स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट

डिसी नेपाल
२ जेठ २०७८ २१:५४

सुर्खेत। परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि रु छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि रु एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिए।

बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताए।

बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्नेलगायत निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ।

यसैबीच मुख्यमन्त्री शाहीले आइतबार दुईजना मन्त्री नियुक्त गरेका छन्। यसअघि नियुक्त भएर पनि शपथ ग्रहण नगरिँदै हटाइएका सीता नेपाली र गोपाल शर्मा पुनः मन्त्री नियुक्त भएका हुन्। उनीहरु दुबैजना माओवादी केन्द्रका सांसद हुन्। यसअघि विन्दमान विष्ट पनि मन्त्री नियुक्त भएका थिए। तर, उनलाई पुनः नियुक्त भने गरिएको छैन। अझै प्रदेश सरकारमा दुई मन्त्रालय मुख्यमन्त्रीसँगै छन्। ती दुई मन्त्रालयमा काँग्रेसबाट मन्त्री नियुक्त गरिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *