मेस्सी र नेयमारको मित्रता दाउमा किनकि दुवैले कहिल्यै पनि कोपा अमेरिका जितेका छैनन्

डिसी नेपाल
२६ असार २०७८ १५:२७

काठमाडौं। विश्व फुटबलका २ प्रभावशाली देशहरु ब्राजिल र अर्जेन्टिना भोलि बिहान कोपा अमेरिकाको फाइनलमा उपाधिका लागि भिड्दैछन् । यो फाइनल खेल २ प्रभावशाली देशहरु मात्र नभइ दुई सुपरस्टार खेलाडीका कारण पनि चर्चामा छ । अहिलेको समयमा विश्व फुटबलमा सबैभन्दा प्रभावशाली स्ट्राइकरहरु लियोनेल मेस्सी र नेयमार भोलि बिहान एक अर्काविरुद्ध मैदानमा उत्रिँदैछन् ।

मेस्सी र नेयमार असल मित्र हुन् । उनीहरुले क्लव फुटबलमा ४ वर्ष एउटै क्लवका एक अर्काको साथमा खेलेर बिताएका छन् । बार्सिलोमामा मेस्सी नेयमार र लुइस सुआरेज फुटबल इतिहासकै सबैभन्दा खतरनाक ३ फरवार्डमध्येमा एक बनेका थिए । यी तीनैजना एउटै टिममा भएका बेला बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो । मेस्सी, नेयमार र सुआरेज अहिले ३ फरक फरक क्लवमा छन् तर उनीहरु असल मित्र हुन् ।

भोलि बिहान रियो द जेनेरियोको माराकाना स्टेडियममा हुने खेलअगाडि नेयमारले मेस्सीसँगको आफ्नो मित्रता दाउमा भएको बताएका छन् । उनले यो कुरा मजाकको शैलीमा भनेका थिए । तर, कोपा अमेरिका प्रतियोगितामा यी दुई खेलाडीको इतिहास हेर्ने हो भने उनीहरुको लागि साँच्चिकै यो फाइनल ठूलो बाजी हो । किनकि क्लव फुटबलमा लोभलाग्दो प्रदर्शन गरेर पनि यी दुवैले आजसम्म कोपा अमेरिकाको उपाधि जित्न सकेका छैनन् ।

यसअघि कोपा अमेरिका २०१९ मा भएको थियो । यो प्रतियोगिताको उपाधि फइनलमा पेरुलाई ३–१ ले हराउँदै ब्राजिलले जितेको थियो । तर, यो उपाधि नेयमारले जितेका थिएनन् । नेयमार त २०१९ को कोपा अमेरिका प्रतियोगिता खेल्दै खेलेनन् । २०१९ को मे १७ मा नेयमारसहित २३ सदस्यीय ब्राजिलियन टिम घोषणा भएको थियो तर पछि ६ जुनमा नेयमार चोटका कारण प्रतियोगिताबाट बाहिरिए र उनको स्थानमा विलियमलाई टिममा ल्याइएको थियो ।

त्यसअघि २०१५ र २०१६ मा २ पटक लगातार कोपा अमेरिकाको उपाधि फाइनलमा अर्जेन्टिनालाई हराउँदै चिलीले जितेको थियो । चिलीले २०१६ मा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । यो फइनलमा मेस्सीले नै पेनाल्टी मिस गरेका थिए । २०१५ मा पनि चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४–१ ले हराउँदै उपाधि जितेको थियो । त्यसको एक वर्षअघि २०१४ को विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा जर्मनीसँग हारेको थियो । ३ वर्षसम्म लगातार फाइनलमा हारेका मेस्सीले २०१६ को कोपा अमेरिकापछि सन्यास घोषणा पनि गरेका थिए तर पछि उनले सन्यास फिर्ता लिए ।

त्यसअघि २०११ को फाइनलमा पाराग्वेलाई ३–० ले हराउँदै उरुग्वेले उपाधि जितेको थियो । २००७ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई ३–० ले हराउँदै ब्राजिलले उपाधि जितेको थियो । यो प्रतियोगिता मेस्सीले खेलेका थिए तर उनले फाइनल हारे । ब्राजिलले फाइनल जितेको भए पनि त्यतिबेला नेयमार मात्रै १५ वर्षका थिए र उनले ब्राजिलको लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू पनि गरेका थिएनन् । नेयमारले २००९ मा अन्तर्राष्ट्रिय सिनियर खेलमा डेब्यू गरेका हुन् । त्यसअघि २००४ को कोपा अमेरिकामा मेस्सीले समेत डेब्यू गरेका थिएनन् । मेस्सी अर्जेन्टिनाको सिनियर राष्ट्रिय टिमको लागि २००५ देखि खेल्न थालेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *