न्यू इयर पार्टीमा सामूहिक बलात्कारपछि एयरहोस्टेसको मृत्यु, ११ जना आरोपीलाई सफाइ

डिसी नेपाल
८ जेठ २०७८ १४:१२

काठमाडौं। सन् २०२० को अन्तिम रातमा आयोजित न्यू इयर पार्टीमा सामूहिक बलात्कारमा परेर ज्यान गुमाएकी एक एयरहोस्टेसलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाइएका ११ जनालाई सफाइ दिइएको छ । ती एयरहोस्टेसको शव होटलको कोठाको बाथटबमा फेला परेको थियो । पीडित एयरहोस्टेस क्रिस्टिन एन्जेलिका डासेरा फिलिपिन्सको माकातीस्थित सिटी गार्डेन होटलको कोठामा नयाँ वर्षको दिन मृत फेला परेकी थिइन् ।

२३ वर्षीया क्रिस्टिनलाई अस्पताल लगिएकोमा उनलाई मृत घोषित गरिएको थियो । त्यसपछि पुलिसले त्यस रात उनीसँग भएका ११ जनालाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई भने पक्राउ गरेलगत्तै थप अनुसन्धान जारी राख्नेगरी छाडिएको थियो । अहिले माकाती सिटी प्रोसिक्युटर कार्यालयले यी ११ जनाविरुद्धको मुद्दा ‘सम्भावित कारणको अभाव’ भएको भन्दै खारेज गरेको छ ।

सिएनएन फिलिपिन्सले प्राप्त गरेका कानुनी दस्तावेजका अनुसार असिस्टेन्ट प्रोसिक्युटर जोन सान्तिलानले यो केसमा प्राप्त प्रमाण यसलाई बलात्कार हत्या वा बलात्कारको साथमा हत्या ठहर गर्नको लागि पर्याप्त नभएको बताएका छन् । आरोपीहरु सबैले आफूमाथि लागेका आरोप अस्वीकार गरेका थिए ।

रिपोर्टका अनुसार नेशनल ब्युरो अफ इन्भेस्टिगेसनमा अर्को छुट्टै उजुरीमा भने अनुसन्धान भइरहेको छ । यसअघि पीडितकी आमा शारोनले फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेसँग न्यायका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । ‘म यस्तो अरु कुनै महिलासँग होस् भन्ने चाहन्न’ उनले भनिन् ‘क्रिस्टिन यो क्रुरताको लायक थिइनन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *