सन्दर्भ विश्व वातावरण दिवस : मानिस र अक्सिजनको सम्बन्ध

डिसी नेपाल
२२ जेठ २०७८ ६:४२

अहिले विश्वभर कोरोना महामारी चलिरहेको छ र हामीजस्ता कम विकसित मुलुकका जनताहरु सास फेर्ने हावासमेत नपाएर मर्नु परिरहेको छ।  बिडम्बना त के छ भने कृत्रिम अक्जिनको कुरा पर छोडौं, प्रकृतिले दिएको अक्सिजनको भण्डारलाई मास्ने र मरुभूमिकरण गर्नेतिर हाम्रा नीतिहरु केन्द्रीत हुनु दुखको विषय हो।

जंगल सखाप पार्ने र चुरे दोहन गरेर मुलुकका लागि पैसा कमाउनुपर्छ भन्ने नीति आएको अवस्थालाई के भन्ने? अहिले पैसा कमाइहालूं पछि सास फेर्दै गरौंला भनेजस्तो गरी प्रकृति दोहनको नीति आउनुले हामी थप महामारीलाई अमन्त्रण गर्दैछौं भन्ने कुरा लुकाइरहनु पर्दैन।

राजनीतिक उतार चढाव र तानावानाका बेला हाम्रा नीति निर्माता र विद्वानहरुले प्रकृतिको दोहनलाई रोक्न सक्ने हो भने त्यसको ठूलो गुन हामी आफैं देशवासीहरुलाई पुग्छ, हामी र हाम्रो परिवार तथा आफन्तहरु अक्सिजनको अभावमा अनेकौं महामारीको शिकार हुनबाट रोक्न सक्छौं।
अमेरिकन लङ्स एशोसियसन (American Lungs Association) ले गरेको अनुसन्धान अनुसार सामान्य वयस्क मानिसले प्रत्येक दिन ८ हजार लिटर हावा वायुमण्डलबाट लिने गर्छ। त्यसमा करीब २१ प्रतिशत भाग अक्सिजनले ओगटेको हुन्छ।

मानिसले लिने अक्सिजन मध्ये फोक्सोले लगभग ५ प्रतिशत मात्र लिएर बाँकी अरु फेरी बाहिर वायुमण्डलमै फाल्ने गर्छ। यसको मतलब करीव ४ सय लिटर शुद्ध अक्सिजन मानिसलाई हरेक दिन चाहिन्छ।

मानिस लगायत समस्त जीव र वनस्पतिहरुको लागि चाहिने अक्सिजनको प्राकृतिक स्रोत भनेको वनस्पतिहरुले गर्ने प्रकाश संश्लेषण (photosynthesis) नै हो।

कतिपय मानिसहरु बर, पिपलले अरु विरुवा भन्दा फरक रुपमा रातीमा पनि अक्सिजन निकाल्ने कुरामा विश्वास गर्छन्, तर वास्तविकता त्यस्तो होइन। बर पिपलले अर्को रूखमा आश्रयलिने बेला (उम्रने शुरुको अवस्थामा अर्को रुखको सहयोग लिन्छ) मात्र राती र दिउँसो दुबै समयमा अक्सिजन निकाल्ने गर्छ तर वयस्क भएपछि भने दिउसोमा मात्र अक्सिजन निकाल्छ, कार्बन डाइअक्साइड भने राती र दिउसो दुवै समयमा निकाल्ने गर्छ।

जनाबर र बोटविरुवाहरुले समान रुपमा दिउसो र राती दुबै समयमा स्वासप्रस्वास (respiration) प्रकियामा वायुमण्डलबाट अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने गर्छन्। जनाबरहरुले कहिल्यै अक्सिजन बनाउन सक्दैनन र यसको लागि वनस्पतिहरुमा भर पर्ने गर्छन्। हरिया वनस्पतिहरुले भने दिउसोको समयमा प्रकाश संश्लेषण भन्ने छुट्टै प्रकृयाबाट आफ्नो खाने कुरा आफै बनाउने गर्छन्।

यसरी खानेकुरा आफै बनाउने प्रकृयामा वायमण्डलबाट कार्बनडाइअक्साइड लिएर ग्लुकोज र पानी लिएर अक्सिजन फाल्ने गर्छन्। यसरी फालिएको अक्सिजन जनाबर र वनस्पति दुवैले लिने गर्छन्।

धार्मिक आस्था आफ्नो आफ्नो ठाँउ छ तर वैज्ञानिक रुपमा प्रमाणित भएको तथ्यको आधारमा अब हामीले पनि एउटा गमालामा भएपनि बर, पिपल, समी, तुलसी रोप्न शुरु गर्ने हो कि? पुजा गर्नु पर्दैन, तर जगेर्ना त गर्न सकिएला नि? हाम्रो आफ्नो आफ्नो धर्म होला तर कुनै पनि वनस्पतिको कर्म भनेको सबै धर्म मान्ने मानिसलाई निस्वार्थ प्राणवायु दिनु हो।

यसको मतलव वनस्पतिहरुले कार्बनडाइअक्साइड र अक्सिजन लिने र फाल्ने दुवै काम गर्छन्। सामान्यतः कार्बनडाइअक्साइड जतिखेर पनि फाल्छन् भने अक्सिजन भने दिउसोको समयमा मात्र निकाल्ने गर्छन्।

प्रत्येक दिनको हिसाब गर्दा वनस्पतिहरुले अक्सिजन लिने भन्दा फाल्ने मात्रा दशौ गुणा बढी हुन्छ, त्यसैले मानिसहरु वनस्पतिले कार्बनडाइअक्साइड लिएर अक्सिजन फाल्ने कुरामा मात्र विश्वास गर्छन्।

कतिपय मरुभूमीमा पाइने र बाक्ला पातहरु घिउकुमारी, केतुकी जस्ता बोटविरुवाहरुले भने रातको समयमा पनि अक्सिजन निकाल्ने काम गर्छन्। अरु सामान्य वनस्पतिहरुले भने रातको समयमा अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने काम मात्र गर्छन्, अक्सिजन बनाउन भने सक्दैनन्।

त्यसैले रातको समयमा ठूला ठुला रूखहरुको छहारीमा सुत्नु हुदैन, अक्सिजनको कमी भएर मर्न सकिन्छ। वनस्पतिले कति कार्बनडाइअक्साइड लिन्छ र कति अक्सिजन निकाल्छ भन्ने कुरा वनस्पतिमा पाइने पातहरुको संख्या, तिनीहरुको क्षेत्रफल, पातको सतहमा पाइने हरितकण र खानेकुरा बनाउने बिधिमा भर पर्छ।

बरपिपल र समी धार्मिक र सांस्कृतिक धरोहर मात्र होइनन्

बर, पिपल र समीका रुखहरु निकै ठूला हुने भएकाले पातहरुको संख्या, तिनीहरुको क्षेत्रफल, पातको सतहमा पाइने हरितकणहरु पनि ज्यादै धेरै हुन्छन् त्यसैले यिनिहरुले प्रभावकारी रुपमा धेरै कार्बनडाइअक्साइड धेरै लिने र धेरै अक्सिजन निकाल्ने गर्छन्।

वनस्पतिले लिने कार्बनडाइअक्साइड र फाल्ने अक्सिजनको अनुपात बराबर नै हुन्छ। लामो समय बाच्ने वोटविरुवाले जिन्दगी भरि निरन्तर कार्बनडाइअक्साइड लिने र अक्सिजन दिने काम गरिरहन्छन्।

सन् १९९० को दशकतिर भारतमा गरिएको अनुसन्धानका अनुसार रूखभरि पात भएको सिजनमा एउटा १०० फीट आग्लो र १८ इन्च मोटाई भएको बयस्क बरको रुखले बर्षभरिमा करीब १७०० केजी अक्सिजन उत्पादन गर्छ जबकी त्यही आकारका अन्य बिरुवाले जम्मा ११७ केजी अक्सिजन उत्पादन गर्नेगर्छ।

सामान्य शरीर भएको वयस्क मानिसलाई प्रतिदिन ८५० ग्राम शुद्ध अक्सिजन चाहिन्छ र बर्षभरिमा करीब ३५० केजी। यसरी हिसाब गर्दा एउटा बर वा पिपलको वयस्क रूखले करीब ४ जना (एउटा सानो परिवार) लाई पुग्ने अक्सिजन निकाल्ने गर्छ। अर्कोतिर ४ जनाले फालेको त्यतिनै कार्बन डाइअक्साइड पनि एउटै पिपलको रुखले सोसेर कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण भूमिका खेल्छ।

हामीले बर्षभरी प्रयोग गर्ने अक्सिजन किन्न पर्यो भने कति मूल्य चुकाउनु पर्छ, कोभिडको जमानामा हरेक मानिसले महसुस गरिसकेको छ। यति अमूल्य वनस्पतिको जगेर्नाको लागि हामीले चाँही के गरेका छौ, अब सोच्न ढिला भैसकेको छ।

परापूर्वकालदेखि नेपालको तराई, चुरे, पहाड र उच्चपहाडका गाँउ बस्तिहरुको छेउछाऊका ठाँटी, देउराली, भन्ज्याङ्मा बरपिपल र समीका ठूला ठूला रुखहरु पाइन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मानिसहरुले खासगरी गाँउघरको छेउछाउमा चौतारो बनाएर बर, पिपल र समीको विरुवा लगाउने गरेको पाइन्छ।

आजकल भने बर, पिपल लगाउने प्रचलन कम हुदै गएको पाइन्छ र भएका रुखहरु पनि मासिने क्रम बढ्दै छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने बर, पिपल र समीको सांस्कतिक र धार्मिक मात्र होइन, सामाजिक र वैज्ञानिक महत्व पनि निकै छ।

धार्मिकरुपमा बर, पिपल र समी

धार्मिक रुपमा बर, पिपल र समीको रुखलाई निकै सम्मान दिएको पाइन्छ। हिन्दु र बौद्ध धर्माबलम्बीहरुले पिपललाई धार्मिक आस्थासँग जोडेर हेर्ने गर्छन्। गौतम बुध्दले बोधिसत्व अर्थात ज्ञान पिपलको रुखमुनि बसेर हासिल गरेकाले बौद्ध धर्मअनुसार यस वृक्षले विशेष महत्व राख्छ। ।

हिन्दु धर्ममा बरलाई ब्रम्ह्मा, पिपललाई बिष्णु र समीलाई शिवको रुपमा पुजिन्छ । यी रुखको नजिकै देवीको प्रतिको रुपमा लाँकुरीको रुख पनि लगाउने गरिन्छ। बर, पिपल र समीको पात झर्ने जाडोको समयमा हरियालीको लागि लाकुरी पनि सँगै लगाइन्छ।

पिपलको रुखलाई सबैवृक्ष भन्दा शुद्ध अथवा ‘रुखहरुको राजा’ मानेर यसको मूलभागमा ब्रह्मा, मध्यभागमा विष्णु र अग्रभागमा शिवजी साक्षात रूपले विराजित हुने भएकोले हिन्दु धर्माबलम्बीहरु पुजा गर्ने गर्छन्। पिपललाई विश्ववृक्ष, चैत्यवृक्ष अथवा वासुदेवको नामले पनि चिन्ने गरिन्छ।

मिथिला संस्कृतिमा नवविवाहित महिलाहरुले पतिको दीर्घायु, दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्रीको पूजाका गर्ने पर्वलाई ‘वसराइत’ भनिन्छ। मैथिली भाषामा वटलाई बर भनिन्छ, बरले पतिलाई पनि जनाउछ। बरको रुख दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।

आयुर्वेदिकरुपमा महत्व

आयुर्वेदिकका धेरै किताबहरुमा बर र पिपलको रुखमा झण्डै ६० किसिमका रासायनिक तत्व पाइने उल्लेख पाइन्छ। पिपलको जरा, बोक्रा, पात तथा फलमा कुनै न कुनै औषधीजन्य गुणहरु देखिन्छ। पुरानो घाउ, कान पाक्ने रोग, अल्सर, बाथ, गिजाको रोग, दम, छाररोग, कब्जियत, गोनोरिया, मधुमेह, कमलपित्त, आदि जस्ता रोगहरुमा पिपल, बर र समीका पात, बोक्रा र जराहरु प्रयोग गर्ने प्रचलन छ।

सांस्कृतिकरुपमा बर पिपल

बर, पिपल वा समीले बनेको चौतारीले भारी बिसाउने भरिया, बटुवा देखी, बृद्ध, बालबच्चा, महिला वा युवा युवतीहरुको भेटघाट र आराम गर्ने शीतल थलो रुपमा पहिचान बनाएको छ। गाँउघरका कतिपय भेटघाट र भलाकुसारीका कार्यक्रमहरु पनि यस्तै चौतारीहरुमा हुने गर्छन्। दशैतिहार जस्ता चाडपर्वमा रोटेपिङ वा डोरीपिङ हाल्नको लागि पनि चौतारो जस्तो उपयुक्त ठाँउ अर्को नपाइन सक्छ गाँउघरमा।

चौतारामा बर, पीपल त समीलाई सँगै रोप्ने परम्परा छ। यिनीहरूलाई जोडी र सहयोगीको रुपमा रोप्ने गरिएको पाइन्छ। कतै कतै मरेर जाने मानिसको चिनोको रुपमा रोपेर बर र पीपलको विवाह गरिदिने चलनसमेत छ।

त्यसैले पछिल्लो पुस्ताका मानिसहरु आफ्ना मातापिताको चिनोको रुपमा बर पिपलको चौतारो लगाएर, स्याहार सुसार गर्ने चलन पनि थियो। पिपलको रुख ज्ञान र शान्तिको प्रतीक पनि मानिन्छ। पिपलको पातको आकार हृदयको जस्तै भएकाले मायाको प्रतीक मान्ने मानिसहरु पनि छन्।

२०७२ सालको महाभुकम्पमा कतिपय मानिसहरुले चौतारीको आडमा कैयौ महिना गुजारेको समाचार पनि सुन्न र देख्न पाइएको थियो। यस्ता चौतारीहरुले मानिस मात्र होइन, चराचुरुङ्गीहरुलाई पनि राम्रो आश्रय दिने गर्छ।

वैज्ञानिक तथा वाताबरणीयरुपमा बर, पिपल र समी

वनस्पतिहरुको ठूला समुहमध्ये एकमा पर्ने किम्बु (Moraceae) परिवार भित्रको फिकस (Ficus, पिपल) प्रजाती भित्र खन्यु, डुम्री, काभ्रो, बर, पिपल, समी जस्ता पात बाक्लो हुने सदाबहार वनस्पतिहरु पर्ने गर्छ। यिनिहरु मध्ये बर (Ficus benghalensis), पिपल (Ficus religiosa) र समी (Ficus benjamina) लाई जीवन उपयोगी बृक्षको रुपमा मानिन्छ।

भौगोलिक रुपमा पिपलका प्रजातिहरु समुन्द्री सतह १५० मिटर देखि करिव १५०० मिटरको उष्ण र समशितोष्ण क्षेत्रको समथर र डाँडाकाँडाहरुमा पाइन्छ। खासगरी दक्षिण पुर्वी एशियाली देशहरु नेपाल, भारत, भुटान, बर्मा, श्रीलंका, लाओस, थाइल्याण्ड, दक्षिणी चीनको आसपासको क्षेत्रमा उत्पति भएको मानिन्छ।

बर, पिपल र समीको जिवन अवधि अरु रुखहरु भन्दा लामो हुन्छ। सामान्यतः २०० बर्ष भन्दा बढि बाच्ने यस्ता रुखहरु कतै कतै भने ३ हजार बर्ष सम्म पनि बाचेको रेकर्ड पनि छ। श्रीलंकाको महाबोधी वृक्ष संसारकै सबभन्दा पुरानो (करिव २२५० बर्ष) पिपलको रुख मानिन्छ।

रुखले ओगट्ने क्षेत्रफलको हिसाबले पनि निकै बर, पिपलले धेरै धेरै हुन्छ। जगदीशचन्द्र बोस बोटानिकल गार्डेन, कोलकत्ता रहेको पिपलको रुखले करिव १५ हजार बर्गमिटर क्षेत्रफल ढाकेको छ।

माटोको उर्वरापन कायम राख्न र भुक्षय रोकेर वनजंगलको हरियाली जोगाउन पनि बर, पिपल निकै उपयोगी सावित हुने तथ्य सन् २०१५ मा प्रकाशित रोजासाण्डोवालको रिपोर्टले देखाएको थियो।

उक्त अनुसन्धानमा बर, पिपल र समीको घाँस खुवाउदा गाईवस्तुहरुले साविक घाँसको भन्दा करीव २० प्रतिशत कम मिथेन ग्यास निकाल्ने तथ्य पनि उल्लेख थियो। मिथेन ग्यास जलवायु परिवर्तनको लागि मुख्य दोषीहरु मध्ये एक मानिन्छ र यसले पृथ्वीलाई तताउन मुख्य भुमिका खेल्छ।

यसको अलावा औध्योगिक क्षेत्रमा लगाईएको करीब १० वटा वयस्क बर, पिपलको रुखले वायुमण्डलको सल्फर अक्साइड ७० प्रतिशत र नाइट्रोजन अक्साइड ६७ प्रतिशतले कमी गराउने रिपोर्ट पनि प्रकाशित भएको थियो। यी दुबै ग्यास अम्लीय बर्षा र विश्वब्यापी जलवायु परिवर्तनका प्रमुख कारक मानिन्छ।

एउटा वयस्क बर, पिपलमा भएको खस्रो बोक्रा, हाँगा र पातहरुले वायुमण्डलबाट बार्षिक करीब २० केजी धुलोका कणहरु पनि सोसेर प्रदुषण घटाउन सहयोग पुर्याउछ र एकलाख बर्गमिटर भन्दा बढि क्षेत्रलाई शुध्द बनाउने गर्छ।

बर पिपलको छहारीले बटुवालाई गर्मीको समयमा शीतलता पनि दिन्छ भने सडकको किनारामा लगाइएको यस्ता रूखहरुले बरपरको ताप करीब ४ डिग्री सेन्टिग्रड सम्म घटाउने गर्छ। सडक क्षेत्रबरपर लगाइएका ठूलाठूला रुखहरुले ध्वनी प्रदुषण पनि ७ गुणा घटाउन सहयोग पुर्याउने तथ्य सन् २०१७ मा प्रकाशित भट्ट लगायतको वैज्ञानिक लेखमा उल्लेख थियो।

के गर्न सकिन्छ त अब?

बर, पिपल र समी जस्ता ठूलो छहारी दिन सक्ने वनस्पतिहरुले मानिस र अन्य जनाबरहरुलाई चाहिने शुद्ध वायु, पिउनको लागि पानी र चराचुरुङ्गी, किराफट्याङ्ग्राहरुलाई आश्रय दिने भएकोले यिनीहरुको यथासम्भव जगेर्ना गर्नु पर्छ।

गाँउघरका अझै पनि केहि बचेखुचेका चौतारीहरु छन्। अहिले पनि कतै कतै धेरै पुराना मुलबाटाहरुको छेउछाउमा, बर, पिपल, समी, लाकुरी मात्रै होईन भ‍ोक मेटाउन आप, चिउरी र बेलका रुखहरु र पानीको प्यास मेटाउन धारा, पँधेरा र बास बस्नको लागि पाटी, पौवा र ठाँटीका अबशेषहरु देखिन्छन्।

यिनीहरुलाई पुर्नजीवन दिदै, सबैको संरक्षण गर्न कानुनी प्रयास शुरु हुनुपर्छ। गण्डकी प्रदेशले यस प्रयासमा कानून नै बनाएको छ, अब कार्यान्वयन कसरी हुन्छ समयले बताउला।

घनाबस्ती भएका ठाँउहरुमा घर बरपर बर, पिपल र समीका ठूला रूखहरु लगाउदा यसका जराहरुले बरपरका भवनहरु र बासस्थानलाई भत्काउन सक्ने भएकोले खुल्ला क्षेत्रको पहिचान गरी चौताराहरुको विकास गर्नु पर्छ।

खासगरी सडक छेउछाऊ, नदी किनाराका खुल्ला ठाँउ, खुल्ला पार्कहरु र जंगलका बरपर मध्यवर्ती क्षेत्रहरुमा सकेसम्म बर, पिपल, समी, डुम्री, खँन्यु जस्ता वनस्पतिलाई ठाँउ दिन सकिएमा यसबाट अधिक फाइदा लिन सकिन्छ र हाम्रो पहिचान पनि जोगिन्छ।

औध्योगिक क्षेत्रहरुको बरपर र राजमार्गहरुको छेउछाऊमा हरित पट्टी (Green belt) को रुपमा बर, पिपल, समी, आँप जस्ता हरियाली दिन सक्ने वनस्पति छनौट गरी हुर्काउन सकिएमा वायुप्रदुषण, ध्वनी प्रदुषण र विश्वब्यापी जलवायु परिवर्तनका प्रमुख कारक मानिने ग्यासहरुको उत्सर्जनमा कमी गराउन सहयोग पुग्छ।

पहिरो जानसक्ने सम्भावित क्षेत्रको पहिचान गरी बर, पिपलहरुलाई रोपेर हुर्काउन सकिएमा भविष्यमा हुन सक्ने भौतिक तथा मानवीय क्षति कम गर्न सहयोग पुग्नेछ।

बढ्दो शहरिकरणका कारण गाँउघरका चौतारी र खाली ठाउँहरु मासिन थालेको छ, यदि समयमै यस्ता खुल्ला ठाँउहरु छाडिएन भने भुकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप आउदा मुख लुकाउने ठाँउ पनि नपाइन सक्छ।

अघिल्लो पुस्ताका मानिसहरुले अझै पनि बर, पिपल, समी, तुलसी, पारिजात जस्ता वनस्पतिहरुलाई आफुसँगै गमला राखेर भएपनि पुजाआजा गर्ने प्रचलन छदैछ। नयाँ पुस्ताले भने यस्ता चलनहरु धार्मिक अन्धविश्वासको रुपमा छाड्दै गएका छन्।

धार्मिक आस्था आफ्नो आफ्नो ठाँउ छ तर वैज्ञानिक रुपमा प्रमाणित भएको तथ्यको आधारमा अब हामीले पनि एउटा गमालामा भएपनि बर, पिपल, समी, तुलसी रोप्न शुरु गर्ने हो कि? पुजा गर्नु पर्दैन, तर जगेर्ना त गर्न सकिएला नि? हाम्रो आफ्नो आफ्नो धर्म होला तर कुनै पनि वनस्पतिको कर्म भनेको सबै धर्म मान्ने मानिसलाई निस्वार्थ प्राणवायु दिनु हो।

त्यसैले अब गरिने हरेक बृक्षारोपणमा एक चौथाइ बर, पिपल, समी, काभ्रो, खन्यूँ, डुम्री जस्ता रैथाने र जीवनोपयोगी वनस्पतिको छनौट गरी रोपेर हुर्काउन स्थानीयलाई जिम्मा दिन सकिएका यो बर्षको विश्व वाताबरण दिवसले दिएको नारा ‘इकोसिस्टम पुनर्स्थापना’ (Ecosystem Restoration) को मूलभुत उदेश्य पुरा हुनेछ र हामी पनि शहरमै भएर पनि चौतारीमा बसेर बुढेसकालमा सुस्ताउन पाउने छौ हाम्रा बाउबराजुले जस्तै।

(लेखक, त्रिभुवन विश्वविध्यालयमा अनुसन्धानरत हुनुहुन्छ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *