एमालेकाे महाधिवेशन आयोजक कमिटी भंग, एमाले केन्द्रीय कमिटी क्रियाशील
काठमाडौं। नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्यण गरेको छ।
बुधबार बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणा गरेको हो।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ।
यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन्। उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन्। यसैगरी बैठकले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना गरेको छ।
स्वास्थ्य उपचारमा सरकारले सहयोग गरेकोप्रति एमालेले धन्यवाद व्यक्त गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए। त्यस्तै, कोभिडका विषयमा सरकारले प्रभावकारी काम गरेको निष्कर्ष बैठकले निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबारे बैठकलाई जानकारी गराउएका थिए।
सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउने विषयमा पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी प्रवक्ता ज्ञवालीकाअनुसार बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडितको पुनर्स्थापनाको काम गर्न पनि बैठकले सरकारसँग आग्रह गरेको छ। अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment