निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पर्सामा ५ जना पक्राउ

डिसी नेपाल
१ जेठ २०७८ २०:११

पर्सा। निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका १० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया नगरपालिका ३ ठेगाना भएका १९ वर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका(४ ठेगाना भएका ३० वर्षीय भोला प्रसाद साह, वीरगञ्ज महानगरपालिका १३ ठेगाना भएका ३० वर्षीय मोहम्द असरफ राइन र भारत विहार वेतिया वैरिया ३ ठेगाना भएका मुन्ना साह रहेका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगको संक्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गर्ने गराउने क्रममा उक्त निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *