व्यग्य : तुरुन्तै प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश

डिसी नेपाल
८ जेठ २०७८ ७:४७

महामहिम राष्ट्रपति !
राष्ट्रपतिको कार्यलय !
शितल निवास । काठमाडौ ।

महोदय ,

उपरोक्त सम्बन्धमा, बेलुकाको भात खाएर यसो सुत्न लागेको थिएँ। शितल दरवारबाट, महामहिमले आह्वान गरेको तात्तातो सूचना भ्याट्ट आँखामा पर्याे। संबिधानको खै कुन चाँही   धारानुसार प्रधानमन्त्री हुन आउनु भनेर  राष्ट्रपतिले ढ्वाङ फुक्नु भएको रहेछ।

त्यो पनि कट्टु र सेन्डो मात्रै लाउन पुग्ने समय दिएर। दौरा र सुरुवाल ,टाई र प्यान्ट जख्न थाल्दा, त्यसमा म्याच हुने जुत्ता हुल्न थाल्दा त यसै पनि समयले पुग्दैन थियो। त्यस माथि भर्खरै भात खाएकाले ज्यानमा ढुसुढुसु निन्द्रा लाग्न सुरु गरिसके छ।

गोर्खे दौरा र भाते निन्द्राले गर्दा आफू स- शरीर उपस्तिथ हुन नसके पनि अहिलेलाई यो निवेदन मार्फत महामहिमका सामुन्ने भावी प्रधानमन्त्रीका निम्ति आफ्नो दावी पेस गर्दैछु ।

महामहिम ,

यो दाबी पेश गर्दै गर्दा , महन्थजी र महतोजीहरु शितलनिवास पुगिसकेको भनेर भ्याट्ट कानमा पर्याे। उहाँहरु आउँदैमा मेरो दाबीलाई अस्विकार नगर्न, म, महामहिमका चरणकमलमा बिनम्र अनुरोध गर्दछु।

उहाँहरु, भातको सट्टा रोटी र दौराका ठाँउमा धोती लगाउनु हुन्छ। जुत्ताका ठाँउमा फ्यास्स हाल्न मिल्ने चप्पल लगाउनु हुन्छ। त्यसैले तुरुन्तै आइपुग्नु भयो। उहाँहरुलाई यो पटक आफ्नो मौलिक पहिरनले फाईदा पुग्यो।

मलाई गोर्खे दौराका खुट्टाका बाउला अलि आँघुरा भएछन् , जसले गर्दा धोका भयो। त्यसैले महामहिमले उपलब्ध गराएको समयसीमा आउन म असमर्थ भएँ।

महामहिम ,

वास्तवमा ,धोती जुन छ, त्यो लगाउने ममलामा सारै सजिलो छ। सारी जस्तै। तर , त्यसमा पेटिकोट हुन्न। म्याचिङ ब्लाउजको झन्झट नि हुँदैन। ती नभएकाले र पुरुष नाथेले लाउनी हुनाले एकदम झन्झटरहित हुन्छ। हावा पनि सबैतिर खेल्न पाउछ। सर्बत्र सितलता प्रदानगर्छ त्यसमा, न इजाँरको झन्झट हुन्छ, न तुनाको लफडा। न टाइ जस्तो तीन पाली सुर्काने कस्न पर्ने , न सुटमा जस्तो आइरन र फाईरन चाहिने।

आफू सिंगै धोती भित्र खुत्रुक्क छिरो , खुट्टा मुन्तिरबाट धोतीको फेद जुरुक्क उचालेर कम्मरमा गाँठो पस्यौटो बनायो। अनि माथि एउटा कमिज हुल्यो। तल एकजोर चप्पल लायो र हिँड्यो। खासमा ,महामहिमले दिएको समयसीमा जति थियो,  त्यसमा त्यही धोती र चप्पल लाउन भ्याइन्थ्यो।

मेरो सबैभन्दा ठूलो योग्यता भनेको, म पनि झापाली नै हुँ र मलाई गफै नाथे जति पनि आउँछ। म आफ्नो कार्यकाल भरी उखान र टुक्काको कहिले कमि हुन दिने छैन। जनताहरु रोगले छट्पटी गर्दै गरेका बेला पनि रमाइला / रमाइला कुरा गरेर हासाउन ,म, समर्थ छु। ती भोक भोकै भए पनि , तिनले अध्यारो मुख कहिलै लाउनु पर्ने छैन। म, तिनका चाउरेका गालाबाट मुस्कान ओझेल पर्न कहिलै दिने छैन।

दौरा सुरालको लफडा गर्न थाल्दा ट्याम पुग्दैन थियो। त्यसैले , धोती लाउन लाग्ने टायम र रापको समयसीमा ठ्याक्क मिल्ने भएकले मात्रै महन्थजी र महतोजी पहिला शितल निवास पुग्नु भएको हो। अन्यथा, यो पटक प्रधानमन्त्रीको असली दाबेदार म हुँ। महामहिमले यो बिषयमा पुनर्विचार गरिदिनु होला ।

सधैं जस्तो तातै खाम , जल्दै मरम नगर्नु होला । हतारको काम लतार हुन्छ ।

महामहिम,

मलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा केही गम्भीर संबैधानिक , कानुनी र नैतिक प्रश्नहरु उठ्न सक्छन् । मलाई थाह छ , म संसद सदस्य होइन। प्रतिनिधिसभाको सदस्य नभई, प्रधानमन्त्री हुन पाइँदैन । तर , त्यस्ता नाथे प्रश्नसँग तपाईं डराउनु हुन्न भनेर इतिहास साच्ची छ। त्यसैले यस्ता प्रश्नहरू कसैले उठाए , यो पटक तपाईं नै “त्यो पर्दैन” भन्नुहोला , म हि-हि गर्दिहाल्छु। त्यति गर्दा पनि सर्बोच्चमा रिट परेछ भने, पछि अध्यादेश ल्याएर मर्मत गरौंला ।

महामहिम ,

अब, म , तपाईंलाई मेरो प्रधानमन्त्री हुने योग्यताका बारेमा थोरै अबगत गराउन चहन्छु। मेरो सबैभन्दा ठूलो योग्यता भनेको, म पनि झापाली नै हुँ र मलाई गफै नाथे जति पनि आउँछ। म आफ्नो कार्यकाल भरी उखान र टुक्काको कहिले कमि हुन दिने छैन। जनताहरु रोगले छट्पटी गर्दै गरेका बेला पनि रमाइला / रमाइला कुरा गरेर हासाउन ,म, समर्थ छु। ती भोक भोकै भए पनि , तिनले अध्यारो मुख कहिलै लाउनु पर्ने छैन। म, तिनका चाउरेका गालाबाट मुस्कान ओझेल पर्न कहिलै दिने छैन।

महामहिम ,

खासमा भन्ने हो भने , मलाई पनि थाह नभएको बिषय खासै केही छैन। रामायणदेखि मार्क्सवादसम्म मलाई सबै आउँछ। इङलिस, हिन्दी, संस्कृत सबै फरर आउँछ। बेसारको महत्वदेखि , अम्बाका पातदेखि जरैसम्मको महात्मे मलाई नि कन्ठै छ। कोरोनाशास्त्रमा त मैले ,अब अर्को पिएचडी पाउन मात्रै बाँकी छ। कुन्दिन कस्ले भिराउने हो ठ्याक्कै मिति मात्रै थाहा नभएको हो।

त्यसैले,

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान २०७४ को धारामा भए , त्यही धारा अनुसार , नभए पनि पछि धारा र दफा मिलान गर्ने गरि तुरुन्तै मलाई प्रधानमन्त्रीमा नियुक्त गर्न यो दाबी पेश गरेको छु।

मिति २०७८ जेठ -६ गते । रोज ६ शुभम ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *