११ देशमा राजदूत नियुक्तिको सिफारिस
काठमाडाैं। परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेका दक्षिण कोरिया, श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । ‘लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको छ,’ मन्त्री ज्ञवालीले भने ।
परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा परेका छन् । सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो ।
तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ भने अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छिन् । उनी वामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् । उनी बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजकसमेत हुन् ।
यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर ९जंगब० चौहान प्रस्तावित छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् ।
यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मार र एमाले पार्टीसम्बद्ध पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिसमा परेका छन् । प्राध्यापक संग्रौला झापास्थित सहिद रामनाथ बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा विगतमा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका प्राध्यापक हुन् ।
यस्तै, ब्राजिलमा कुलप्रसाद नेपाल र डेनमार्कमा सुमित्रा सुवेदीको नाम प्रस्तावित छ । नेपाल पाल्पाका पूर्वसांसद हुन् भने सुवेदीको विस्तृत परिचय खुल्न सकेको छैन । नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका अध्यक्षसमेत रहिसकेका मेराज मुसलमान साउदी अरेबियाको राजदूतमा प्रस्तावित छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment