कोराेनाबाट जीवन रक्षा गर्ने ‘अर्को उपचार पत्ता लाग्यो’

डिसी नेपाल
३ असार २०७८ ६:३०

बीबीसी। सस्तो औषधि डेक्सामेथासोनले कोभिडबाट हुन सक्ने मृत्युलाई कम गर्ने कुरा पत्ता लागेको ठिक एक वर्षपछि अध्ययनकर्ताहरूले अर्को जीवन रक्षक उपचार पत्ता लगाएको दाबी गरेका छन्।

तर नयाँ उपचार महँगो छ र यो उपचारमा एन्टीबडीलाई शरीरमा प्रवेश गराएर भाइरसलाई निर्मूल पार्ने काम हुने गर्छ।परीक्षणको नतिजाबाट यसले गम्भीर लक्षणका साथ अस्पताल भर्ना भएका ३३ प्रतिशत बिरामीको जीवन रक्षा गर्ने देखिएको छ।

यो उपचारले अस्पताल पुग्ने १०० कोभिड बिरामीमध्ये छ जनाको जीवन जोगिने वैज्ञानिकहरूले बताएका छन्। तर यो उपचार पहिल्यै एन्टीबडी नबनाएका बिरामीहरूलाई मात्रै दिन सकिने बताइएको छ। यसको मूल्य एक लाख ६५ हजार रुपैयाँदेखि तीन लाख ३० हजारसम्म पर्ने बताइएको छ।

प्रभावकारी उपचार

परीक्षणका क्रममा यो उपचार पाएकी ३७ वर्षीया किम्बर्ली फेदरस्टोनले भनिन्: “म अस्पताल जाँदा यो परीक्षण भइरहनु मेरो लागि भाग्यशाली भयो र मैले यो प्रभावकारी उपचार प्राप्त गरेँ।”

“यो परीक्षणमा सहभागी भएर सफल उपचार पत्ता लगाउन भूमिका खेल्न पाएकोमा म खुसी छु।” रेजेनोरोनले विकास गरेको यो मोनोक्लोनल एन्टीबडी उपचारले कोरोनाभाइरसलाई बाँधेर यसलाई बढ्न र कोषलाई सङ्क्रमण गर्नबाट रोक्छ।

संयुक्त प्रमुख अनुसन्धानकर्ता सर मार्टिन ल्यान्ड्रेले भने: “दुई एन्टीबडीको यो स्वरूपलाई रगतमा पठाउँदा मृत्युको सम्भावना २० प्रतिशतले घटाउँछ।”

“अहिले हामीले पत्ता लगाएको कुरा चाहिँ यो एन्टीभाइरल उपचारले मृत्युको सम्भावना एक तिहाइ भएका बिरामीहरूलाई त्यस्तो जोखिम कम गर्छ।” यो उपचार डेक्सामेथासोनसँगै दिइएको थियो। डेक्सामेथासोनले पनि सिकिस्त बिरामीहरूमा एक तिहाइसम्म मृत्युको जोखिम कम गर्छ।

ठूलो अनिश्चितता

अर्का प्रमुख अनुसन्धानकर्ता सर पिटर होर्बीले भने अन्य अध्ययनहरूमा उपयोगी नपाइएको एन्टीबडी उपचार ठिक हो कि होइन भन्ने विषयमा ठूलो अनिश्चितता रहेको बताए। निको भएका बिरामीको रगतबाट एन्टीबडी भएको प्लाज्मा निकालेर गरिने उपचार कोभिडको उपचारमा प्रभावकारी नभएको पाइएको उनले बताए।

तर यो नयाँ परीक्षणमा प्रयोग गरिएको उपचारमा प्रयोगशालामा निर्मित दुई निश्चित एन्टीबडीहरू कोरोनाभाइरसलाई बाँध्न सक्षम भएको बताइएको छ।

सर होर्बीले भने: “गम्भीर खालको कोभिड रोगमा पनि भाइरसलाई लक्षित गरेर आफै एन्टीबडी बनाउन नसकेका बिरामीहरूको मृत्युदर घटाउन सकिने कुरा थाहा पाउनु राम्रो हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *