अस्पतालमा ठाउँ नपाएपछि घरमै बसेर बाँच्ने आश

डिसी नेपाल
४ जेठ २०७८ २२:४४

दुल्लु । गत वैशाख २८ गते पखाला लाग्ने, ज्वरो आउने र शरीर भतभती पोल्ने भएपछि नारायण नगरपालिका–२ का ५८ वर्षीय नमराज थापा थला नै परे । निजामती सेवाबाट हालै निवृत्त उनी त्यसपछि घरमै छुट्टै कोठामा बस्न थाले । आफूलाई कोरोना संक्रमणले समातेको हुनसक्ने आशङ्काले त्यो रात कष्टकर भएपनि परिवारका अन्य सदस्यको सहयोगविना कटाए ।

भोलिपल्ट सकीनसकी दैलेख बजारमा परीक्षणका लागि गए । छोराछोरी अन्यत्रै जागिरमा रहेको घरमा ९४ वर्षीय आमा र श्रीमती मात्रै हुँदा उनी पोजेटिभ भई थप गाह्रो आफूलाई गाह्रो भएमा कसरी व्यवस्थान गर्ने भन्ने चिन्तामा थिए । नभन्दै रिपोर्ट पोजेटिभ आयो तर उनले मनोबल उच्च नै बनाए। केहीदिन पछि घरमा औषधि लिएर छोरा पनि आइपुगेपछि उनले अब छोराले मर्न दिन्न भन्ने आशा गरे । उनले जिल्ला अस्पतालमा भर्ना हुनका लागि धेरै पटक सम्पर्क गरे तर ठाउँ भएकाले घरमै बस्न भनियो । उक्त अस्पतालमा भेन्टिलेटर र अक्सिजनको अभाव छ ।

उनका जेठा छोरा सुन्दर थापाले आफूले मेडिकलबाट काठमाडौकै चिकित्सकसँग फोनमा सल्लाह लिएर औषधि ल्याएकाले सहज भएको बताए । सरकारले सङ्क्रमितको तथ्याङ्क सङ्कलनमा मात्रै ध्यान दिएको तर सबै बिरामीलाई ध्यान दिन नसकेको गुनासो गरे ।

थापा मात्र होइन नाम बताउन नचाहने जनता मावि, दैलेखका एक शिक्षक आफूलाई कोरोनाको शङ्का लागेर अस्पतालमा पीसीआर गर्न जाँदा परीक्षण गर्न नपाइएको गुनासो गर्छन् । घरमै एक्लै बस्न र आफै उपचार गर्न भनेर फर्काइयो । जिल्लामा करीब एक हजार जनालाई पोजेटिभ देखिए पनि अस्पतालबाट घरमा पठाइएको छ । यसले समुदायमा सङ्क्रमण फैलने त्रास बढेको छ ।

जिल्ला अस्पतालका कोरोना फोकल पर्सन तथा सूचना अधिकृत थिरप्रसादले होम आइसोलेशनमै बसेर ठिक हुन सक्नेका लागि अस्पतालमा राख्न नपर्ने बताए । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सङ्क्रमित भई होम आइशोलेसनमा बसेका र निको भएकाको परीक्षण गर्न निर्देशन दिने जनाए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *