युक्रेनको महत्वपूर्ण जित, नर्थ म्यासेडोनिया २ – १ गोलले पराजित
काठमाडौं। युईएफए युरोकप २०२० फुटबलमा युक्रेनले जित निकाल्दै नकआउट सम्भावनालाई कायम राखेको छ। रोमानियाको नेस्नल एरिनामा बिहीबार सम्पन्न खेलमा युक्रनले नर्थ म्यासेडोनियालाई २ – १ गोल अन्तरले पराजित गर्यो।
यो जितसँगै युक्रेनले नकआउट चरणको सम्भावना कायम नै राखेको छ। पराजित नर्थ म्यासेडोनियाको नकआउट चरणको सम्भावना भने करिब समाप्त भएको छ।

युक्रेनका लागि कप्तान आन्द्रे यारमलिन्को र रोमन यारमेन्चुकले एक एक गोल गरे। नर्थ म्यासेडोनियाका एज्जान आलीओस्किीले एक गोल फर्काए।
पहिलो हाफको २९ औं मिनेटमा युक्रेनका कप्तान आन्द्रे यारमलिन्कोको गोलमा युक्रेनले सुरुवाती अग्रता बनाएको थियो। त्यसलगत्तै ३५ औं मिनेटमा रोमन यारमेन्चुकले उत्कृष्ट गोल गर्दै युक्रेनलाई २ – ० को अग्रता दिलाए।

दोस्रो हाफको ५७ औं मिनेटमा नर्थ म्यासेडोनियाले पेनाल्टी पाएको थियो। पेनाल्टी प्रहार गरेका एज्जान आलीओस्किीले गरेको प्रहार युक्रेनका किपरले बचाएका थिए। तर, रिबाउन्डामा आएको बललाई सदुपयोग गर्दै उनले नै नर्थ म्यासेडोनियालाई खेलमा फर्काउने प्रयास गरेका थिए।
दुबै टिमले गोल गर्ने अन्य सुनौलो अवसरमा गोल गर्न सकेनन।
खेलको ३९ औं मिनेटमा नर्थ म्यासोडेनियाका गोरन पान्डेभले गोल गरेका थिए। तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन।
खेलको अन्तिम समय ८५ औं मिनेटमा युक्रेनले विपक्षी खेलाडीले पेनाल्टी बक्स भित्र ह्याण्ड बल गरेपछि पेनाल्टी पाएको थियो। तर, रुस्लान मालिनोस्कि पेनाल्टीमा चुके।

यो जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले महत्वपूर्ण तीन अंक बटुलेको छ। युक्रेनले दुई खेलबाट तीन अंक जोडेको छ। यसअघि युक्रेन नेदरल्याण्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो।
पराजित नर्थ म्यासेडोनियाले भने दुई खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन। यसअघि अष्ट्रियासँग ३–१ ले पराजित भएको नर्थ म्यासेडोनिया समूहको पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment