कोरोनाले भयावह स्थिति भएरै बागमती किनारामा शवहरु जलाइएको हो ?

रिता बस्नेत
२४ वैशाख २०७८ ७:११

काठमाडौं। कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या वृद्धि हुनथालेपछि पशुपतिस्थित बागमती नदी किनारमा गत सोमबार शव जलाइएको थियो। नेपालमा आजसम्म कोरोनाबाट मृत्यु भएकाको शव सेनाले व्यवस्थापन गर्दै आएको छ।

उपत्यकामा कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाउने गरिएको छ। कोरोनाबाट मृत्यु भएकाको शव एकैपटक शवदाह गृहमा आइपुग्ने भएकाले नदी किनारमा अस्थायी चिता बनाई शव जलाउन बाध्य हुनु परेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषका अनुसार अरु बेला विद्युतीय शवदाह गृहमा दैनिक १५ वटासम्म शव जलाइन्थ्यो। तर गत सोमबार शवको चाप झन बढेपछि विद्युतीय शवदाह गृहले नधानेर बागमती किनारमा अस्थायी चिता बनाएर अन्त्येष्टि गरिएको थियो।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा.प्रदीप ढकालले कोरोनाका कारण मृत्यु भएकाहरुको शव एकैपटक धेरै आएकाले नदी किनारमा जलाउन बाध्य भएको जानकारी गराए।

उनले भने, ‘हामीसँग भएका तीन वटा विद्युतीय शवदाह गृह चलिराखेका छन्। जुन बागमतीको किनारामा जलाइएको शवहरु छन्, तीनलाई विद्युतीय शवदाह गृहमा जलाउनको लागि लाइनमा धेरैबेर नराखिकन चाडो गर्न जलाइएको हो। कोभिडका कारण मृत्यु भएकाहरुको शवहरु धेरै समयसम्म नराखौं भनेर पनि हो। तत्काल, आउनासाथ जलाउने हिसाबले दाउराबाटै जलाउन थालेका हौं।’

उनका अनुसार विद्युतीय शवदाह गृहमा दुई वटा इलेक्ट्रिबाट र एउटा दाउराबाट जलाउन मिल्ने तीनवटा मेसिन रहेका छन्। त्यस्तै, प्रत्येक मेसिनमा एउटा शव जलाउन एकदेखि डेढ घण्टासम्मको समय लाग्छ।

उनले भने, ‘त्यहाँ दुई वटा विद्युतबाट जल्छ र एउटा चाहीँ दाउराबाट जल्छ। दाउराबाट जल्ने पनि मेसिन नै हो तर त्यसमा दाउरा प्रयोग गरिन्छ र एउटा शव जल्न लगभग डेढ घण्टा लाग्छ। धेरैलाई मेसिनले १५–१६ वटा शव जलाई हाल्छ नि भन्ने पनि हुनसक्छ। हुनत भ्याउछ पनि तर लाइनमा राख्नु पर्छ। दुई तीन वटा जलाइसकेपछि मेसिनलाई सेलाउँदै सेलाउँदै जलाउनु पर्छ। मेसिन हो, फेरि तत्कालै पड्कियो भने समस्या हुन्छ।’

विद्युतीय शवदाह गृहको पूर्वपट्टी बागमती नदीको किनारमा कोरोनाबाट मृत्यु भएकाहरुको शव जलाउन हाल १० वटा स्थायी चिता बनाउन सुरु गरिएको छ। अन्य कारणले मृत्यु भएकाहरुको शव निरन्तर जलाइँदै आइएको ठाउँमा कोरोनाबाट मृत्यु भएकाको शव जलाउने काम नगरेकाले छुट्टै थप चिता बनाउन लागिएको उनले जनाए।

सदस्य–सचिव डा.ढकालले भने, ‘यदि मेसिन बिग्रिएको या अरु प्राविधिक गडबढी भएको अवस्थाको लागि स्थायी चिता बनाउन लागिएको हो। करिब १० वटा शव जलाउन मिल्ने गरी ठाउँ बनाउँदैछौं । काम भइराखेको छ, करिब एक हप्तामा तयार भइसक्छ।’

विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले विद्युतीय शवदाह गृह बिग्रिएर नदी किनारमा शव जलाइएको भन्ने गलत सूचना प्रवाह भएको गुनासो गरे।

उनले भने, ‘इलेक्ट्रिक चलिरहेको छ, शव जलिराखेको छ। बिग्रियो भनेर क–कसले केके लेख्नु भयो त्यो मलाई थाहा भएन। इलेक्ट्रिकले नधानेर धेरै खात लाग्ने भएको हुनाले हामीले खोलामा आर्यघाटको जस्तै चिता बनाएर जलाएको हो। मेसिन अहिलेसम्म निरन्तर चलिराखेको छ।’

उनले हिजो (बिहीबार) राति १२ बजेपछि भने एक नम्बरको मेसिन रोकेर तीन दिनको लागि मर्मतमा राखेको जानकारी गराए। उनका अनुसार एउटा मेसिनले दिनमा १५ वटा शव जलाइराखेको छ।

उनले विद्युतीय शवदाह गृहको क्षमताले धाने पनि एकैपटक कोभिडबाट मृत्यु भएका धेरै शव आएको हुनाले नदी किनारमा व्यवस्थापन गर्नुपरेको बताए।

उनले भने, ‘सधैं शवहरु जलिराखेको ठाउँमा कोभिडले मृत्यु भएकाको शव लगेर डिस्टप गर्नु त भएन नि। किनभने उता त सर्वसाधारणका आफन्तहरु, मलामीहरु आउछन्, दागबत्ती दिन्छन्। त्यसो भएको हुनाले जबर्जस्ती सधैं अन्य शव जलाउने ठाउँमा गर्न मिलेन। केभिडको लागि त मेसिन नै हो।’

प्रमुख कार्कीले कोरोनाका कारण मृत्यु भएकाहरुको शव सोमबारदेखि विद्युतीय शवदाह गृह र नदी किनारमा जलाउँदै आइएको जानकारी गराए।

उनले भने, ‘कसरी हुन्छ म चाँडो शव जलाउने तिर मात्र लागेको छु। मेसिन पनि खाली छैन, नदी किनारमा पनि जलिराखेको छ। त्यसैले मेसिनमा यति र नदी किनारमा यति जल्यो भन्नेमा ध्यान जान सकेको छैन। यहाँ धुलिखेलसम्मका शवहरु आइराखेका छन। आफन्तहरु जान पाउनु हुन्न, हामीले विधिविधान अनुसार शव दाह गरिराखेका छौं।’

उनले भस्मेश्वर घाट तथा विद्युतीय शवदाह गृहबाट गत आइतबार करिब २६, सोमबार ३७, मंगलबार ५६, बुधबार ४८, बिहीबार ५५ शवहरु जलाइसकिएको जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *