कोरोना भाइरसको भेरियन्टहरु देखिनु सामान्य प्राकृतिक प्रकिया हो

डिसी नेपाल
९ जेठ २०७८ ६:३६

कोरोना भाइरसले हाम्रो शरीरको कोषहरुलाइ संक्रमण गरेपछि तिनीहरुको गुणा हुने प्रक्रिया सुरु हुन्छ। यसरी गुणा हुने प्रक्रियामा केही साना साना गल्तीहरु हुन सक्छन जसले गर्दा भाइरसको आनुवंशिक बनावटमा केही परिवर्तन देखिन सक्छ। यस्ता परिवर्तनसहितका भाइरसलाई भेरियन्ट भनेर भनिन्छ। यो भनेको भाइरस नै पुरै बदलिएको भन्ने होइन।

कोरोना भाइरसको भेरियन्टहरु देखिनु कुनै नौलो, पहिले कहिल्यै नभएको, अचम्म मान्नुपर्ने, हुनै नसक्ने वा आम जनमानसले आत्तिनुपर्ने कुरा नभई भाइरसहरुमा हुने विकासको साधारण प्राकृतिक प्रक्रिया नै हो।

कोभिड गराउने कोरोना भाइरसको पनि सयौं भेरियन्टहरु भेटिइसकेको छ । यसरी बन्ने धेरैजसो भेरियन्टहरुको कुनै महत्व हुँदैन र ती आफैं हराएर जान्छन्। तर केही भेरियन्टहरु भने महत्वपूर्ण हुन सक्छन्|

तिनीहरुमा भएको परिवर्तनले गर्दा तिनीहरु मान्छेमा सजिलै सर्ने अथवा गम्भीर किसिमको रोग लगाउने प्रकृतीका बन्न सक्छन्। कुनै भेरियन्टहरु भने अहिले उपलव्ध परीक्षणका उपायहरुले पत्ता लगाउने नसक्ने, तथा उपलव्ध औषधि र खोपले काम नगर्ने प्रकृतिका पनि हुन सक्छन्।

कोभिड गराउने कोरोना भाइरसको पनि सयौं भेरियन्टहरु भेटिइसकेको छ । यसरी बन्ने धेरैजसो भेरियन्टहरुको कुनै महत्व हुँदैन र ती आफैं हराएर जान्छन्। तर केही भेरियन्टहरु भने महत्वपूर्ण हुन सक्छन्|

कोरोना भाइरसका नयाँ भेरियन्टहरुको बारेमा समयमानै थाहा पाउन अत्यावश्यक हुन्छ। त्यसैले विश्वभरका वैज्ञानिकहरुले कोभिड संक्रमितमा देखिएको कोरोना भाइरसको निरन्तर आनुवंशिक अध्ययन गरिरहेका हुन्छन्। सँगसँगै यदि कुनै भेरियन्टहरुले आफ्नो व्यवहार परिवर्तन गरेर अधिक संक्रामक बनेको, गम्भीर किसिमको रोग लगाउने बनेको अथवा औषधि र खोपले प्रदान गर्ने सुरक्षावाट उम्कन सक्ने बनेको छ कि छैन भनेर पनि अध्ययन गरिन्छ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनले सार्स-कोभ-२ का चार वटा भेरियन्टहरुलाइ महत्वपूर्ण र चिन्ताजनक भेरियन्ट मानेको छ। यिनीहरुमा सबैभन्दा पहिले बेलायतमा पत्ता लागेको भेरियन्ट (बि.१.१.७), पहिलोपटक साउथ अफ्रीकामा पत्ता लागेको भेरियन्ट (बि.१.३५१), ब्राजिलबाट जापान गएका यात्रुमा पहिलोपल्ट भेटिएको भेरियन्ट (पी.१) र सबैभन्दा पहिले इन्डियामा रिपोर्ट गरिएको भेरियन्ट (बि.१.६१७) पर्दछन्।

यी भेरियन्टहरु छिटो फैलनसक्ने, यिनीहरुले गम्भीर रोग गराउन सक्ने, र यिनीहरुमा एन्टीवडीको प्रभाव कम हुनसक्ने सम्भावनाको आधारमा यिनीहरुलाई महत्वपुर्ण र चिन्ताजनक भेरियन्ट मानिएको हो।

जवसम्म कोरोना भाइरस अहिलेको जस्तो तिब्र गतीमा फैलने क्रम चलिरहन्छ यसका भेरियन्टहरुपनि जन्मिरहन्छन्। कोरोना भाइरसका भेरियन्टहरु बन्न रोक्ने भनेको नै यसलाई फैलन नदिएर हो। त्यसका लागि परिक्षणको दायरा बढाएर छिटो भन्दा छिटो संक्रमितहरु पत्ता लगाउनुपर्छ। संक्रमितहरुलाई सुरक्षित र निरन्तर स्वास्थ्य सेवा प्रदान हुनेगरि संस्थागत क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गरिनुपर्छ।

विश्वभरनै कोरोना भाइरसको आनुवंशिक अध्ययनको निरन्तरता दिइनुपर्छ भने कुनै महत्वपूर्ण भेरियन्ट देखिएमा समयमै त्यसको बारेमा थप अनुसन्धान गर्न जरुरी हुन्छ ।

जतिसक्दो छिटो प्रभावकारी र सुरक्षित खोप विश्वभर सबैको पहुँचमा पुर्याएर मात्र कोरोना भाइरसको भेरियन्टहरु बन्ने प्रकिया कम गराउनका साथै यो महामारीवाट पार पाउन सकिन्छ। त्यो नहुँदासम्म अनुशासित भएर अहिले अपनाइरहेको रोकथामका उपायहरु जस्तै मास्क लगाउने, भिडभाड नगर्ने, समय समयमा साबुन पानीले हात धुने, व्यक्तिगत दुरी कायम राख्ने आदिलाई निरन्तरता दिनु आवश्यक हुन्छ।

(डा. सन्तोष ढकाल, अमेरिकाको प्रतिष्ठित जोह्न्स हप्किन्स विश्वविद्यालयमा इन्फ़्लुएञ्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताको क्षेत्रमा अनुसन्धानरत् छन्।)

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *