राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला

डिसी नेपाल
१ असार २०७८ १२:४०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले सोमवार एक विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको छ । विज्ञप्ति अनुसार डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ । डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्नु पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ ।

क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेण्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद एक लाख पनि हात पार्ने छ । नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गत स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । डिजाइन दिने अन्तिम मिती यसै महिनाको १७ तारिक सम्म रहेको छ । डिजाइन क्यानको इमेल info@cricketnepal.org  मा गर्न पर्ने हुन्छ भने यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए । छनौट समिति मा क्यानको तर्फ़बाट २ जना र एडप्याड को तर्फ़बाट १ जना सम्मिलित हुने छन्।

यसै बीच माई सेकेण्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद पाँच लाख प्रदान गर्ने भएको छ । उक्त शृंखलाका क्रममा डेब्यु गर्ने चार जना खेलाडीहरु, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक–एक लाख केही दिनमा एक कार्यक्रमको आयोजना हस्तान्तरण गर्ने भएको छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *