पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा अस्पताल बनाउने गरी कोरोना उपचार केन्द्र बनाउँदै

रिता बस्नेत
४ जेठ २०७८ १३:०१

काठमाडौ। नेपालमा पछिल्लो दोस्रो लहरको कोरोना संक्रमणले धेरै नै मानवीय क्षति भइरहेको छ। संक्रमितको संख्या बढेसँगै देशका मुख्यमुख्य सहरका अस्पतालमासमेत अक्सिजन, बेड आदिको अभाव भएका कारण धेरै मानिसहरुले अनाहकमा मृत्युवरण गर्नुपरेको छ।

यतिबेला नेपालीहरु देश विदेशबाट एकजुट भएर सम्बन्धित ठाउँहरुमा आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरिराखका छन्। विभिन्न जिल्लामा भएको कोरोनाको अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित जिल्लाका सम्बन्धित व्यक्तिहरुसमेत कोरोना संक्रमितको लागि फिल्डमा गएर खटिइराखेका छन्।

पछिल्लो समय कोरोनाको भयावहस्थितिलाई मध्यनजर गर्दै आफू जन्मेहुर्केको जिल्ला सिन्धुपाल्चोकका जनताको सेवा, सुरक्षाको लागि पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत समेत कोरोना संक्रमितको लागि आफै फिल्डमा खटिइराखेका छन्।

हुनत त पहिले देखिनै मान्छेलाई आपत विपत पर्नासाथ उनीहरुको सेवा सुविधा र सहयोगको लागि जुटिहाल्ने पूर्वमन्त्री बस्नेतले नेपालमा कोभिड–१९ को माहामारीको पहिलो चरण सुरु हुनासाथ अर्थात् देशमा लकडाउन भएको भोलिपल्टै सिन्धुपाल्चोक जिल्लाको सबै अस्पताल, स्वास्थ्य केन्द्र, उपस्वास्थ्य चौकी आदिमा स्वास्थ्य सामाग्री वितरण गरेका थिए।

त्यस समयमा काठमाडौंका वीर र टिचिङ्ग जस्ता अस्पतालमा पिपिई सेटहरु नपाइरहेको अवस्थामा उनले भने विदेशबाट मगाएर सिन्धुपाल्चोकका सबै स्वास्थ्य चौकीहरुमा पिपिईलगायतका स्वास्थ्य सामाग्री पुर्याएका थिए। उनकै पहलमा जिल्लाका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री बाडिएको थियो।

उनले स्वास्थ्यकर्मीहरुको हौसला बढोस् भनेर त्यहाँका ६१६ जना स्वास्थ्यकर्मी र सबै एम्बुलेन्स चालकको कोरोना बिमा गराइदिएका थिए। नेपाली कांग्रेसको खेलकुद विभागको प्रमुखसमेत भएका पूर्वमन्त्री बस्नेतले ओलम्पिकमा छानिएका खेलाडी र प्रशिक्षकहरुको पनि कोरोना बीमा गरिदिएका थिए। उनका अनुसार उनीहरुले पोजेटिभ देखिना साथ एक लाख रुपैयाँ प्राप्त पनि गरे।

कोरोनाको पहिलो लहर आउनासाथ जनताको लागि राहत, स्वास्थ्य सेवा र सुरक्षामा खटिएका उनी आफूले गरेको सेवाको काममा सत्तापक्षबाट भने धेरै अवरोध आएको दुखेसो गर्छन्। तरपनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, विभिन्न संघ संस्था, देश विदेशमा रहेका व्यक्ति आदिको सहयोगले गर्दा कोरोना संक्रमितको लागि काम गर्न पाएकोमा गर्व लागेको बताउँछन्।

यतिबेला फेरि कोभिडको दोस्रो लहरमा संक्रमण र मृत्युदर बढेसँगै यसको दीर्घीकालीन समस्या समाधानको लागि उनी लागिपरेका छन्। उनी भन्छन्, ‘कोरोना सुरु हुनासाथ सरकारले बेलैमा सावधानी अपनाउनु पथ्र्यो। अघिल्लो कोरोनामा हामीले आफूले पनि काम गर्दै गयौं र सरकारलाई पनि भन्दै गएका थियौं। यो महामारीमा सरकार अभिभावक भएर जिम्मेवारीपूर्ण ढंगबाट प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन। अहिले संक्रमणको अवस्था धेरै गम्भीर भएको छ।’

सरकारले ७७ वटै जिल्लामा कोभिड उपचार केन्द्र, अक्सिजन प्लान्टहरु खोल्नु पर्नेमा उनी जोड दिन्छन्। उनी भन्छन्, ‘सरकारले उद्योगपतिलाई बोलाएर लोन दिएर भएपनि अक्सिजन प्लान्ट खोल्ने कुरामा प्रोत्साहन गर्नुपर्यो। ठूला २–४ वटा सरकारी अस्पताललाई मिलाएर सरकारले अनुदान दिएर अक्सिजन प्लान्ट खोल्ने र प्राइभेट अस्पतालहरुमा ५० प्रतिशत अनुदान आफूले व्यहोर्ने गरी अक्सिजन प्लान्ट चलाउनु पर्यो र विदेशबाट जसरी भएपनि तीन लाखभन्दा बढी सिलिण्डर यहाँ ल्याउनु पर्यो।’

उनी देशका सबै स्थानीय निकाय, प्रदेश, केन्द्रीय सरकार परिचालित भएर आ–आफ्नो क्षेत्रमा खटिन सबैलाई आग्रह गर्दै भन्छन्, ‘असल कामको सुरुवात गर्न सरकारको मुख मात्रै ताकेर हुँदैन। जनता हामी आफै बस्तीबस्तीबाट उठेर पार्टी, नेता, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवि, पत्रकार, नागरिक समाज जोसुकै होस् अब सम्पूर्ण नेपालीहरु एक ढिक्का भएर कोभिडको महामारीमा नेपाली जनतालाई जोगाउन लाग्नुपर्छ।’

सबै मिलेर संक्रमण फैलावटलाई रोकौं भन्ने कुरा उनले सुरुमै विज्ञप्तिमार्फत र विभिन्न मिडियामार्फत सार्वजनिक नगरेका पनि होइनन्। तर, त्यसलाई सरकारले बेवास्ता गरेको र विभिन्न निकायको लापर्वाहीले गर्दा पछिल्लो समयमा कोरोना संक्रमणले विकराल रुप लिएको उनी गुनासो गर्छन्।

मानव जीवनका लागि धेरै नै उदाहरणीय काम गर्दै आएका नेता बस्नेतले पछिल्लो समय सिन्धुपाल्चोक जिल्लामा संक्रमितको लागि अक्सिजनसहितका सय वटा बेड भएको अस्थायी कोरोना उपचार केन्द्र स्थापना गर्दैछन्।

उनी भन्छन्, ‘आफैले सुरु गर्नुपर्छ भनेर मैले हाललाई अक्सिजनसहितको सय वटा बेड र पछि पिसिआर मेशिनहरु राख्ने र अक्सिजन प्लान्टसमेत जिल्लामै तयार गर्ने हिसाबले काम अगाडि बढाएको छु।’

उनका अनुसार सुरुमा अस्थायी बिल्डिङ्गहरु अर्थात् टेन्टमा राखेर भएपनि अहिले सय बेडको कोरोना उपचार केन्द्र तत्काल सुरु हुँदैछ। त्यसको लागि अक्सिजनहरु विदेशबाट झिकाइसकिएको र टेण्टहरु पनि तयारी अवस्थामा रहेको छ। बेडहरु व्यवस्थापन भइसकेको उक्त उपचार केन्द्र अब कुन ठाउँमा राख्ने भन्ने विषयमा भने चाँडै टुङ्गो लाग्ने उनले जानकारी गराए।

उनका अनुसार सो कोरोना उपचार केन्द्रलाई भविष्यमा सरुवा रोग उपचार केन्द्रको रुपमा विकास गर्ने गरी काम सुरु हुनेछ। उनले भने, ‘कोभिडको पनि ठेगान छैन, अहिले चाहीँ वैज्ञानिक, विज्ञहरुले सातौं चरणसम्म पनि घुमिफिरी आउन सक्छ भन्ने कुरा गरेका छन्। तर यतिबेला कांग्रेस, कम्युनिष्ट आदि इत्यादि नभनि सम्पूर्ण नेपाली एक ढिक्का भएर कोरोनाको विरुद्धमा लड्नु पर्छ भन्ने हिसाबले यो कार्य गर्न लागेको हो।’

उनको अनुसार सय बेडको व्यवस्थित तरिकाले अहिले तत्कालै टेन्टमै उपचार पद्धती सुरु गर्ने र दीर्घकालीनको लागि भने सुविधासम्पन्न भवन, साधनहरु राखेर अगाडि बढाइने छ। जुन भवन बनाउनको लागि जग्गा समेत हेरिसकेको उनले जानकारी गराए।

उनको सो कामप्रति उत्साहित भएर यतिबेला देश विदेशबाट व्यक्ति, कलाकार, व्यवसायी आदिले फोन गरी धन्यवादका साथै हातमा हात मिलाएर अघि बढ्ने बचन दिएको सुनाए। उनले भने, ‘अमेरिका, क्यानाडा र खाडी मुलुकबाट पनि धेरैले व्यक्तिगत रुपमा फोन गरेर तपाईंको यो राम्रो कामको लागि सहयोग गछौं भनिराख्नु भएको छ।’

मानिसलाई साह्रोगाह्रो पर्दा अघि सरिहाल्ने स्वाभावका नेता बस्नेतलाई कोभिड नियन्त्रणको लागि सरकारले के गर्दै हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नमा उनी यसो भन्छन्, ‘मैले जुन अक्सिजन प्लान्टको अवधारणा अगाडि सारेँ, जिल्लाजिल्लामा कोभिड उद्धार केन्द्र खोल्नुपर्ने आफ्नो धारणा धेरै पहिला अगाडि सारेको थिएँ। जसलाई सरकारले ध्यान दिएर गर्नुपथ्र्यो। हामीले प्लानिङ्ग गरेर गयौं भने कोरोना नियन्त्रण गर्न सक्छौं। संसारभरिका कतिपय साना देशहरुले पनि नियन्त्रण गरेका छन्। तर, कतिपय ठूला देशहरुले कोभिडलाई बेवास्ता गरेका कारण असफल भएका पनि छन्। त्यसैले नेपालले पनि असावधानी अपनाएका कारणले रोकथाममा फेल भएको छ। यी कुरामा ध्यान दिनुपर्छ।’

चाहे भुईंचालो जाँदा होस् या बाढी पहिरो अथवा अहिलेको कोरोनाको कारणले मानव क्षतिको घटना नहुन दिनको लागि गम्भीर भएर साथ र सहयोग जुटाउँदै सेवा, सुरक्षामा खटिने नेता बस्नेतले सिन्धुपाल्चोकमा धेरै उदाहरणीय कामहरु गर्दै आएका छन्।

उनले यसअघि बाढी पहिरोले अभिभावक गुमाएका बालबच्चाहरुलाई स्कुल कलेजमा पढादिइराखेका छन्। उनी भन्छन्, त्यसबेला मैले विभिन्न संघ संस्थाका साथीभाइहरुलाई गुहारेर ति बच्चाहरुलाई निःशुल्क पढाउन पहल गरे र अहिले उनीहरु पढिराखेका छन्।’

नेपालमा पहिलो पटक कोरोनाले मृत्यु भएकी नौ दिनकी सुत्केरी सिन्धिुपाल्चोक जिल्लाकी सावित्री तिमल्सिना (चालिसे) हुन्। पहिलो पटक कोरोनाबाट मृत्यु भएकी चालिसेको परिवारलाई सहयोग गर्ने उनै बस्नेत हुन्। उनले त्यसबेला चालिसेको बच्चालाई पौष्टिक आहारको लागि भनेर एक लाख रुपैयाँ धुलिखेल हस्पिटलमा गएर दिएका थिए। साथै, नेता बस्नेतले त्यो बच्चाको पालन, पोषणमा लाग्ने खर्च, उसको उच्च शिक्षासम्मको खर्च र रोजगारीको समेत जिम्मा लिएका थिए।

सावधानी अपनाउदा र सरकारले विशेष ध्यान दिँदा कोरोना नियन्त्रणमा आउनसक्ने कुरा भएको बताउने उनको कामप्रति उत्साहित भएर पछिल्लो समयमा विभिन्न जिल्लामा विभिन्न नेता, व्यक्ति, व्यवसायी आदिले कोरोना नियन्त्रणको लागि सहयोगको हात अगाडि बढाएका छन्। सोही कुराप्रति खुशी हुँदै उनी भन्छन्, ‘आज धेरै पक्षीयबाट यो काम गर्न अघि सराइएकोमा अर्थात् समाजसेवी, बुद्धिजीवि र राजनीतिक क्षेत्रका मान्छेहरु अगाडि सरेकामा सबैलाई आभार प्रकट गर्छु र धन्यवाद पनि भन्छु।’

सय बेडको कोरोना उपचार केन्द्र कहिलेसम्म बनिसक्छ भन्ने प्रश्नमा भने उनी यसो भन्छन्, ‘सकेसम्म चाँडै बन्छ, तरपनि एक महिनाको समय राखेको छु, किनभने मैले बोलेको कुरा आजसम्म इतिहासमा काहीँ पनि नभएको छैन। बोलीमा दम, ठेगान हुनुपर्ने भन्ने मान्छे भएको हुनाले मैले बोलेको समय चाहीँ यो जेठको अन्तिम हो तर त्यो भन्दा अगाडि पनि हुन सक्छ।’

कोरोना उपचार केन्द्र सकेसम्म जिल्लाका जनताहरुलाई सुविधा हुने ठाउँका बनाउने र त्यसका लागि स्वास्थ्य विशेषज्ञ र टिमका साथीहरुसँग सल्लाह गरेर संचालन गर्ने उनले जनाए।

सो उपचार केन्द्रको लागि टिम बनाएको पनि उनले जानकारी गराए। टिमबारे प्रष्ट्याउन नचाहेका उनले भने, ‘टिमको बारेमा जुन दिन सुरुवात हुन्छ त्यो दिन भन्छु। किनभने यहाँ त सहयोग गर्ने मान्छेहरुलाई अन्य पक्षको मान्छेले भाडादिन्छन्। जस्तो एकवर्ष अगाडि मैले पिसिआर मेसिन राख्छु भनेर पिसिआर मेसिन जडान गर्ने इन्जिनियरहरुलाई लिएर गएको थिए, बाह्रबिसे अस्पतालमा। तर नेता कार्यकर्ता लागेर त्यहाँको मेयरलाई उचाली राख्न दिइएन। र, अहिले पनि यो टिमले सहयोग गर्छ भन्यो भने भाड्छन। त्यसैले हामी एकैचोटी काममा आएपछि मात्रै यि कुराहरु सार्वजनिक गर्छौं। त्यसकारण हाम्रो टिममा को को छ भन्ने कुराहरु अहिले नै खोलिहाल्दिन। र, सबै साथीभाइहरुले उर्जा दिएको कारणले यो काम सम्भव छ।’

अहिले सिन्धुपाल्चोकमा कोभिड संक्रमितको संख्या पाँच सय नाघिसकेको छ। केही मानिसहरु अक्सिजन नपाएर बाटैमा मरेका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या बढिराखेको छ। त्यस्तै, त्यहाँ संक्रमितहरु पनि थपिँदै गएका छन्। जसलाई मध्यनजर गर्दै नेता बस्नेतले आफ्नो निजी गाडी सधैंको लागि बिरामी बोक्ने एम्बुलेन्स बनाइदिएका छन्।

गाडीको असुविधाको कारणले त्यहाँ उपचारको लागि अस्पतालमा समयमै आउन नसक्ने अवस्थालाई मध्यजनर गर्दै अहिले नेता बस्नेतले आफ्नो एउटा गाडी कोभिड र नन कोभिडका बिरामी ओसार्नको लागि फिर्ता नलिने गरि दिएको बताए। उनले सो गाडी एक वर्षसम्म सबै बिरामीले निःशुल्क सेवा पाउने, ड्राइभरलाई पनि एक वर्षको तलब भत्ता दिएर व्यवस्था गरिदिएका छन्। उनका अनुसार संचालक समिति बनाएरै उनले त्यहाँको जनतालाई निःशुल्क गाडी सुविधा दिएका हुन्।

त्यस्तै सिन्धुपाल्चोकमा अन्य दुई वटा गाडीहरु पनि तयारी अवस्थामा राखिएको छ। उनका अनुसार क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र रामचन्द्र थापाको गरी अरु दुईवटा गाडी पनि बिरामीको लागि तयारी अवस्थामा राखिएको छ। उनका अनुसार जिल्लामा अहिले नेपाली कांग्रेसको मात्रै चार वटा गाडी बिरामी बोक्ने प्रक्रियामा तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी, कोभिडका बिरामी बोक्ने गाडीहरु बिग्रिएको अवस्थामा सिन्धुपाल्चोकको अरनिको राजमार्गको हाइवेमा रहेको कुमार (अधिराजकुमार) बस्नेतको कारखानामा निःशुल्क मर्मत गरिदिने समेतको व्यवस्था गरेको उनले बताए। उनले भने, ‘यसरी हामी सबै लागिराखेका छौं। यो काम गर्दा सम्बन्धित निकायहरुसँग समन्वय गरेर काम गर्छौं र गरिराखेका छौं।’

पछिल्लो समयमा विदेशमा रहेका नेपालीहरुले गरेको सहयोगप्रति आभार प्रकट गर्दै उनी भन्छन्, ‘नेपालीहरुको मन संसारभरिका नागरिकहरुको भन्दा राम्रो छ। खाडी मुलुकका जनताले ४५ डिग्रीको गर्मीमा काम गरेर आफ्नो देशमा केही सुधार होस भनेर अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्रीहरु पठाएका छन्। म त भन्छु यसबाट सरकार पनि घच्घचियोस, आँखा खुलोस् र जनताको जिउ ज्यान जोगाउन अग्रसर होस्।’

काम गर्न चाहने जो कोही एकीकृत भएर कोरोना संक्रमणविरुद्ध जुट्नुपर्ने धारणा राख्दै उनी भन्छन्, ‘आ–आफ्नो ठाउँबाट हामी सबै मिलेर गर्दाखेरी केही हुन सक्छ भन्ने मलाई लाग्छ। हामी सबै एक ढिक्का भएर यो पार्टी, त्यो पार्टी, सरकारमा बसेका हौं या बाहिर बसेका हौं आदि इत्यादि नभनि सम्पूर्ण नेपालीहरु मिलेर यो कोभिडबाट बचाउन लागिपनुपर्छ। मुख्य कुरा सरकारको यसप्रति आँखा खुल्नु पर्यो।’

उनी आफ्नो पार्टीका मान्छे राम्रा र अर्को पार्टीका मान्छे नराम्रा नभनिकन सरकारलाई सके गर्नु नसकेको अरुले गरेको काममा बाधा, विरोध र अवरोध नपुर्याउन आग्रह गर्दै भन्छन्, ‘अक्सिजन, भेन्टिलेर, बेड, उपचार नपाएको कारणले नेपालीहरुको अनाहकमा मृत्यु हुन दिनु भएन । र, यसका लागि कसिएर सबैजना लागिपर्नु पर्यो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *