कार्यसम्पादन मूल्याङ्कनमा शुक्लाफाँटा नगरपालिका उत्कृष्ट

डिसी नेपाल
२२ जेठ २०७८ १२:२४

कञ्चनपुर । कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ। कार्यसम्पादन मूल्याङ्कनमा बढी अङ्क प्राप्त गरी नगरपालिकाले रु ५५ लाख अनुदान प्राप्त गरेको छ।

कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले नगरपालिकाले जिल्लामै सबै स्थानीय तहभन्दा बढी अनुदान रकम प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए। “कार्यसम्पादन मूल्याङ्कनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ” उनले भने, “आउँदो आवका लागि समेत नतिजामुखी परिणाम ल्याउँछौं । कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अनुदान पाउन सफल भएका छाैँ।”

नगरपालिकाले समानीकरण अनुदानअन्र्तगत न्यूनतम, सूत्रमा आधारित, कार्यसम्पादनमा आधारित गरी जम्मा रु ६९ लाख ४२ रकम प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकाले रु ५५ लाख, लालझाडी गाउँपालिकाले रु ५४ लाख, दोधरा चाँदनी र भीमदत्त नगरपालिकाले समान रु ४९/४९ लाख, बेदकोट र पुर्नवास नगरपालिकाले रु ४८/४८ लाख, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले समान रु ३५ लाखका दरले अनुदान रकम पाएका छन्।

प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्थाबमोजिम स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय अनुदान सिफारिस गर्दा कार्यसम्पादनको स्तरलाई आधार लिइने गरिन्छ। कार्यसम्पादन स्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नु पर्ने न्यूनतम् प्रकृयागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्यबमोजिम खर्च गरे नगरेकोलगायतका विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *