ओलम्पिकमा खेलाडीलाई १ लाख ६० हजार कण्डम बाँडिने, कसैले पनि प्रयोग गर्न भने नपाउने

डिसी नेपाल
२२ जेठ २०७८ १३:४५

काठमाडौं। जापानको टोक्योमा हुन लागेको ओलम्पिक खेलको तयारी तीब्र रुपमा अगाडि बढिरहेको छ । कोरोनाकालमा ओलम्पिकको सफल आयोजना गर्न प्रयासरत आयोजक समितिसामु धेरै चुनौतीहरु छन् । ओलम्पिकको परम्पराअनुसार खेलमा भाग लिनका लागि आएका खेलाडीहरुलाई ओलम्पिक गाउँमा रहँदा निःशुल्क कण्डम बाँडिनेछ । तर, त्यो कण्डम पाउने खेलाडीहरुलाई भने समस्या छ ।

इनसाइडरको रिपोर्टअनुसार यस वर्ष १ लाख ६० हजारभन्दा धेरै कण्डम खेलाडीहरुलाई निःशुल्क बाँड्ने तयारी छ । तर, खेलाडीहरुले ती कण्डम प्रयोग गर्न भने पाउने छैनन् । आयोजक समितिले खेलाडीहरुलाई यी कण्डम प्रयोगमा रोक लगाएको छ । प्रतियोगितामा भाग लिने क्रममा खेल गाउँमा रहँदासम्म खेलाडीहरुले ती कण्डम प्रयोग गर्न पाउने छैनन् । आयोजक समितिले घोषणा गरेको छ कि खेलाडीहरुले यी कण्डमहरु सम्झनास्वरुप घर लैजान सक्नेछन् ।

ओलम्पिक आयोजक कमिटीका अनुसार खेलाडीहरुले आफ्नो घरेलु जमिनमा पुगेपछि मात्रै ती कण्डम प्रयोग गर्न पाउनेछन् । अर्थात जापानकै खेलाडीबाहेक अन्य देशका खेलाडीले यी कण्डम जापानभित्र पनि प्रयोग गर्न पाउने छैनन् । जापानी खेलाडीहरुले भने ओलम्पिक गाउँमा रहँदा प्रयोग गर्न पाउने छैनन् । घर गएपछि भने प्रयोग गर्न पाउनेछन् ।

साथमा कण्डम भएपछि खेलाडीहरु एक अर्काको सम्पर्कमा आउन सक्ने भएकोले यस्तो प्रतिबन्ध लगाइएको आयोजक समितिले जनाएको छ । तर, कण्डम बाँड्ने भने ओलम्पिकको परम्परा भएकोले त्यो परम्परा जारी राखिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यौनरोग र एचआइभीको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले १९८८ देखि ओलम्पिक खेलमा सहभागी खेलाडीलाई कण्डम बाँड्ने परम्परा सुरु गरेको थियो ।

अघिल्लो पटकको ओलम्पिकको तुलनामा भने यस पटक थोरै कण्डम बाँडिनेछन् । यसअघि २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम बाँडिएको थियो । यस पटक २०२१ ओलम्पिकमा ११ हजार खेलाडी सहभागी हुनेछन् । यस हिसाबले एक जना खेलाडीको भागमा १४ वटा कण्डम पर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *