आँगनीमा फुलेको रातो गुलाबको फूल (कविता)

डिसी नेपाल
५ असार २०७८ ७:०७

एउटा सानो गाउँको झुप्रोमा
कोपिला लागेको छ त्यो रातो गुलाबको फूल
कलिला केही पहेँला,केही हरिया मुन्टासँगै
पटक पटक भाँचिने,
नाै महिना अघि बाबाले रोपेछन् घरको आँगनीमा
अनि आमाले मलजल गरेपछि
नाै महिनापछि आज त्यो फूल
झुप्रोको आँगनिमा कोपिला लागेको छ
रातो रगतसँगै मुसिएर
सालनालमा बेरिएको छ
रातो गुलाबको फूल
गुलाबको फूलको जन्मपछि
कत्तिले नाक खुम्चाए रे
कत्तिले भने गुलाबको फूलको हुर्कँदो बैँस सम्झेर
घुटुक्कै थुक निले रे
अनि बा ले चाहिँ “फर्सी”को भोज दिए रे।

छ निष्फिक्री यो समयसँग
लागिरहेछ कोपिला रातो गुलाबको फूलको
चाँडै फर्कने प्रतिक्षामा
अन्जान भई नि आँखाहरूप्रति
ती हातहरूप्रति
ती नजरहरूप्रति
अन्जान छ त्यो रातो गुलाबको फुल
जो कोपिला फक्रने प्रतिक्षामा छन्
जो गुलाकको फुलको रातो जवानी हेरी
आँखालाई सन्तुष्टि दिन चाहन्छन्
जो रातो गुलाबको सुकोमल कोमल
पत्रपत्र नियाल्न चाहन्छन्
जो रातो गुलाबलाई छुन चाहन्छन्
जो रातो गुलाबको पत्रपत्र
बिछ्या‌ैनामा बिछ्याई
रात रंगीन बनाउन चाहन्छन्
भोलिपल्ट जब गुलाबको पत्रमा रङ हुनेछैन
पत्र ओईलाउनेछ
बास्नाबिहिन हुनेछ
अनि फालिदिनेछन् फोहोरको डङ्गुरमा।।

अनि अन्जान छ उनीहरूप्रति
जो त्यो गुलाबलाई चुँडी
एकछिन कपालमा सजाउन चाहन्छन्
एकछिन बास्ना सुँघी मदहोस हुन चाहन्छन्
रातो गुलाबको सुन्दरतामा कविता लेख्न चाहन्छन्
गित गाउन चाहन्छन्
अनि उनिहरूप्रति
जो त्यो गुलाबलाई चुँडी घरमा भित्र्याउन चाहन्छन्
अनि “मालिक्नी” बनाउन चाहन्छन् “किचन”को
अनि ओईलिएपछि मझेरीमा फालिदिन्छन्
जब ओईलाउँछ रातो गुलाब
पत्रपत्र झर्न थाल्छन्
रङ फिका पर्न थाल्छन्
कुल्चेर हिँड्नेछन् सबैले ती झरेका पत्रहरू
अनि ती आँखा,ती नजर,ती हातहरू
अर्को गुलाबको खोजीमा लाग्नेछन्
अनि लाग्नेछन् अर्को गुलाबको रातो रङले
आँखा,नजर अनि रातमा
बिछ्याैना रङ्गाउन।

जब सकिँदै जानेछ गुलाबको रातो जवानी
अनि गीत सकिनेछन् उसका लागि
कविताका लागि शब्द सकिनेछन्
ऊ हेर त आँगनीमा फुलेको रातो गुलाबको फूल
जसले दिनहुँ हरेक बटुवाको आँखालाई सकुन दिईरहेछ
नओईलाओस्,नसुकोस्,नबदलियोस् रङ भनी
दिनहँ पानी दिईरहेछाै
बुझ्या‌ै त कति निर्दोष छ
कति अन्जान छ
त्यो आँगनीमा फुलेको रातो गुलाबको फूल।

कति अन्जान छ यो
फुल्दै गएपछि उसले आफ्ना हरेक सपनाको
बलिदान दिँदै जानुपर्नेछ
सिन्दुर,मंगलसूत्र,समाज,परिवार
जिम्मेवारी र ईज्जतको नाममा
जानकार छैन यो
आफ्नो जन्मको अभिशाप प्रति
याैवनको दोषप्रति
अनि दुष्ट नजरप्रति
हेर त आँगनीमा फुलेको गुलाबको फूल
कति निष्फिक्री फुलिरहेछ
हावाको तेज बहाबले हल्लिरहेछन् पत्रपत्र
अनि लर्किरहेछन् कलिला हाँगाहरू
कठै!आँगनीमा फुलेको त्यो रातो गुलाबको फूल!!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *