‘कोरोनाको तेस्राे लहर, दोस्राे जस्तो भयानक नहोस्’

तर्कबहादुर थापा
६ असार २०७८ ८:५३

काठमाडौं। दोश्रो लहरका कारण भएको निषेधाज्ञाको समयसीमा भोलि सकिँदै छ। बैशाखको अन्तिमदेखि जेठको पहिलोसातामा उच्च बिन्दुमा पुगेको कोरोनाको दोश्रो लहरका कारण जनजीवन प्रभावित बन्यो। देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाइयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दा ७ वटा जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या ५० भन्दा मुनी रहेको छ। बझाङ, बाजुरा, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ र रुकुम पूर्वमा सक्रिय संक्रमितको संख्या ५० भन्दा तल रहेको छ।

सबै भन्दा कम रुकुम पूर्वमा ५ जनामात्र सक्रिय संक्रमित रहेका छन्। यस्तै मुस्ताङमा ३१, डोल्पामा ११, मुगुमा ११, हुम्लामा १२, बाजुरामा ७ जना र बझाङमा १६ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयले ५१ देखि २ सय सक्रिय संक्रमित भएका जिल्लाहरु पनि छुट्याएको छ। मन्त्रालयका अनुसार ११ वटा जिल्लाहरुमा २ सय भन्दा मुनि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ती १० जिल्लाहरुमा दार्चुला, कालिकोट, जाजरकोट, प्यूठान, मनाङ, ताप्लेजुङ, इलाम, तह्रथुम, धनकुटा, भोजपुर र सोलुखोम्बु रहेका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला दिनमा देशका विभिन्न जिल्लाहरुमा कोरोनाको संक्रमणदर घटेको देखिएको छ। शहर केन्द्रीत रहेको कोरोनाको संक्रमण गाउँमा छिरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ।

डिसी नेपालसँगको कुराकानीमा डा. राजभण्डारीले भने, ‘हामीले शहरलाई मात्र ध्यान दिए जस्तो देखिन्छ। कोरोना विस्तारै समूदायस्तरमा फैलिएर गाउँगाउँसम्म पनि पुगेको छ। परीक्षण नभएका कारण देखिएको छैन।’

पहिलो लहरका बेला प्रत्येक स्थानीय तहले कोरोना परीक्षणको लागि मेसिनहरु खरिद गरेका थिए। अहिले अधिकांश मेसिनहरु संचालन भएका छैनन्। मेसिन संचालन भएको ठाउँमा पनि कोरोना परीक्षणको लागि आवश्यक पर्ने किटहरु नभएको डा. राजभण्डारीको भनाइ छ। गाउँमा कोरोना नदेखिनुको कारण परीक्षणको कमी भएको उनले बताए।

उनले भने, ‘पहिलो कुरा त कोरोना लागिपछि के के न भयो भन्ने डर छ। त्यसैले अधिकांश गाउँको मानिसहरुले कोरोनाको परीक्षण गराउँदैनन्। अर्को कुरा पहिलेदेखि नै रुगाखोकी लाग्दा सामान्य रुपमा लिने व्यवहारका कारण पनि चेकजाँच हुँदैन। गर्छु भन्दा पनि कहाँ गर्ने, कसले गरिदिने, स्थानीय सरकारले पहिलो लहरमा किनेका मेसिनहरु प्रयोग विहिन भएका छन्। किटहरु छैनन्। त्यसैले पनि गाउँमा कोरोना कम देखिएको हो। तर, भुसको आगोसरी समूदायमा कोरोना फैलिएको प्रष्ट छ।’

पहिलो लहरको दशै तिहारताका लकडाउनलाई खुकुलो बनाइएको थियो। डा. राजभण्डारी त्यो कुरालाई स्मरण गर्दै भन्छन्, ‘दशै तिहारताका खोलेजस्तै गरी अहिलेको निषेधाज्ञा खोलेको अवस्थामा तेस्राे लहर अनिवार्य छ। कसैले रोक्न सक्दैन। त्यसका लागि पूर्व तयारी आवश्यक छ।’ अहिलेको निषेधाज्ञा खोल्नका लागि डा. राजभण्डारी सरकारलाई यसरी सुझाउँछन्।

‘सरकारले स्वास्थ्यका मापदण्डहरुलाई कडाइका साथ लागू गराउनु पर्छ। एकै पटक खोल्नु हुँदैन विस्तारै, विस्तारै खोल्नु पर्छ। बजार र भिडहुने ठाउँमा, मलहरुमा, ठूला उद्योगहरुमा मान्छेको भिड नियन्त्रणका लागि मापदण्ड बनाउँनु पर्छ। अहिले चलन चल्तिमा रहेको स्मार्ट लकडाउनमा जानु पर्छ’

तेस्राे लहर आउने कुरामा ढुक्क छन् डा. राजभण्डारी। तर, दोस्राे लहरको जस्तो भयानक रुप लिएर नआओस भन्ने तयारीमा जुट्न सरकार र स्वाथ्यकर्मीलाई अनुरोध पनि गर्छन्।

उनले भने, ‘पहिलो कुरा त कोरोना नियन्त्रण मात्र गर्न सकिने हो। यसको अर्को विकल्प छैन। तेस्राे लहर पनि अनिवार्य छ भनेर हामीले पूर्व तयारीमा जुट्दा अनर्थ नहोला। तर, कुरा के मात्र हो भने दोश्रो लहरको जस्तो भयानक रुप देख्न नपरोस भन्ने मात्र हो। तेस्राे लहर त आउँछ आउँछ।’

शतप्रतिशत नागरिकलाई खोप लगाउन सकेमात्र पूर्ण रुपमा खुल्ला हुने उनको भनाइ छ। विश्वका जुनसुकै कम्पनी र देशबाट भए पनि खोप खरिद गरेर जनतालाई खोप लगाएको अवस्थामा मात्र कोरोनाबाट ढुक्क भएर बस्न सकिने अवस्था रहेको उनले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *