विश्व नर्सिङ दिवस : परिवार बचाउने कि बिरामी?

तर्कबहादुर थापा
२९ वैशाख २०७८ १४:०२

काठमाडौं। मन्द मुस्कान। मिठो बोली। सेतो कोटमा यता उताको दौडाइ। अस्पतालमा विरामीहरुको रेखदेख र स्याहार सुसारमा हरपलको खटाइ। विरामीका आफन्तहरुलाई सम्झाइ बुझाइ।

उनीहरुलाई देखेर धेरै युवायुवतीले सपना देख्छन् आफू पनि नर्स बन्ने। तीन वर्षको कठोर पढाईपछि हातमा बत्ती लिएर अहोरात्र मानव सेवाको लागि आफूलाई समर्पित गरेका तीनै नर्सहरुको विश्व दिवस आज।

नर्सहरु अहिले कोरोना कहरको सबैभन्दा जटिल समयमा छन्। अस्पतालका शैयादेखि भुँईसम्म छरपष्ट विरामीको चाप। आफन्तहरुको छटपटाहाट। अक्सिजनदेखि आइसियुको याचना सहितका कल। अनुहार र सारा शरीर ढाक्नेगरी लगाउनु पर्ने पीपीई।

पीपीई भित्र अत्याधिक गर्मीले पाकिरहेको ज्यान। नर्सिङ जीवन भोग्नेका लागि अहिले साँच्चिकै कहालीलाग्दो अबस्था छ। पीपीई भित्रका नर्सहरुको भोक प्यास नभनी सेवामा समर्पित हुँदा तस्वीरहरुले आज विश्वलाई नै भावुक र चिन्तित गराएका छन्।

प्यासेन्ट बचाउने की परिवार दुविधामा हुन्छ : ईश्वरी केसी,

ईश्वरी केसी नेपालगञ्जको भेरी अस्पतालकी नर्सिङ अधिकृत हुन्। उनी विगतमा आफैं कोरोना पोजिटिभ भइन्। उनका ससुरा र आमा दुवै जना कोरोना पोजिटिभ छन्। डिसी नेपालसँगको कुराकानीमा इश्वरीले सुनाइन्, ‘ड्यूटीका समयमा नर्स हुन्छु, घरमा विरामी कुरुवा।’

‘घरमा बच्चा पनि छ’ ईश्वरीले थपिन्, ‘परिवारमा भएका बालबच्चा र वृद्धबृद्धालाई कोरोना संक्रमण होला कि भन्ने एकातर्फ पीर परिरहन्छ। अर्को तर्फ जीवन नै निर्सिङमा समर्पित गरेका कारण आफ्नो कतव्र्यबाट भाग्न पनि मिल्दैन। कतिदिन त नर्सिङ जीवनका भोकै र अनिद्रै जानछन् होला।’

राजनीति खिचातानीले कहिलै नर्सको सम्मान भएन  : सावित्री अधिकारी

सावित्री अधिकारीले जीवनका २९ वर्ष नर्सिङ क्षेत्रमा विताएकी छन्। अहिले कीर्तिपुर स्थित चिठुविहार स्वास्थ्य चौकीमा नर्सिङ निरीक्षकको रुपमा कार्यरत उनी नेपालको राजनीतिले नर्सहरुको समस्या कहिलै सम्बोधन गर्न नसकेको बताउँछिन्।

कोरोना महामारीले त्राहीत्राही बनाएका बेला परिवारमा धेरै साना बालबालिका र बृद्धवृद्धा कोही पनि नभएकाले घरमा समस्या धेरै नभएको उनको अनुभव छ।

सावित्रीकी छोरी टेकू अस्पतालमा काम गर्छिन्। छोरा इन्जिनियर छन्। सावित्री भन्छिन्, ‘हामी बुढाबुढी पनि सचेत नै छौं। बेलुका सधैं कोरोनाको महामारीबाट आफू कसरी बच्ने र अरुलाई कसरी संक्रमित हुनबाट बचाउन सकिन्छ भन्ने विषयमा सधै छलफल हुन्छ।’

नर्सहरुले गर्ने दुःख र सरकारको दृष्टिकोण कहिलै पनि नमिलेको उनको भनाइ छ। आफू परिवार र समूदायलाई कोरोनाबाट कसरी बचाउने भन्ने बारेमा छलफल हुने गरेको उनको भनाइ छ।

‘म पनि १२ दिनदेखि कोरोनाको चपेटामा छु,’ उनले भनिन्, ‘दुई पटक खोप लगाउँदा पनि कोरोना पोजेटिभ भयो। आफू घरमा बस्दा समुदायमा कोरोनाको प्रकोप रोक्न म बाट हुने सहयोग कम भयो कि झैं लागेको छ।’

कोभिड संक्रमण फैलिएको यो बेला परिवारका लालाबालासँग काम गर्न गाह्रो छ  : इन्द्रावती धरेल

दुई छोराकी आमा इन्द्रावती धरेल कान्तिबाल अस्पतालको आइसीयूमा काम गर्छिन। बालबालिकामा पनि कोरोनाको दोश्रो लहरले संक्रमण बढ्न थालेपछि उनलाई काम गर्न त्यति सहज भएको छैन।

‘यहाँ कोभिडको विरामीको नजिक नपरे पनि भिजिटरसँग भइन्छ। घरमा बाबुहरुलाई समस्या हुन्छ कि भन्ने पीर लाग्छ,’ धरेलको भनाइ छ।

सेतो कोट लगाउँदा खाएको कसमले अरु नर्सजस्तै इन्द्रावतीलाई पनि बाँधेर राखेको छ। जस्तो सुकै परिस्थितिमा पनि समाजको सेवाका लागि धरेल पनि कोरोनासँगको लडाईकै मैदानमा छिन्।

धरेलका अनुसार अहिलेको जटिल परिस्थितीमा नर्सहरुले समाजबाट उत्प्रेरणा र प्रोत्साहन खोजेका छन्। ‘हामीलाई प्रोत्साह हुनुपर्छ जस्तो लाग्छ। दिन रात नभनेर नर्सहरुले काम गरेका छौं। कति खान, सुन्त नपाएका तस्वीरहरु बाहिरिएको देख्नु नै भएको छ,’ धरेलले भनिन्, ‘यस्तो अवस्थामा सबैको हौसला र सहयोग अत्यावश्यक पर्छ। घरपरिवार, काम गर्ने संस्थाका सहकर्मी, विरामी र उहाँहरुका आफ्न्त सबैले नर्सहरुलाई प्रोत्साहानमात्र गरिदिए पनि धेरै गरेको अनुभव हुन्छ।’

आर्शीवाद र गाली बराबर पाइन्छ : यामु थापा

सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको नेपालगञ्जको नर्सहरुको तस्वीरमा भएका नर्स मध्येकी एक हुन यामु थापा। नर्सिङ पेसामा लाग्दा उत्साह र काम गर्दाको अनुभूति फरक भएको उनको भनाइ छ। उनी भन्छिन्, ‘कामगर्दा आर्शीवाद र गाली बराबर पाइन्छ।’

‘आफूले हेरिरहेको बिरामीलाई ठिक भएपछि हामीलाई पनि उत्साह मिल्छ,’ आफ्नो अनुभव सुनाउँदै थापाले भनिन्, ‘हामीले हेरेको बिरामी निको नहुँदा, ज्यान नै गएको अवस्थामा त हामी पनि दुःखी हुन्छौं नि। बिरामीका आफन्तले त्यो बेलामा कुरा बुझ्नु हुन्न । वहाँहरुलाई लाग्छ हामीले नै मारिदिएको हो। जीवनभर तलाईँ राम्रो नहोस भन्दै सराप्नु हुन्छ। त्यो बेलामा दुःख लाग्छ।’

घरको वातावरण र अस्पतालमा पनि सबैले राम्रो काम गरेका छ भन्दा खुसी लाग्ने गरेको उनले बताइन्। उनी नर्सहरुलाई घरपरिवारमात्र नभएर काम गर्ने स्थान र सरकारले पनि प्रोत्साहन गर्न जरुरी भएको बताउँछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *