विश्वकप छनोटका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा

डिसी नेपाल
२ जेठ २०७८ १९:१९

काठमाडौं । विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरेका हुन् ।

३२ खेलाडीको सूचीमा नेपाली टिमका नियमित सदस्य तथा गोलकिपर विकेश कुथु र मिडफिल्डर तेज तामाङ परेका छै्रनन् । यस अघि एन्फाले निकालेको सूचीमा दुबै खेलाडी थिए । तर, नेपाल सुपर लिग सकिएपछि प्रशिक्षक अब्दुल्लाहले निकालेको नयाँ सूचीमा दुबै खेलाडी नपरेका हुन् ।

यस्तै अजित भण्डारी,संजोक राई, छिरिङ गुरुङ र त्रिदेभ गुरुङ पनि अटाएका छैनन् । चोटका कारण मिडफिल्डर सुजल श्रेष्ठ पनि टिममा परेका छैनन् । सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक टिममा परेका छन् । त्यस बाहेक सुमन अर्याल, पुजन उपरकोटी र नितिन थापा टिममा फर्किएका छन् ।

आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण र विश्वकप छनोट खेलका लागि नेपालले बुधबारबाट प्रशिक्षण थालेको हो । नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग खेल्ने तालिका रहेको छ ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, रजिन धिमाल, गौतम श्रेष्ठ, निशान खड्का, अमित तामाङ, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, विवेक बस्नेत, रवी पासवान

फरवार्ड : भरत खवास, अभिषेक रिजाल, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ, आशिष लामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *