फेरि बढ्न थाल्यो कोरोना! के गर्छ उपत्यकाको प्रसाशनले ?

तर्कबहादुर थापा
२० असार २०७८ ८:३८

काठमाडौं। पछिल्ला दिनमा कोरोनाको संक्रमणदर दैनिक बढ्न थालेपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरु अलमलमा परेका छन्। जिल्ला प्रशासन कार्यालयहरुले गरेको बैज्ञानिक निषेधाज्ञाकाको समयसिमा सकिन केही दिनमात्र बाँकी रहँदा पुनः कोरोनाको संक्रमण बढ्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्ताको तथ्याङ्क अनुसार दिन प्रतिदिन कोरोना संक्रमण हुनेको दर बढ्दो क्रममा रहेको छ। गत आइतबार देशभरबाट १ हजार ९ सय २८ संक्रमित थपिएका थिए भने हिजो शनिबारसम्म त्यो संख्या बढेर २ हजार ३ सय २८ पुगेको छ।

गत आइतबार गरेको ९ हजार ८ सय ३६ जनाको परीक्षणबाट १ हजार ९ सय बढी संक्रमित थपिएका थिए भने हिजो शनिबार गरिएको १० हजार १ सय ३३ परीक्षणबाट २ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको हो।

पछिल्ला दिनमा निषेधाज्ञा खुकुलो बनाएका कारण पनि कोरोना संक्रमणको दरमा वृद्धि भएको हुनसक्ने विज्ञहरुको भनाइ छ। टेकु अस्पतालका डा सागर राज भण्डारी पछिल्ला दिनमा कोरोनाको संक्रमणदर बढेको स्वीकार गर्छन्।

‘घरभित्र भएका व्यक्तिहरु बाहिर आउन थाले, निषेधाज्ञा अलि खुकुलो भयो, कामको समय पनि भएकाले अहिले संक्रमणको दरमा वृद्धि भएको हुन सक्छ,’ डा. राजभण्डारीले भने।

सरकारका विरुद्ध विद्यार्थी संगठनले थालेको आन्दोलनका कारण काठमाडौं उपत्यकाका विभिन्न चोकमा भेला भएको देख्न सकिन्छ। कोरोनाको महामारी कायम रहेका बेला गरिने यस्ता कार्यहरुले पनि कोरोनाको संक्रमणमा वृद्धि हुने विज्ञहरुको भनाइ छ। उनीहरुले विरोध गर्ने अनेकौं उपाए हुँदाहुँदै पनि भीड गर्नुले कोरोनाको संक्रमणलाई बढवा दिएको बताए।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले दोस्राे लहरको पहिलाको कारण पनि सडकमा भएका जुलुसहरु भएको स्मरण गर्दै अर्को विरोधको अर्को विकल्प रोज्न आग्रह गरेका छन्।

उनले भने, ‘कोरोनाको भाइरसले आफूलाई परिस्कृत गर्दै आएको छ। विभिन्न नयाँ नयाँ प्याटनमा आइरहेको भाइरसलाई ख्याल नगरेर भीडभाड गर्ने, सामाजिक दुरी कायम नगर्ने र स्वास्थ्यका मापदण्ड नअपनाएको अवस्थामा पुनः तेस्रो लहरलाई निम्ता दिएका हौ कि भन्ने पनि हुन्छ।’

असार १४ गते बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विभिन्न क्षेत्रलाई खुल्ला गर्ने गरी निषेधाज्ञाको समय १ हप्ता थपेको थियो। त्यो एक हप्ता थपेको समयसीमा सकिन लागेको छ।

सोमबारसम्म लागु हुने गरी थपिएको निषेधाज्ञाको समयसीमा सकिनै लाग्दा बढेको कोरोनाको पछिल्लो अवस्था र बाँकी गृहकार्यका लागि आज ३ बजे प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

उनले भने, ‘कोरोनाको संक्रमणदर बढ्दो छ। सार्वजनिक यातायताका साधनहरु पनि पूरै खोल्नु पर्ने आवाज उठिरहेको छ। हामी आज ३ बजे बैठक बस्दै छौं। त्यो बैठकले के गर्ने भन्ने निर्णय गर्छ।’ कोरोना बढ्नु र सबैक्षेत्रलाई खुल्ला गरिनुपर्छ भन्ने दबाब प्रशासनलाई रहेको छ।

उपत्यकाको पछिल्लो अवस्था

उपत्यकामा पछिल्लो अवस्थामा कोरोनाको संक्रमण दर बढ्दो क्रममा छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनयता बढेको कोरोनाको संक्रमणबाट काठमाडौं जिल्लामा ५ हजार ५१ सक्रिय संक्रमितको संख्या रहेको छ। यस्तै, भक्तपुरमा १ हजार २ सय १० र ललितपुरमा १ हजार ६ सय ९४ सक्रिय संक्रमित रहेका छन्।

उपत्यकाको छिमेकि जिल्लाहरु मकवानपुरमा ५ सय ८, धादिङमा ४ सय ६२, नुवाकोटमा ४ सय ६७, सिन्धुपाल्चोकमा ३ सय ३३ र काभ्रेमा ४ सय २९ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका थिए भने १९ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ९८ पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *