एचआईभी पोजेटिभ भएका आमाबुबाको जोडीबाट जन्मिएका १४ बालबालिका निगेटिभ

डिसी नेपाल
३१ जेठ २०७८ १३:१८

सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिकाकी २३ वर्षीया एक महिला वैदेशिक रोजगारीबाट फर्केको केटासँग विवाह गरेकै कारण एचआईभी पोजेटिभ भइन्।

छिन्नमस्ता गाउँपालिकाका ४० वर्षीया एक महिला वैदेशिक रोजगारमा पञ्जाब कमाउन गएका श्रीमान् फर्किदासँगै आएको एचआईभी पोजिटिभको शिकार भइन्।

सप्तरीको कञ्चनरूप नगरपालिकाका ४४ वर्षीय एक पुरुष यूवा अवस्थामा गलत संगतमा लागेर एचआईभी पोजेटिभ भए। अहिले उनी घरपरिवारको घृणाको पात्र भएर बस्न बाध्य भएका छन्।

यी तीन परिवार मात्र हैन तराईमा यसरी बैदेशिक रोजगारीमा गएका युवाहरु फर्किदा आउने एचआईभी एड्स रोगबाट आफू, श्रीमती र गर्भबाट जन्मिएका छोराछोरी समेत अज्ञानताका कारणले एचआईभी एड्सको शिकार हुन बाध्य भएका छन्।

वैदेशिक रोजगारबाट फर्किनेहरूकै कारण १८ वर्षको उमेरमा बैवाहिक बन्धनमा बाँधिएकी शम्भुनाथकी महिलाले आफू एचआईभी पोजेटिभ भएको श्रीमानको मृत्युु भएपछि मात्र थाहा पाएकी थिइन्।

उनले श्रीमानले खादै आएको औंषधी भेटेपछि मात्र एचआईभी पोजेटिभ रहेको थाहा भएको बताइन्। आफू र अढाई वर्षिय छोराको रगत तत्कालै जचाइन्। आमा छोरा दुबैको रगतमा एचआईभी पोजेटिभ देखियो। भर्खर विवाह गर्ने उमेरमा श्रीमान् बितेको घाउ नसुक्दै छोराको समेत पोजेटिभ आएपछि उनी माथि पहाड बजारीए जस्तै भयो।

एकवर्ष अघि श्रीमान्को मृत्यु भएको बेला छोरा अढाई वर्षका थिए। अहिले छोरा साढे तीन वर्षको भएका छन्। रिपोर्ट पोजेटिभ भएदेखि आमा छोरा नियमित औषधि खाँदैछन्। यस बिषयमा घरका मानिसले थाहा पाउने वित्तिकै आमा छोरालाई एकछिन पनि राख्न मानेनन्। दुबै अहिले पछि अहिले माइतीको शरणमा छन्।

छिन्नमस्ता गाउँपालिकाकी ४० वर्षीया वर्ष एचआईभी पोजेटिभ सङ्क्रमित महिला भन्छिन्, ‘श्रीमान रोजगारीका लागि १० वर्षअघि भारतको पंजाब गएको बेला एचआईभी पोजेटिभ भएर घर फर्कदा आफू श्रीमानबाट थाहै नपाई संक्रमित भएछु।’

श्रीमान बिरामी परेपछि के भएछ भनी रगत जाँच गर्दा उनमा पोजेटिभ आएकको थाहा पाएर उनले पनि रगत परीक्षण गराएकी थिइन। उनमा पनि एचआईभी पोजिटिभ देखियो।

श्रीमान् श्रीमती दुवै औषधि खाँदै थिए। उनले भनिन्, ‘श्रीमानले कहिल्यै औषधि खाने कहिले नखाने हुनाले पाँच वर्ष अघि नै मृत्यु भयो। ’
सम्पत्तिको नाममा एक धुर पनि जग्गा नभएको उनको एक्लै काँधमा तीन सन्तानको जिम्मेवारी आई परेको छ। उनले कृषि मजदुरी गरेर तीन सन्तानको लालन पालन गर्दै आएकी छिन्।

जेठी छोरी १० कक्षा उत्तीर्ण भइन्। दुई जना छोराहरू कक्षा ७ र ८ मा पढ्दै छन्। उनीहरूलाई आमा एचआईभी पोजिटिभ भएको थाहा छैन। एचआईभी कसरी सर्छ? कसरी सर्दैन् स्वास्थ्यकर्मी भेटेको बेला उनी जानकारी लिइरहन्छिन्।

सप्तरीको कञ्चनरूप नगरपालिका ४४ बर्षिय पुरुषको हालत पनि उस्तै छ। उनी यूवा अवस्थामा गलत संगतमा लागेर एचआईभी पोजेटिभ सङ्क्रमित भए। उनका आमाबाबुले रोग सर्ने डरले घृणा गर्न थालेका छन्। सावधानी अपनाएमा सर्दैन भनेर सम्झाउँदा पनि नमानेको उनले बताए।

उनले भने ‘घरकै एउटा कोठामा छुट्टै पकाउँदै खादै बस्दै गर्दा पनि आमाबावु सहित परिवारको सदस्यले बस्न दिएनन्।’ त्यहाँबाट पनि उठिबास गरेर घरैबाट निकालेको दावी गरे।

उनले शुरूमा पानको पसल खोलेर जिविकोपार्जन गर्ने प्रयास नगरेका पनि होइनन्। तर छिमेकीहरू समेतले पोजेटिभ भएको जानकारी पाएपछि खोलेको पान पसलमा समेत कोही ग्राहक आउन छोडे।

उनले भने परिवारका सदस्य, छिमेकी मिलेर ग्राहकलाई पनि एचआईभी पोजेटिभ रहेको जानकारी गराएपछि पान खान आउने ग्राहक सुकेकोले बाध्य भएर पसल बन्द गर्नु परेको उनले सुनाए।

उनले भने, ‘मेरो समस्या सबैलाई थाहा भएकै कारण मेरो सबै आशाको किरण निभ्यो।’ धुरू धुरू रूदै उनले भने ‘अब के गरि बाँचु मर्नुको बिकल्प छैन।’

सप्तरीका अधिवक्ता हरेराम यादव भन्छन, ‘गोपनियता भङ्ग भएकै कारण कसैलाई क्षति भयो भने क्षतिपूर्ति बापत कानुनले मुनासिब क्षतिपूर्ति भराई दिने व्यवस्था छ।’ तथ्य सावित भएमा न्यायलयले स्वविवेकले क्षतिपूर्ति गराउँदै आएको छ। यसमा ठ्याक्कै यति क्षतिपूर्ति भनेर तोकेको छैन।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भित्र रहेको एआरटी सेन्टरका प्रमुख सिनियर स्टाफ नर्स सुनिता यादवका अनुसार जिल्लाका १ सय ३६ जना सङ्क्रमितले नियमित औषधी खाइरहेका छन्। जसमध्ये महिला ५८, पुरूष ५७ बालबालिका १२, तेस्रो लिङ्गी ९ जना रहेका छन्। यो संख्यामा श्रीमान् श्रीमती नै बढि रहेका छन्। त्यसमा पनि ५० प्रतिशत श्रीमानबाट नै श्रीमतीमा सरेको तथ्यांकले देखाएको छ।

औषधि खाइरहेका बालबालिका पनि पोजेटिभ आमाबाबुको छोराछोरी नै रहेको नर्स यादवको भनाइ रहेको छ। उनी भन्छिन्, ‘एचआईभी पोजेटिभ आमा बाबुले के गर्दा जन्मिने बच्चा निगेटिभ हुन्छ जानकारी नभएर यस्तो भएको हो।’ तीन वर्षअघि काम गर्न शुरू गरेपछि सबैभन्दा पहिले यसै प्रति सम्वेदनशील भएर बच्चा जन्माउन ईच्छा भएको पोजेटिभ आमालाई ‘पिएमटिसिटी’ सेवा दिएर बच्चा जन्माउन लगाइरहेको यादवले बताइन्।

गर्भवती महिलाले यस्तो गम्भीर अवस्थामा औषधी खान नछुटुन भनेर दिनहुँ राति औषधि खान फोन मार्फत सम्झाएर पोजेटिभ आमाबाबुबाट जन्मेको सबै १४ जना बच्चा निगेटिभ छन् ।

औषधी सेवन गर्दै आएका अविवाहित केटाकेटी चार जोडीको बिवाह समेत गराईसकेको नर्स सुनिताले बताइन् । स्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकृत दुनियाँलाल यादवका अनुसार जिल्लामा योभन्दा बढी पोजेटिभ हुन सक्ने अनुमान छ।

अर्कालाई थाहा हुन्छ भन्ने डर र लाजले स्थानीय पोजेटिवहरू धरान, विराटनगर, गाईघाट, सिरहा लगायतका ठाउँमा गएर लुकिछिपी गएर औषधि खाइरहेकोले जिल्लाको सङ्क्रमितको संख्या यकिन गर्न नसकेको बताए।

औंषधी लिन आउने सङ्क्रमीतमध्ये बिवाहिता महिलाले श्रीमान्, अन्य महिला पुरूषले अस्पतालमा उपचारका लागि भर्ना भएको बेला, लागू औषध दुव्र्यसन गरेर, सङ्क्रमित भएको बताएपनि असुरक्षित यौन सम्पर्कबाट ९० प्रतिशत सङ्क्रमित हुने गरेको नर्स यादवको भनाइ रहेको छ।

ए.आर.टी. सेन्टरले एक पटकमा एक महिना लागि सङ्क्रमितलाई औषधी दिदै आएको छ। सकिएपछि सङ्क्रमित आएर औषधी लाने गरेका छन्। एक पटक सङ्क्रमित भएमा बाचुन्जेल औंषधी खानुपर्ने भएकोले नियमित औषधि खानेलाई कुनै किसिमको जोखिम नहुने स्वास्थ्य कार्यालयका सूचना अधिकृत दुनियाँलाल यादव बताउँछन्।

अधिकृत यादवले भने कोरोनाको कहर भएको बेला अझ जोखिम हुन नदिन सङ्क्रमितको घरघरमा औषधि पुर्याउन व्यवस्था मिलाइएको छ। सङ्क्रमितहरूको एक लाख बराबरको स्वास्थ्य बीमा निःशुल्क गरिँदैछ ।

यसबाट बच्न र पोजेटिभ भइसकेपछि नियमित औषधी खानु पर्ने बिषयमा जनचेतना कार्यक्रम गर्ने माग गरेपनि आएको कोभिड १९ कोरोना भाइरसका कारण गर्न निकेको बताए।

सबै स्वास्थ्य संस्थाहरूमा एचआईभीको परीक्षण निःशुल्क भइरहेको छ। गर्भवती महिलाको अनिवार्य रूपमा सबै स्वास्थ्य संस्था एचआईभी जाँच गर्दै आएको यादव बताउँछन्।

यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सहयोगी समाज सप्तरीका संस्थापक अध्यक्ष देवान्नद चौधरीले पहिले एचआईभीको नाम सुन्ने बितिकै चेतनाको अभाबमा सर्वसाधारणहरू जिन्दगी नै बर्बाद भयो भनी डराउँथे। चौधरीले भने, ‘अहिले यसबाट डराउनु पर्ने केही छैन।

सावधानी अपनायो भने एचआईभी पोजेटिभ कोहि हुदैन।’ उनले थपे, ‘नियमित औषधी खानाले निरोगी मानिस जस्तै लामो समयसम्म बाँच्न सक्छन्।’ अन्य बिरामीभन्दा फरक रहेकोले सङ्क्रमितले जेपनि खान मिल्ने चौधरीले बताए। चौधरीका अनुसार बिवाह गरेर ‘पिएमटिसिटी’ सेवाबाट स्वस्थ्य निगेटिभ बच्चा जन्माउन सकिन्छ।

स्वास्थ्यकर्मीका अनुसार एचआईभी पोजेटिभसंग डराउने र घृणा गर्ने गर्नु हुन्न । स्वास्थ्य कार्यालय सप्तरीका सूचना अधिकृत दुनियाँलाल यादवले भने, ‘एचआईभी पोजेटिभ भएकाहरूसँग जति बढी सकारात्मक ब्यवहार गर्यो, माया दियो त्यति नै उनीहरूको मनोवल बढ्छ।’

सञ्चारिक समूह नेपाल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *