केन्द्र सरकारकै रुपमा प्रदेश सरकार पनि लागेका छन्। त्यस कारण अहिले एमाले नेतृत्वमा रहेका प्रदेश सरकारलाई पनि समर्थन गर्न सकिँदैन।’

गण्डकी सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा जनमोर्चा गण्डकी प्रदेशमा विवाद छ। संसदीय दलका नेता कृष्ण थापा वर्तमान सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छन्। तर अर्की सदस्य पियारी थापा वर्तमान सरकारको विरुद्धमा छिन्। केन्द्रले पनि सरकार विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

जनमोर्चाले सरकार विरुद्ध अविश्वासको पक्षमा मतदान गर्यो भने वर्तमान सरकार विस्थापित भएर कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ। कांग्रेसले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई अघि सारेको छ। जसलाई माओवादी केन्द्रको पनि साथ छ।

अध्यक्ष केसीले केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियताको पक्षमा ओलीले दिएको अडानका कारण आफूहरुले समर्थन गरेर सरकारमा सहाभागी भएको भन्दै तर पुस पाँच गते प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमलाई पार्टीले प्रतिगमन ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *