चुरे फेदीबाट ९४ थान काठ बरामद
फाइल फाेटाे
महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ। जिल्लाको सुदूर उत्तरी चुरे फेदीको महोत्तरी, सर्लाही र सिन्धुलीसहित तीन जिल्लाको सीमा पर्ने बाँके र छोड्के नदीको दोभान नजिक राईदमारबाट सहायक वन अधिकृत मणिराम यादव नेतृत्वको कार्यालयको टोलीले बुधबार सो परिमाणमा साखुका काठ बरामद गरेको हो।
यति धेरै मात्रामा काठ बरामद चालु आर्थिक वर्षको पहिलो घटना हो। बरामद काठको नाप परिमाण ५२ क्यूफिट (घनफिट) रहेको टोलीमा संलग्न सहायक वन अधिकृत मनोजकुमार ठाकुरले जानकारी दिए।
सबैतिर कोभिड–१९ सङ्क्रमण छल्न निषेधाज्ञा जारी गरिएको मौका पारेर तस्करले वनक्षेत्रभित्रै काठ चिरान गरिरहेका सूचनाका आधारमा बुधबार कार्यालयले सुरक्षा टिमसहित गरेको तलासीमा काठ बरामद भएको हो। बरामद काठ लक्ष्मीनियाँस्थित सवडिभिजन वन कार्यालयमा राखी थप अनुसन्धान बढाइएको डिभिजन प्रमुख विनोदकुमार सिंहले जानकारी दिए।
बरामद चिरान गरिएका काठ वनमै चिरेर घना झ्याङभित्र सेउलाले छोपेर राखेको अवस्थामा फेला परेको हो। निषेधाज्ञाले सबैतिर आवागमन बन्द भएका बेला वनक्षेत्रमा तस्कर गतिविधि बढेको सूचना पाएपछि कार्यालयले सघन सुरक्षा गस्ती परिचालित गरिएको जनाएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment