ढुंगा, गिटी र बालुवा निकासी गर्ने संघीय सरकारको नीतिमा प्रदेश २ सरकारको विरोध

डिसी नेपाल
२० जेठ २०७८ १७:११

काठमाडौं। सरकारले बजेट वक्तव्यमार्फत भारतसँगको व्यापार घाटा सन्तुलनमा ल्याउन भन्दै ढुगा, गिटी र बालुवा भारत निकासी गर्ने योजना ल्याएपछि त्यसको चौतर्फी विरोध भइरहेका बेला प्रदेश २ सरकारले पनि विरोध जनाएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विहीबार एक विज्ञप्ति जारी गर्दै संघीय सरकारको सो नीतिको विरोध गरेका हुन्। उनले सो निर्णय सच्याउनसमेत केन्द्र सरकारसँग माग गरेका छन्।

उनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। चुरे पहाड प्रदेश २ को रक्षा कवच रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। कमजोर भू(बनोटका कारण यहाँका ढुंगा, गिटी निकालियो भने नदीको वहाव तीव्र हुने र तीव्र वहावले बगाएर ल्याउने बालुवा मधेसमा थुप्रिदै जाने प्रायः निश्चित नै छ।’

चुरेको महत्वलाई नबुझेर संघीय सरकारले अदुरदर्शी निर्णय गरेको उनको भनाइ छ। उनले भनेका छन्, ‘ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रुपमा रहेको प्रदेश २ को सम्पूर्ण भूभाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित छ।’

प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउन प्रदेश सरकार सगज रहेको उनले जनाएका छन्। संघीय सरकारले बजेट वक्तव्य नसच्याए चुरे संरक्षणका लागि प्रदेश सरकारले आवश्यक निर्णय लिने उनले चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *