भारतलाई हराउँदै न्यूजील्याण्डले जित्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

डिसी नेपाल
९ असार २०७८ २३:४६

काठमाडौं। न्यूजील्याण्डले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। टेस्ट क्रिकेटको १४४ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पहिलो पटक टेस्ट च्याम्पियनसिप आयोजना गरेको थियो। पहिलो संस्करणको च्याम्पियनसिपको उपाधि न्यूजील्याण्डले जितेको हो।

इंग्ल्याण्डको साउथम्पटनमा बुधबार भएको खेलको अन्तिम छैटौं दिन न्यूजील्याण्डले भारतलाई ८ विकेटले पराजित गर्दै इतिहास रच्यो। न्यूजील्याण्डले आईसीसीको कुनै उपाधि जितेको यो २१ वर्षपछि हो।

बुधबार न्यूजील्याण्डले जितका लागि १३९ रनको सामान्य लक्ष्य पाएको थियो। उसले २ विकेट गुमाएर लक्ष्य भेटायो। न्यूजील्याण्डका लागि कप्तान केन विलियम्सनले नटआउट ५२ रन बनाए भने रोस टेलरले नटआउट ४७ रन बनाए।

भारतका लागि दुबै विकेट अफ स्पीनर आर आश्विनले लिए। यसअघि भारतको टिम बुधबार दोस्रो इनिंगमा १७० रनमा अलआउट भएको थियो। न्यूजील्याण्डका टिम साउदीले ४ र ट्रेन्ट बोल्टले ३ विकेट लिएपछि भारत बलियो चुनौती दिन असफल भयो।

टस जितेर पहिला बलिंग गरेको न्यूजील्याण्डले भारतलाई २१७ को सामान्य स्कोरमा रोकेको थियो। न्यूजील्याण्डका काइल जेमिसनले ५ विकेट लिएका थिए।

त्यसपछि ब्याटिंग गरेको न्यूजील्याण्डले २४९ रन बनाउँदै पहिलो इनिंगमै अग्रता लिएको थियो। भारतका लागि मोहम्मद शामीले ४ विकेट लिएका थिए।

आईसीसीको आयोजनामा विगत दुई वर्षअघि च्याम्पियनसिप शुरु भएको थियो। फाइनलमा न्यूजील्याण्ड र भारत पुगेका थिए। फाइनलमा भारत पराजित भयो। उपाधि जितेको न्यूजील्याण्डले १२ लाख डलर पुरस्कार जितेको छ भने भारतले ८ लाख डलर जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *