फुटबलः नयाँ कोचसँगै नयाँ स्तर, नयाँ शैली र नयाँ खेलाडीहरुको अग्नि परिक्षा

उपेन्द्र शाही
२४ जेठ २०७८ १६:५३

काठमाडौं। फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ फुटबल दोस्रो चरणको छनोटमा  सोमबार नेपाल र जोर्डन आमने सामने हुदैछन। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाल र जोर्डनबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।

करिब ४५ डिग्रीको गर्मि रहेको मैदानमा बलियो टोली जोर्डन विरुद्ध उत्रिँदा नेपाललाई पक्कै पनि सहज हुने छैन। तर, अहिले नेपालको युवा टीम जोस, जाँगर र उच्च मनोवलका साथ मैदान उत्रिने छ।

जोर्डनविरुद्ध जित निकाल्दै नेपाल इतिहास रच्न चाहान्छ। नयाँ कोचले टिममा नयाँ खेलाडिहरुलाई स्थान दिएका छन। नयाँ कोचसँगै नयाँ स्तर, नयाँ शैली, र नयाँ खेलाडिको समिश्रणले नेपाली फुटबल टिमलाई नयाँ नेपाल बनाएको छ। जोर्डनविरुद्धको खेल नेपालका नयाँ कोच र नयाँ अनुहारका खेलाडिका लागि अग्नि परिक्षा नै हुने छ।

नेपाली फुटबल टोलीले पछिल्लो समय एकपछि अर्को राम्रो प्रर्दशन गर्दै आएको छ। विशेष गरी दोस्रो छनोट चरणको पहिलो खेलमा फिफा बरियतामा माथि रहेको चाइनीज ताइपेलाई २ – ० गोलअन्तरले सहजै पराजित गरेको थियो। त्यसले पनि खेलाडीहरुमा आत्मबल उच्च छ।

त्यस्तै नयाँ कोच अब्दुल्लाह अलमुताईरीको प्रशिक्षण छाप पनि खेलाडिमा परेको छ। उनीहरुको खेल्ने स्तर र खेल्ने शैली (ट्याक्टिस, टेक्निकमा) छोटो समयमा धेरै सकारात्मक परिर्वतन आएको खेलाडीहरुले प्रतिक्रिया दिएका छन।

जोेर्डन विरुद्ध पहिलो लेग खेल्दाताका धेरै खेलाडि अहिले छैनन। कही चोटका कारण टिममा परेनन भने केही खेलाडिलाई नयाँ कोचले टिममा समेटेनन।

त्यतिबेला टोलीमा रहेका देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रविशंकर पासवान, विमल घर्तीमगर, सरोज दाहाल, विक्रम लामा, विशाल श्रेष्ठ (गोलरक्षक), हेमन गुरुङ, विकेश कुथु (गोलरक्षक), तेज तामाङ र अजित भण्डारीलाई प्रशिक्षक अलमुताईरीले टोलीमा समावेश गरेका छैनन्।

अहिले नयाँ १२ खेलाडि टिममा छन। गौतम श्रेष्ठ, विकास खवास, एरिक विष्ट, मनिष डाँगी, कमल थापा, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान, आशिष लामा, सुमन लामा, दीप कार्की (गोलरक्षक), विशाल सुनार (गोलरक्षक) पहिलो लेगमा थिएनन्।

पहिलो पटक टिममा परेका युवा खेलाडि मनिष डाँगीले त आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा इराकविरुद्ध गोल गर्दै इतिहास समेत कायम गरे।

मनीष नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भएका छन्। यसअघि सन १९८२ मा कुवेत विरूद्ध वाइबी घलेले र सन १९९५ मा पाकिस्तान विरूद्ध हरि खड्काले डेब्यु खेलमै गोल गरेका थिए। र अन्य खेलाडिको प्रर्दशन पनि समग्रमा राम्रै देखिएको छ।

साेमबार प्रशिक्षक अलमुताइरीलाई अर्को दबाब पनि हुने छ। उनी कुवेतियन प्रशिक्षक हुन एउटा फुटबल सर्पोटरलाई त आफ्नो टिम जितोस भन्ने लाग्छ भने उनी त पूर्व फुटबल खेलाडी र प्रशिक्षक पनि हुन।

नेपाल हारेको खण्डमा एउटै समूहमा रहेको कुवेतको विश्वकप यात्रा कठिन हुन सक्छ। र, नेपाल अनुकुल नतिजा आएमा कुवेतलाई फाइदा पुग्ने हुन्छ। किनभने यो समूहमा कुवेत दोस्रो नम्बरमा छ र जोर्डन तेस्रो नम्बरमा छ। कुवेतले एक खेल बढी ६ खेलबाट १० अंक जोडेको छ भने जोर्डनले ५ खेलबाट १० अंक जोडेको छ।

प्रि–म्याच कन्फरेन्समा नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाहा अलमुताईरीले यो खेल जितका लागि खेल्ने बताइसकेका छन्। कन्फरेन्समा बोल्दै प्रशिक्षक अलमुताईरीले हरेक खेल शून्यबाट सुरु हुने र परिणाम मैदानको प्रर्दशनमा भर पर्ने भएकोले आफूहरु राम्रो फुटबल खेलेर जित निकाल्ने लक्ष्यमा रहेको बताए। उनले नेपालको लक्ष्य एसियन कप छनोट भएकोले त्यसका लागि जोर्डनविरुद्ध जित आवश्यक रहेको बताए।

यस्तै जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ। जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले सबैको अपेक्षा जोर्डनले जित्ने भए पनि नेपालको पछिल्लो प्रर्दशनमा निकै सुधार भएको बताए। फुटबलमा जे पनि हुन सक्ने भन्दै उनले नेपाललाई हलुका प्रतिद्वन्द्वीको रुपमा नलिएको बताए।

छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा छ। जोर्डन ५ खेलमा १० अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका भने गुमाइसकेको छ। तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर भने बाँकी नै छ।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ। तर, नेपालले एउटा खेलमा पनि जित निकाल्न सकेको छैन। नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको भने एक खेलमा बराबरी नतिजा निकालेको छ।

विश्वकप छनोट अन्तर्गत सन् २०११ को जुलाई २३ मा पहिलो पटक नेपाल र जोर्डन आमने सामने भएका थिए। जोर्डनको घरेलु मैदानमा भएको उक्त खेलमा नेपाल ९–० को भारी गोलअन्तरले पराजित भएको थियो ।

त्यसलगत्तै २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा रोकेको थियो।

त्यसपछि नेपालले विश्वकप छनोट अन्र्तगत नै जोर्डनसँगको सन् २०१९ को अक्टोबरमा पछिल्लो खेल भएको थियो। उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो।

फिफा वरियतामा पनि जोर्डन ९५ औं स्थानमा छ। सन् २००४ मा जोर्डन फिफा वरियतामा ३७ औं नम्बरसम्म पुगेको थियो। वरियताका आधारमा नेपाल जोर्डनभन्दा ७६ देश पछाडि छ। हाल नेपाल १७१ औं स्थानमा छ। तस्वीरहरूः एन्फा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *