कोरोनाले भयावह बन्दै दैलेख

डिसी नेपाल
२६ वैशाख २०७८ २२:०७

दैलेख । दैलेखमा कोरोना भाइरस संक्रमणले भयावह रुप लिँदै गएको छ । पछिल्लो समय कोरोना पोजेटिभ हुनेहरुको संख्या बढेसँगै मृत्युहुने दर पनि बढेको छ । कोरोना पोजेटिभ हुने र मृत्यु हुनेको संख्या बढेपछि स्थिति भयावह भएको हो ।

बैशाख १५ सम्म संक्रमितहरु बढ्ने क्रम सामान्य रहेपनि १५ गते यता नयाँ संक्रमितहरु थपिने क्रम बढ्दो छ । संक्रमित थपिएसँगै मुत्यृदर पनि बढिरहेको छ । आइतबार बिहान मात्रै कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार आइतबार मृत्यु हुने नारायण नगरपालिका–८ का ७० वर्षीय वृद्ध हुन् । पूर्व स्वास्थ्यकर्मीसमेत रहेका उनी केहीदिनअघी मात्र काठमाडौंबाट दैलेख आएको रेग्मीले जानकारी दिए । योसँगै जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । पछिल्लो डेढ सातामा ६ जनाको मृत्यु भएको हो ।

यता जिल्लामा संक्रमणको दर बढ्न थालेपछि दैलेखमा बैशाख २१ गते मंगलबारर राती १२ बजेदेखि लागु हुने गरी जारी गरिएको निषेधाज्ञा जारी नै छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक साताका लागि जारी गरेको निषेधाज्ञा बैशाख २८ गते राति १२ बजे सकिनेछ ।

स्थानिय तहका कर्मचारी सक्रिय

जिल्लाका ११ वटै स्थानिय तहका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । जसले गर्दा त्यहाँ प्रदान गरिने अतिआवश्यक लगायतका सेवाहरु बन्द गरिएको छ ।

भैरवी गाउँपालिकका ३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएपछि बैशाख २३ गतेबाट गाउँपालिका तथा वडाबाट प्रदान गरिने अतिआवश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएपनि कर्मचारीहरु संक्रमित भएका गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन सिलिण्डर सहयोग

कोरोनामा महामारीको रुप लिने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखलाई १५ थान अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा १५ थान अक्सिजन सिलिण्डर सहयोग गरिएको हो । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्तरगत कार्यालयलाई सहयोग गरिएको अध्यक्ष बस्नेतले बताए ।

कोरोना महामारीको समयमा अक्सिजन अभाव हुन नदिन र अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीको ज्यान जोगाउन अक्सिजनले सघाउ पुर्‍याएको कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *