निषेधाज्ञालाई खुकुलो गर्दा पुराना गल्ती नदोहोरिउन्

तर्कबहादुर थापा
५ असार २०७८ १४:४४

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना संक्रमितहरु थपिने संख्या घट्न थालेको छ। काठमाडौं उपत्यका लगायत केही जिल्लाका कोभिड संकट व्यवस्थापन समितिले जारी गरेको निषेधाज्ञाको पछिल्लो समयवधि सकिन २ दिन बाँकी  छ।

कोरोनाको पहिलो लहरका बेला पनि दशैं तिहारमा निषेधाज्ञा खोलिएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारी त्यही तरिकाले निषेधाज्ञा खोलेको अवस्थामा नथाम्ने गरी अर्को लहरको सुरुवात हुने जोखिम भएको बताउँछन्।

दोश्रो लहरले महामारीको रुप लिएपछि बैशाख १६ गतेबाट गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुनेगरी कार्यान्वयनमा आइरहेको छ। निषेधाज्ञा खोल्दा एकैपटक नखोल्न सुझाउँछन् राजभण्डारी।

डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘अर्थतन्त्र र रोजीरोटी पनि हेर्नु पर्छ। लकडाउन/निषेधाज्ञा मात्र पनि कोरोना महामारीबाट बच्ने अन्तिम उपाय होइनन्। तर, अब निषेधाज्ञा खोल्दा पहिलो लहरको गल्ती दोहोर्याउनु हुँदैन।’

उनले भने, ‘निषेधाज्ञा खोल्नुको विकल्प त हुँदैन। खोल्नै पर्छ। तर, विस्तारै स्टेप बाइ स्टेपमा गएर निषेधाज्ञा खोलिनु पर्छ। उदाहरणका लागि पहिला रातो प्लेटको गाडीहरु संचालन हुन दिने। ठूला उद्योगहरुमा कर्मचारीको संख्या ५० प्रतिशत कायम गराएर संचालन गर्ने। विद्यालय पनि सिफ्ट अनुसार चलाउने लगायतका काम गरेको अवस्थामा मात्र हामीले कोरोनासंगको लडाइलाई निरन्तरता दिन सक्छौं।’

डा. राजभण्डारीका अनुसार भिडभाड हुने बजारहरुमा पनि स्वास्थ्यका मापदण्ड प्रयोग गरे नगरेको कडाइका साथ निरीक्षण गर्नुपर्छ। केही समय पसल खुल्न दिएर भिड बढाउनु भन्दा स्वास्थ्यका मापदण्डलाई कडाइका साथ लागु गरेर पसलहरु दिनभर चल्न दिनु पर्छ।

पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेको संख्यामा कमी आएको उनको भनाइ छ। उनले भने, ‘संख्या जति भए पनि फरक पर्दैन झण्डै ५२ प्रतिशत पुगेको पोजेटिभिटी घटेको छ। आजभोलिको हेर्दा १५ प्रतिशतमा झरेको छ। चेकजाँच नभएका कारण पनि घटेको होला। निषेधाज्ञा भएका कारण मानिसहरु घरभित्र नै भएर पनि घटेको होला। कारण जे भए पनि पछिल्लो समय कोरोना संक्रमित थपिने संख्यामा कमी आएको छ।’

उपत्यकाको अवस्था

काठमाडौं उपत्यका भित्र पछिल्लो समय सक्रिय संक्रमितको संख्यामा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं भक्तपुर र ललितपुरमा गरी जम्मा ११ हजार ९ सय ६८ जना सक्रिय संक्रमित रहेका छन्। एकहप्ता पहिलामात्र उपत्यकामा सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय बढी थियो।

पछिल्लो तथ्याङ्क अनुसार काठमाडौंमा ६ हजार ७ सय ३५, ललितपुरमा २ हजार ९ सय ८३ र भक्तपुरमा २ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा हालसम्म २ लाख ८ सय ९० जना संक्रमित भएका छन्। भक्तपुरमा २१ हजार ७ सय २३ र ललितपुरमा ३६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. राजभण्डारी पछिल्लो समयमा कोरोना शहरभन्दा पनि गाउँमा केन्द्रित भएको बताउँछन्। उनले गाउँमा श्रोत साधनको कमी भएका कारण परीक्षण नहुने भन्दै सामान्य अवस्थामा मान्छेहरुले अस्पतालबाट लिएको औषधि खाएको तर, कोरोनाको परीक्षण नगराएको बताए।

जुनसुकै देश वा कम्पनीले उत्पादन गरेको भए पनि कोरोनाको भ्याक्सिनको विकल्प नभएको पनि डा. राजभण्डारीको भनाइ छ। डा. राजभण्डारीले भने, ‘हामीले शतप्रतिशतलाई खोप दिन सकेको अवस्थामा मात्र निर्धक्क भएर आफ्नो दैनिकी चलाउन सक्छौं। खोप सबैले नलगाउँदासम्म परिवर्तित भएर आउने कोरोना भाइरसको प्रकृतिसँग लड्न सधै उस्तै संघर्ष गर्नु पर्ने हुन सक्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *