आइपिएल २०२१ का बाँकी खेलहरु त हुनेछन् तर…

डिसी नेपाल
२४ जेठ २०७८ १६:४१

काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) ले धेरै कठिनाइका बीच आइपिएलका बाँकी खेलहरु संचालन गर्ने भएको छ । बायो बबलमा पनि कोरोनाभाइरस छिरेर केही खेलाडी र स्टाफ संक्रमित भएपछि आइपिएलका जारी सिजन बीचमै रोक्नु परेको थियो । अब बाँकी खेलहरु १८ देखि २० सेप्टेम्बरको बीचमा युएइमा हुनेछ र फाइनल खेल १० अक्टोबरमा हुने सम्भावना छ । तर, दोस्रो चरणमा विदेशी खेलाडी अनुपस्थित रहने सम्भावना छ ।

अक्टोबर महिनामा टि–२० विश्वकप आयोजना गर्ने तयारी छ र यो आइपिएलको लागि सबैभन्दा ठूलो अवरोध हो । बीबीसीको एक रिपोर्टका अनुसार बीसीसीआइको अहिलेको प्रमुख प्राथमिकता आइपिएलको स्थगनपछि भएको २५०० करोडको नोक्सानीको भर्पाइमा केन्द्रित छ । यही कारण बीसीसीआइको मुख्य प्राथमिकता आइपिएल आयोजना गर्नु भएको बीसीसीआइका उपाध्यक्ष राजीव शुक्लाले बीबीसीसँग बताए । उनका अनुसार विदेशी खेलाडीको अनुपस्थितिले बीसीसीआइलाई कुनै फरक पर्ने छैन ।

इङल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आफ्ना खेलाडीहरु रिलिज गर्न प्रस्ट रुपमा अस्वीकार गरेको छ । यसको अर्थ कोलकाता नाइटराइडर्सका कप्तान इयोन मोर्गनको साथमा जोनी बेयरिस्टो, जोस बटलर, मोइन अली, साम करन र बेन स्टोक्सजस्ता खेलाडी यसपटकको आइपिएलका बाँकी खेलमा खेल्ने छैनन् । बंगलादेशले पनि साकिब अल हसन र मुस्तफिजुर रहमानलाई आइपिएल खेल्न दिन अस्वीकार गरेको छ ।

अस्ट्रेलियाले यसबारे निर्णय गरेको छैन । उसका खेलाडी आइपिएलबाट घर फर्किने क्रममा २ पटक क्वारेन्टाइरमा रहे र ३१ मेमा मात्र परिवारसँग भेट्न पाएका छन् । यो दबाबका कारण अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले दोस्रो चरण खेल्न अस्वीकार गरेका छन् । अर्कोतिर वेस्ट इण्डिजका खेलाडी नआउँदा पनि आइपिएल फिक्का हुनेछ । क्यारेबियन प्रिमियर लिग २८ अगष्टदेखि १९ सेप्टेम्बरसम्म हुँदैछ । यस्तोमा वेष्ट इण्डिजका खेलाडी आइपिएल खेल्न आइपुग्न कठिन हुनेछ । यो समस्या समाधानका लागि बीसीसीआइले क्रिकेट वेस्ट इण्डिजसँग आफ्नो लिग हप्ता १० दिन पहिले सुरु गर्न आग्रह गरेको छ ।

विदेशी खेलाडी नहुँदा सबैभन्दा बढी प्रभावित राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स हुनेछन् । यी टिमहरु आइपिएलको जारी सिजनमा पहिल्यै पछि परिसकेका छन् । राजस्थान पाँचौं र कोलकाता सातौं स्थानमा छन् । इयोन मोर्गन नआएपछि कोलकाताले कप्तान नै नयाँ चयन गर्नुपर्नेछ । प्याट कमिन्सले नखेल्ने भनेका छन्, साकिब अल हसनलाई बंगलादेशले रिलिज गर्न अस्वीकार गरेको छ । यस्तोमा वेष्ट इण्डिजका आन्द्रे रसेल र सुनील नरेन पनि आएनन् भने कोलकातालाई ठूलो संकट हुनेछ ।

राजस्थान रोयल्सलाई जोफ्रा आर्चर, जोस बटलर र बेन स्टोक्सबिना अगाडि बढ्न निकै कठिन हुनेछ । यसबाहेक पंजाब किंग्स, चेन्नइ सुपरकिंग्स र सनराइजर्स हैदराबादलाई पनि प्रभाव पर्नेछ । पहिलो चरणमा यीमध्ये चेन्नइ सुपरकिंग्सको मात्रै प्रदर्शन राम्रो छ । तर, यो प्रदर्शनमा अहम भूमिका निभाएका मोइन अली र साम करेन दोस्रो चरणका हुने छैनन् । पंजाबले अहिलेका नम्बर १ टि–२० ब्याट्सम्यान डेभिड मलान, बलरहरु झाइ रिचार्डसन, रिले मेरडिथ र क्रिस जोर्डनलाई गुमाउनेछ । सनराइजर्स हैदराबादका लागि जोनी बेयरिस्टो नहुनु ठूलो धक्का हुनेछ । डेभिड वार्नर र जेसन होल्डर पनि आएनन् भने हैदराबाद संकटमा पर्नेछ ।

पहिलो चरणमा राम्रो प्रदर्शन गरेर तालिकाको शीर्षमा रहेको दिल्ली क्यापिटल्सलाई भने विदेशी खेलाडी नआउँदा खासै प्रभाव पर्ने देखिन्न । अस्ट्रेलियाका स्टिभ स्मिथ नआए उनको स्थान अजिंक्या राहाणेले लिन सक्छन् । इङल्याण्डका क्रिस वोक्स र टम करन दोस्रो चरणमा हुने छैनन् तर उनीहरु पहिलो रोजाइका खेलाडी होइनन् र उनीहरुको भरपाइ दिल्लीसँग छ । दिल्लीको मुख्य ब्याटिङ लाइन भारतीय ब्याट्सम्यानमा निर्भर छ ।

मुम्बइ इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरलाई पनि विदेशी खेलाडीको कमीले धेरै प्रभाव पार्ने छैन । ग्लेन म्याक्सवेल आएर बैंगलोरको ब्याटिङ बलियो भएको सही हो तर उनी नआएको अवस्थामा पनि मध्यक्रममा विराट कोहली र एबी डिभिलियर्सले यो कमी पूरा गर्न सक्छन् । मुम्बइ इण्डियन्सलाई पनि किरोन पोलार्डको कमी महसुस हुनेछ तर उनको भरपाइ टिमसँग छ ।

आइपिएल सकिनासाथ टि–२० विश्वकप आयोजना हुँदैछ । भारतले आयोजनाबारे ठोस निर्णय गर्न जूनसम्मको समय मागेको छ । यदि भारतमा कोरोनाको स्थिति नसुध्रिए विश्वकप पनि युएइमै हुनेछ यद्यपि आयोजक भने भारत नै हुनेछ । यो स्थितिमा युएइलाई विश्वकपको लागि मैदान र विकेट तयार गर्नको लागि कम्तीमा ३ हप्ताको समय चाहिन्छ । यो स्थितिमा आइपिएलका प्लेअफका खेल एउटै मैदानमा सीमित राखेर बाँकी २ मैदान विश्वकप तयारीको लागि दिन सकिने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *