स्वरोजगार बढाउन ‘कोसेली घर’ सञ्चालनको तयारी

डिसी नेपाल
२४ जेठ २०७८ १४:५४

टिस्टुङ । स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ। कोसेली घरका लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुने बित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगरप्रमुख लवशेर विष्टले बताए।

नगरपालिकाले नगरको स्थानीय सीप र उत्पादन प्रवद्र्धन गर्न आफ्नै पहलमा कोसेली घर निर्माण गरेको हो। वडा नं ४ नयाँगाउँमा निर्मित रुपचन्द्र विष्ट स्मृति भवनमा प्रदेश सरकार समेतको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजारमा उपलब्ध गराउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए।

उनका अनुसार कोसेली घरमा नगरपालिकाका स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सेरामिक्स सामग्री, बाँसबाट बनेका सामग्री, क्रिष्टलका गहना, हातले बुनेका स्वेटर, झोलालगायत विभिन्न सामग्री, ‘गिफ्ट’का सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिनेछ।

त्यसैगरी कोसेली घरमा नगरको परिचय झल्काउने मौलिक काष्ठकला, नेपाली कागजका हस्तकला, घरबुना कपडाका पुतली, खेलौना, टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिनेछन्। धातु तथा ढलौटका कलाकृति, चित्रकला, खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेली घरमा राखिनेछन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *