विश्व टेस्ट च्याम्पियससिप ड्र हुने संकेत, दुवै टिम विजेता हुने तर भारतलाई घाटा लाग्ने

डिसी नेपाल
८ असार २०७८ ११:१०

काठमाडौं। भारत र न्यूजिल्याण्डबीचको बहुप्रतिक्षित वर्ल्ड टेस्ट च्याम्यिपनसिपको फाइनल ड्र हुने संकेत देखिएको छ । २ वर्षदेखि जारी यो प्रतियोगिताको फाइनलका लागि निर्धारित समय वर्षाले प्रभावित हुँदा खेल एउटा टिमले नजित्ने देखिएको छ । टेस्टको निर्धारित ५ दिनमध्ये चौथो दिन पूरा भइसकेको छ । तर पहिलो र चौथो दिन पूरै वर्षाले प्रभावित हुँदा तथा बीचमा पनि वर्षाका कारण पूरै दिन खेल हुन नसक्दा अहिलेसम्म भारतले मात्रै आफ्नो पहिलो इनिङ पूरा गर्न पाएको छ ।

नियमअनुसार टेस्ट खेलमा दुवै टिमले २–२ इनिङ ब्याटिङ गर्नुपर्ने हुन्छ । अहिलेसम्म भारतले मात्रै पहिलो इनिङ ब्याटिङ गरेको छ । न्यूजिल्याण्डले पहिलो इनिङ सुरु गरेको छ र उनको इनिङ पूरा हुन अझै ८ विकेट बाँकी छ । त्यसपछि भारतले दोस्रो इनिङ ब्याटिङ गर्नुपर्छ र भारतले दिएको लक्ष्य न्यूजिल्याण्डले पच्छ्याउनुपर्छ ।

अब नियमअनुसार १ दिन मात्रै खेल हुन बाँकी छ । हुन त फाइनलको लागि रिजर्भ डे छुट्याइएको छ र त्यो दिन समेत खेल्दा अझै २ दिन बाँकी छ तर यति समयमा निर्णय हुन कठिन छ र खेल ड्र हुने सम्भावना उच्च छ । यदि खेल ड्र भयो भने दुवै देशलाई संयुक्त रुपमा विजेता घोषित गरिनेछ । तर, यस्तो भएमा विजेता बनेर पनि भारतलाई घाटा लाग्नेछ ।

अहिले आइसीसी टेस्ट बरियतामा न्यूजिल्याण्ड शीर्ष स्थानमा छ । यदि यो खेल ड्र भयो भने न्यूजिल्याण्ड शीर्षमै कायम रहनेछ । अहिले न्यूजिल्याण्ड १२३ रेटिङका साथ शीर्षमा छ र भारत १२२ रेटिङका साथ दोस्रो स्थानमा छ । यदि यो खेल भारतले जित्न सके १२४ रेटिङका साथ शीर्षमा पुग्न सक्थ्यो र न्यूजिल्याण्ड १२१ रेटिङका साथ दोस्रो हुन्थ्यो ।

न्यूजिल्याण्डले जिते ऊ १२५ रेटिङका साथ शीर्षमै रहन्थ्यो र भारत १२० रेटिङका साथ दोस्रो हुन्थ्यो । तर, खेल ड्र हुने सम्भावना उच्च छ र ड्र भएमा न्यूजिल्याण्ड टेस्ट बरियताको शीर्षमा कायमै रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *