विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

डिसी नेपाल
२५ वैशाख २०७८ ११:०५

झापा । झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्।

यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ। नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए। नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन्।

घरघरै अक्सिजन पुरयाउँदै मेचीनगर

यसैबीच, मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ।

वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए।

“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भन्नुभयो, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौं।” गरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताइ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *