२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिका, मेस्सीको उपाधि खडेरी तोडियो
काठमाडौं। ४७ औं संस्करणको कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा साविक विजेता ब्राजिललाई १ – ० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो।
अर्जेन्टिनाको जितमा एन्जिल डि मारियाले निर्णायक गोल गरे।
पहिलो हाफको २२ औं मिनेटमा गोल गर्दै डि मारियाले अर्जेन्टिनालाई महत्वपूर्ण सुरुवाती अग्रता दिलाएका थिए। रोड्रिगो डि पउलले उपलब्ध गराएको लङ पासमा गोल गर्दै डि मारियाले महत्वपूर्ण अग्रता दिलाएका थिए। उक्त गोल नै अर्जेन्टिनालाई जित दिलाउन निर्णायक बन्यो।
दोस्रो हाफको ५३ औं मिनेटमा रिचार्लिसनले गोल गरेका थिए। तर, उक्त गोलले मान्यता पाएन।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए। पाएका मौकालाई सदुपयोग गर्न नसक्दा ब्राजिलले घरेलु मैदानमा हार बेहोर्दै उपाधि जित्न असफल भएको हो।
अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिको खडेरीलाई तोड्दै १५ औं पटक कोपा अमेरिकाको उपाधि उचालेको हो। सन् १९९३ मा कोपा अमेरिकको उपाधि जिते पश्चातको २८ वर्षसम्म अर्जेन्टिनाले कुनै पनि ठुलो उपाधि उचाल्न सकेको थिएन।
यस्तै महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो देशलाई पहिलो अन्तराष्ट्रिय उपाधि दिलाएका छन। ३४ वर्षिया मेस्सीले यसभन्दा अघि आफ्नो देशका लागि नभएर क्लब फुटबलको लागि मात्रै खेल्ने गरेको आलोचना सहनु परेको थियो।
मेस्सीले क्लब फुटबलमा लगभग सबै उपलब्धि र उपाधि हासिल गरेका छन। मेस्सीले कप्तानी गरेको अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेसँगै उनले उक्त आलोचनाको गर्विलो जवाफ समेत दिएका छन।

No ads found for this position

डिसी नेपाल
Facebook Comment