अक्सिजन नभएर संक्रमितको उपचारबाट धमाधम हात उठाउँदै अस्पतालहरु

धनकुमार कार्की
२८ वैशाख २०७८ १७:४५

काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाब भएको छ । कोरोना हटस्पट बनेका काठमाडौं उपत्यका, रूपन्देही, दाङ र बाँकेलगायतका अस्पतालहरुले अक्सिजनको अभाब भएको भन्दै धमाधम बिरामी भर्ना रोक्न थालेका छन् । सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको हो ।

गत शुक्रबार मात्रै भक्तपुरको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा दुई सङ्क्रमितको मृत्यु भएको थियो । त्यहाँ उपचाररत अन्य सङ्क्रमितलालाई रातरात अन्य अस्पतालमा सारिएको थियो । यस्तै, केही दिनअघी दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा पनि अक्सिजन अभावले एक संक्रमितको मृत्यु भएको थियो।

चिकित्सकहरूले कोरोनाको ‘न्यू भेरियन्ट’बाट ग्रसित अधिकांश बिरामीलाई अक्सिजनको जरुरी हुने बताउँदै आएका छन् । अक्सिजनको पर्याप्त उपलब्धता भए मात्र थुप्रै सङ्क्रमितको ज्यान जोगाउन सकिने उनीहरूको भनाइ छ ।

धमाधम बिरामी भर्ना रोक्दै अस्पतालहरु

बैशाख २२ गते बाँकेको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजले अक्सिजन नभएको भन्दै कोरोनाका विरामी अब भर्ना गर्न नसकिने घोषणा गरेको थियो। लर्ड बुद्ध एजुकेशनल एकेडमीद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेजलाई ३०० बेडको कोभिड १९ डेडिकेट अस्पताल बनाइए पनि अक्सिजन नभएको भन्दै विरामी भर्ना गर्न नसकिने अस्पतालले जनाएको हो।

कोहलपुर मेडिकल कलेजलाई ३०० बेडको कोभिड १९ डेडिकेट अस्पताल बनाए पनि अक्सिजन नहुँदा क्षमताअनुसार विरामी भर्ना गर्न नसकिएको अस्पतालले बताएको छ । अस्पतालमा बेड खाली भए पनि अक्सिजन नभएका कारण विरामी भर्ना गर्न नसकिने अवस्था आएको हो ।

शुक्रबार रुपन्देहीको भीम अस्पतालले पनि एक सूचना जारी गरेर कोभिड १९ का बिरामीको अत्याधिक चाप भएकोले अक्सिजन नपुग्ने भन्दै बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको जानकारी दियो।

कोभिडका बिरामीहरुको अत्याधिक चापका कारणले अक्सिजन सप्लाइले नपुग्ने भएकाले हाललाई भर्ना भएका बिरामीलाई अक्सिजन पुर्याउन नसक्ने अवस्था आएको अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।

यो अवस्था अन्य ठाउँमा मात्र रहेन । काठमाडौं उपत्यकामा पनि अक्सिजनको अभाव उतिकै देखिएको छ । अक्सिजनको अभाव भएपछि शनिबार चाबहिल क्षेत्रमा रहेका मेडिकेयर अस्पताल, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर र हेल्पिङ हेण्डस् सामुदायिक अस्पतालले संयुक्त विज्ञप्ति जारी गरी अक्सिजनको चर्को अभाव भएकाले पूर्ण क्षमतामा सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन् । ती अस्पतालले अब नयाँ बिरामी भर्ना लिन नसकिने पनि प्रष्ट पारेका छन् ।

ओम अस्पतालले पनि अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको छ। अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।

 

यस्तै, जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजले पनि मंगलबारदेखि देखि आइसियू‚ इमर्जेन्सीलगायतका सम्पूर्ण सेवा बन्द गरेको छ ।

मेडिसिटी अस्पतालले पनि मंगलबार नै अक्सिजनको अभाव भएको भन्दै नयाँ विरामी भर्ना रोकेको छ। अस्पतालले एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले विरामीको उपचार गर्न नसकिने बताएको हो।

यस्तै, हिमाल अस्पताल, करुणा अस्पताल र युनीभर्सल कलेज अफ मेडीकल साइन्सले पनि अक्सिजन अभावका कारण संक्रमितको उपचारबाट हात उठाएका छन् ।

कोटामा आउने अक्सिजन अपर्याप्त

कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी)ले गर्ने भएको छ । आइतबार मात्र सिसिएमसीले सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन अस्पतालमा सहज उपलब्ध गराउनका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरेको थियो । जसले विभिन्न अस्पताललाई सिलिन्डरको कोटा तोकेको थियो ।

अस्पतालहरुले आफ्नो अस्पताललाई सरकारले तोकेको सिलिन्डरको कोटा माग अनुसार नपुगेको गुनासो गरेका छन् । मेडिसिटी अस्पताललाई सरकारले १ सय सिलिन्डर अक्सिजनकोमात्र कोटा तोकेपनि दैनिक ४–५ सय सिलिन्डर अक्सिजन माग गरहेको अस्पतालले जनाएको छ। अक्सिजनको माग पूर्ति नभएसम्म नयाँ विरामी भर्ना रोकिएको तर, अस्पतालमा भर्ना रहेका विरामी पनि जोखिममा रहेको पनि अस्पतालले बताएको छ।

ओम अस्पताले सरकारको नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकोले बिरामीको उपचारका लागि तत्पर र तिव्र इच्छा हुँदाहुँदै पनि थप बिरामीको उपचार गर्न असमर्थ रहेको बताएको छ।

अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन नदिनु : सर्वोच्च

सर्वोच्च अदालतले जनतालाई आधारभुत स्वास्थ्य सेवाबाट विमुख नगराउन सरकारका नाममा आदेश दिएको छ। सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिँदै आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउन अस्पताल, स्वास्थ्यकर्मी , औषधी र अक्सिजनको पर्याप्त व्यवस्था मिलाउन आदेश दिएको हो।

अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकर लगातयले दायर गरेको रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजसलासले ‘आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरु सञ्चालमा ल्याउनु साथै अस्पतालहरुमा बिरामीहरुको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न अन्तरिम आदेश दिएको हो। अक्सिजन तथा आईसीयूको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेको बेला सर्वोच्चले सरकारका नाममा यो आदेश दिएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *